प्रधानमन्त्री बन्नकै लागि दश वर्षसम्म हिंसात्मक सङ्घर्ष गर्ने माओवादी र पार्टी विभाजन गरेर ठूलो भाग खोज्न अग्रसर भएका माधव नेपाल नेतृत्वको समाजवादी पार्टीलाई ‘हायनापथ’मा रहेको ठानिन्छ । उनीहरू दुवैलाई ‘नानीमैया लहर’ले आफ्नो औकात देखाइदिएको छ ।
निर्वाचन २०७९ ले राजनीतिक महत्वका केही गम्भीर सङ्केतहरू दिएका छन् । यो निर्वाचन सबै पुराना पार्टी र पात्रप्रति निर्मम देखियो । कतिपय जुझारु तथा गतिशील देखिने पुरानै पार्टीका व्यक्तिहरू मतदाताको रोजाइमा परेका छन् । गठबन्धन नबनेको भए शेरबहादुर देउवा र प्रचण्डदेखि माधवकुमार नेपालसम्मले प्रतिनिधिसभामा पाइला राख्न नपाउने रहेछन् भन्ने निर्वाचन परिणामले देखाएको छ । पुराना पार्टी र नेतृत्वको व्यवहारले जनतामा पैदा गरेको वितृष्णा यो निर्वाचनमा ‘नानीमैया भोट’ बनेर प्रकट भएको पाइयो । पुराना पार्टी र नेताहरूलाई ‘देखाइदिने’ मानसिकताको मत स्वतन्त्रका नाममा खडा भएका उम्मेदवारहरूको थैलीमा परेको छ ।
२०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा पञ्चहरूप्रतिको वितृष्णा नानीमैया दाहाल (एक अनौठो प्रकृतिकी महिला) लाई मतदातन गरेर काठमाडौंबासीले प्रकट गरेका थिए । यसपटक प्रमुख शहरी क्षेत्र (काठमाडौं, पोखरा, रुपन्देही र चितवन) का मतदाताले नेताहरूप्रतिको आक्रोश स्वतन्त्रको झोलामा मत दिएर प्रकट गरेका छन् । निर्वाचनमा पुराना दलहरूले नै नयाँ मानिसलाई उम्मेवारका रूपमा प्रस्तुत गर्न सकेको भए चुनावी परिणाममा अन्तर आउन सम्भव थियो । मतदाता नयाँ अनुहारको खोजिमा थिए, नेताहरूले मतदाताको मानसिकता बुझ्दैनबुझी आफ्नो इच्छामाफिक टिकट वितरण गरेका थिए । विगतमा नेताहरूबाट प्रस्तुत भएको व्यवहारले रुष्ट बनेका जनतामा पुरानै अनुहारलाई उम्मेदवार बनाएर थोपरेपछि त्यसले पुरानाहरूप्रति वितृष्णा थपेको देखिन्छ । अपवादबाहेक सामान्य स्तरका कुनै पनि व्यक्ति उम्मेदवारका रूपमा दोहोरिएको मतदाताले मन नपराएको र, त्यस्तो मत फाल्ने ‘कण्टेनर’ पनि स्वतन्त्रहरू नै बने । विना विचार–दर्शन, नीति र सिद्धान्तका अराजक जत्थामा मत जानुको मुख्य कारण पुरानो पार्टीका पुराना नेताहरूको हेपाहा प्रवृत्ति र व्यवहार नै भएको ठहर गरिएको छ ।
राष्ट्रवादी शक्तिलाई गम्भीर धक्का :
यो निर्वाचनले ‘हायनापथ’ (अर्थात्, अर्को मुख्य शक्तिले गरेको शिकारमा हुँडारले जस्तै अङ्श खोज्ने प्रवृत्ति) का दलहरूलाई निकै ठूलो धक्का पुर्याएको छ । प्रधानमन्त्री बन्नकै लागि दश वर्षसम्म हिंसात्मक सङ्घर्ष गर्ने माओवादी र पार्टी विभाजन गरेर ठूलो भाग खोज्न अग्रसर भएका माधव नेपाल नेतृत्वको समाजवादी पार्टीलाई ‘हायनापथ’मा रहेको ठानिन्छ । उनीहरू दुवैलाई ‘नानीमैया लहर’ले आफ्नो औकात देखाइदिएको छ । तर दीर्घकालिन दृष्टिले ‘नानीमैया लहर’ले राष्ट्रवादी शक्तिको विकास र बिस्तारलाई ठूलो क्षति पुर्याउने सम्भावना बढाएको छ ।
