उपत्यकाको रोचक चुनावी परिणाम : काङ्ग्रेसको मत अर्कैलाई

उपत्यकाको रोचक चुनावी परिणाम : काङ्ग्रेसको मत अर्कैलाई


काठमाडौ उपत्यकाको तीन जिल्लाको चुनावी परिणाम आश्चर्यजनक देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवारहरूमध्ये जहाँ काङ्ग्रेसका छन त्यहाँ मात्र विजय प्राप्त भएको छ । ललितपुर १ मा उदय शमशेर राना गठबन्धनका उम्मेदवार थिए, उनी विजयी बने । ललितपुर २ मा गठबन्धनबाट नेकपा एस (माधव नेपाल)का कृष्णलाल महर्जन उम्मेदवार थिए, उनी पराजित भए । ललितपुर ३ मा गठबन्धनका तर्फबाट माओवादी नेतृ पम्फा भुषाल उम्मेदवार बनेकी थिइन्, पम्फा पनि ठूलो मतान्तरले पराजित भएकी छन् ।

त्यस्तै काठमाडौंको क्षेत्र नम्बर १ मा काङ्ग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह गठबन्धनको उम्मेदवार बनेका थिए, प्रकाशमान विजयी बने । काठमाडौं २ मा ओनसरी घर्ती गठबन्धनको उम्मेदवार बनेकी थिइन्, उनले शर्मनाक पराजय ब्यहोर्नुपर्‍यो । तर, काठमाडौ ३ मा गठबन्धनको उम्मेदवार काङ्ग्रेसका सन्तोष चालिसे थिए, उनी विजयी बनेका छन् । काठमाडौ ४ मा गगन थापा गठबन्धनका उम्मेदवार बनेका थिए, उनी विजयी बने । काठमाडौ ५ मा गठबन्धनबाट उम्मेदवार बनेका प्रदिप पौडेल पनि विजयी बनेका छन् ।

तर काठमाडौ ६ मा भने काङ्गेसी मतदाताहरू नै भीमसेन दाश प्रधानसङ्ग रुष्ट भएकोले त्यहाँ उनले विजय हाशील गर्न सकेनन् । काठमाडौ ७ मा गठबन्धनको उम्मेदवार बाबुरामकी छोरी मानुषीलाई बनाइएको थियो, त्यहाँ उनले लज्जास्पद ढङ्गले पराजय ब्यहोर्नु पर्‍यो । काठमाडौ ८ मा गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठको शर्मनाक पराजय भयो, उनी कलम चिन्ह लिएर मैदानमा खडा भएका थिए । काठमाडौ ९ मा गठबन्धनले माओवादी नेत्री कल्पना धमलालाई उम्मेदवार बनाएको थियो, कल्पना नराम्रोसित पराजित भइन् । काठमाडौ १० मा काङ्ग्रेसका उम्मेदवार राजन केसी माओवादीको छुट्टै उम्मेदवार हुँदाहुँदै पनि विजयी बनेका छन् ।

उता भक्तपुर २ मा गठबन्धनले काङ्ग्रेसका दुर्लभ थापालाई उम्मेदवार बनाएकोमा उनी यो समाचार तयार पार्दासम्म मत गणनामा अगाडि देखिएका छन् । भक्तपुर १ मा माओवादीका सुनिल गोथेलाई गठबन्धनको उम्मेदवार बनाइएको थियो जहाँ उनको पराजय निश्चित मानिएको छ।

चुनावी परिणामले काङ्ग्रेसको मत कम्युनिस्ट उम्मेदवारतिर नगएर डाइभर्ट भएको देखाएको छ । अधिकाङ्श काङ्ग्रेस समर्थकहरूले आफ्नो मत घण्टमा दिएको पाइएको छ। त्यसैले उपत्यकामा गठबन्धनकै कारण कम्युनिस्टहरूलाई मात्र होइन काङ्ग्रेसलाई पनि पाँच संसदीय क्षेत्रमा क्षति पुगेको देखाएको छ।