स्वात्तै घट्यो महिला प्रतिनिधित्व

स्वात्तै घट्यो महिला प्रतिनिधित्व


नेपालको संसद्मा प्रत्यक्षबाट निर्वाचित हुने महिलाहरुको सङ्ख्या घट्दै गएको सन्दर्भमा यसपटक न्यून हुने देखिएको छ । नेपालको राजनीतिमा राम्रो सम्भावना भएका नेतृहरूको पराजयले संसद्मा महिलाको सशक्त आवाज कम हुने मात्र नभइ आगामी दिनमा प्रतिस्पर्धाको राजनीतिमा महिलाको सहभागिता निराशाजनक हुनेछ ।

संसद्मा आवाज बुलन्द गर्नेमध्येकी एक नेतृ पुष्पा भुषालको संसद्मा सहभागिता रहने छैन । प्रतिनिधिसभाकी उपसभामुखसमेत रहेकी नेपाली काङ्ग्रेसकी नेतृ भुषाल अर्घाखाँची-१ मा एमालेका नेता टोपबहादुर रायमाझीसँग प्रतिस्पर्धामा थिइन् । नेतृहरू अन्जना बिशंखे, कल्पना धमला, रामकुमारी झाँक्री, शान्ता चौधरी, दुर्गा पौडेल, पम्फा भुषाल, कोमल ओली, सुजाता कोइराला, बिना मगर, निरुदेवी पाल, भगवती चौधरी, कुन्ती शाही, रेखा थापा, गोमा गौतम कुँवर यो समाचार लेखिँदासम्म पछाडि परेका छन् ।

मकवानपुर १ बाट काङ्ग्रेस नेतृ डीना उपाध्याय, दाङ २ बाट माओवादी नेतृ रेखा शर्मा, धनुषा ३ बाट एमालेकी जुली महतो, काठमाडौं २ बाट सोविता गौतम, कैलाली १ बाट रंजिता श्रेष्ठको जित हुने विश्वास पहिल्यै गरिएको थियो । ललितपुर ३ बाट डा. तोसिमा कार्की विजयी भइसकेकी छन् । यस्तै चित्रलेखा यादव र मञ्जु चौधरी निटक प्रतिस्पर्धामा भएपनि परिणाम अनुकुल देखिएन । कास्कीबाट विद्या भट्टराईको सम्भावना भने जीवित छ ।

नेपालको संसद्मा प्रत्यक्षबाट महिला राजनीतिकर्मीको सहभागिता प्रत्येक निर्वाचनपिच्छे घट्दै गएको छ । विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभामा १२.५ प्रतिशत महिला प्रतिस्पर्धात्मक प्रणालीबाट संविधानसभामा पुगेका थिए । २०७० सालमा सम्पन्न दोश्रो संविधानसभामा प्रत्यक्ष निर्वाचनबाट विजयी महिला सांसदको संख्या ४.१७ प्रतिशतमा झर्‍यो । २०७४ सालमा सम्पन्न आमनिर्वाचनमा प्रतिस्पर्धाबाट आउने महिलाको संख्या ३.३६ प्रतिशत अर्थात् ६ जना थियो ।

प्रत्यक्ष निर्वाचनका लागि १६५ सिट रहेको प्रतिनिधिसभामा यसअघि ६ जना मात्र महिला निर्वाचित हुनु राजनीतिमा महिला सशक्तिकरणको सूचक पटक्कै होइन । यसपटक पनि महिलाको सङ्ख्या एक या दुई कम वा सोही सोही सङ्ख्याको हाराहारीभन्दा माथि उठ्ने देखिएको छैन ।