पश्चिमाहरू नेपालमा काङ्ग्रेस, कम्युनिष्ट लगायत वर्तमान संविधानका पक्षधरहरूको विकिल्प राष्ट्रवादी शक्ति नबनोस् भन्नेतर्फ धेरै अघिदेखि नै सचेत रहँदै आएका छन् । वर्तमान संविधानका मूल प्रावधानहरूको रक्षा गर्ने पक्षमा बाह्यशक्ति रहेको छ र, उनीहरू नेता (अनुहार) मात्र बदलेर नीति (व्यवस्था) यथावत राख्ने अभ्यासमा थिए । उनीहरूले आफ्नो लक्ष्यको प्रारम्भिक यात्रा यही निर्वाचनमा पूरा गरेका छन् । यही संविधान र व्यवस्थालाई स्वीकार गर्ने आफ्नो अनुकुलको समूहलाई अगाडि ल्याउन पश्चिमाहरू पूर्णत: सफल भएका छन् ।
यो निर्वाचनमा देशभरिका इसाइधर्मीहरूले सङ्गठित मत एउटै पक्षमा दिएको सङ्केतहरू देखिएका छन् । स्वतन्त्रको नाममा देशभर इसाइहरूको सङ्गठित मत परेकोले पनि चुनावी परिणाम अनपेक्षित भएको पाइएको छ । चुनावको समयमा चितवनमा सम्पन्न इसाइहरूको विशेष भेलामा सहभागी भएको भिडियो स्वतन्त्रका नेताले गोप्य राखेकोले त्यसबेलै यसलाई रहश्यमयी ठानिएको थयो । यसअघि (२०७४) को संसदीय निर्वाचनमा इसाइहरूले सर्कुलर गरेरै कम्युनिष्ट पार्टीलाई मतदान गर्न उर्दी गरेका थिए । स्वतन्त्रका एक जना कार्यकर्ता नभएको मतदान केन्द्रमा समेत सैयौँ मत घण्टमा परेपछि अनुसन्धान गर्दा इसाइधर्मीहरूले मतदान गरेको पाइएको थियो ।
अनुहार (नेता) बदल्नुलाई नै परिवर्तन ठान्ने कमजोर चेतनास्तरका नेपाली मतदाता ‘नयाँ अनुहार’को पछि लाग्ने स्थिति निर्माण गरिएको छ । यसले प्रदेश खारेजी, जातिवादी अवधारणाको विस्थापन, धार्मिक पहिचानसहितको राज्य स्थापना, जातीय समानुपातिक प्रणालीको खारेजीलगायतका राष्ट्रकेन्द्रीत मुद्दा उठाउने शक्ति स्थापनामा अवरोध पैदा गरेको छ । राष्ट्रवादी शक्तिलाई मात्र नभइ राजा र हिन्दुराष्ट्रको एजेण्डा देखाएर राजनीतिमा आफूहरूलाई स्थापित गर्न प्रयासरत राजनीतिक दलको आयतन नियन्त्रणमा समेत बाह्य शक्ति सफल भएको छ । अबको पाँच वर्षसम्म सत्ता गठबन्धन र विपक्ष दुवैतिर आफ्नै प्रभाव र पकड राख्ने सफलता उनीहरूलाई मिलेको छ ।
प्रतिनिधिसभामा आफूअनुकुलका व्यक्तिहरूलाई व्यापक मात्रामा प्रवेश गराउन पनि बाह्यशक्ति सफल भएको छ । मधेशमा उपेन्द्र यादवलाई पराजित गराएर जस्तो प्रकारको व्यक्तिलाई अगाडि ल्याएको छ, जसले आफ्नो पार्टीको दस्तावेजमा देश विभाजनको प्रावधान सूक्ष्म ढङ्गले अहिले पनि राखेका छन् । खासगरी पश्चिमी इच्छा र योजनाप्रति सम्वेदनशील व्यक्तिहरू प्रतिनिधिसभामा ठूलो मात्रामा प्रवेश गराउन पश्चिमाहरू सफल भएकै हुनाले भविष्यमा राष्ट्रवादी आन्दोलन अघि बढाउन मुस्किल पर्ने देखिन्छ । विस्थापित हुँदै गरेका नेतृत्वको विकल्प बनाएर प्रस्तुत गरिएकाहरू नै अबको राष्ट्रवादी आन्दोलनमा ठूलो चुनौती बन्नसक्ने सम्भावना छ । यो निर्वाचन परिणामले मुलुकलाई ‘ब्ल्याकहोल’तर्फ लैजाने देखाएको छ ।
प्रतिक्रिया