‘ठूला’ नेताहरूको अनपेक्षित पराजय

‘ठूला’ नेताहरूको अनपेक्षित पराजय


यो निर्वाचनले स्थापित केही पुराना नेताहरूलाई पाखा लगाइदिएको छ भने मतगणनाको अन्तिम परिणाम आइसक्दा थप केही नेतालाई पाखा पारिदिने देखाएको छ ।

मधेशको मसिहा मानिएका उपेन्द्र यादवलाई देश विभाजनको एजेण्डासहित अघि सारिएका सीके रावतले पराजित गरिदिएका छन् । त्यस्तै, नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल काठमाडौं (५) बाट पराजित भएका छन् ।

माओवादी नेतृ पम्फा भूसाल ललितपुर (३) बाट पन्छाइएकी छन् । एमालेमा केपी शर्मा ओलीको सर्वाधिक निकट नेता भनेर चिनिएका महासचिव शङ्कर पोखरेल दाङमा पराजित भएका छन् भने एमालेबाट चोइटिएर बनेको नेकपा (एस) का शीर्षतहका नेता एवम् प्रवक्ता जगन्नाथ खतिवडाले पराजय ब्यहोर्नु परेको छ ।

यसैगरी, नेकपा एसका शीर्षनेता झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायत नेताहरू, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेपाली काङ्ग्रेसका विजयकुमार गच्छदारलगायत नेताहरू पराजयको सङ्घारमै पुगेका छन् । अन्तिम चुनावी परिणाम आउँदासम्म ‘पराजित ठूला नेता’को सूचीमा अझै केही नाम थपिने देखिएको छ ।