झापा ५ बाट दोब्बर बढी मतान्तरले एमाले अध्यक्ष ओली निर्वाचित

झापा ५ बाट दोब्बर बढी मतान्तरले एमाले अध्यक्ष ओली निर्वाचित


पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् । २८ हजार ५७६ मतान्तरका साथ ओली विजयी भएका हुन् ।

एक लाख २ हजार १५० मत खसेको मध्ये ९८ हजार ६३१ मत सदर भएकोमा अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरे ।

केपी ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसदमा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । अब उनी छैटौँ पटक प्रतिनिधिसभा सदस्यका रुपमा सङ्घीय संसदमा प्रवेश गर्नेछन् ।

दमक नगरपालिका-१०, झापा स्थायी ठेगाना भइ हाल भक्तपुरको बालकोट निवासी पूर्वप्रधानमन्त्री ओली पिता मोहनप्रसाद ओली र माता स्व. मधु ओलीको सन्तानको रुपमा २००८ फागुन ११ गते जन्मिएका हुन् । एमाले अध्यक्ष ओलीले २०२५ सालदेखि पूर्णकालीन राजनीतिक यात्राको आरम्भ गरेका थिए । विसं २०२९ मा झापा आन्दोलनपछि १४ वर्ष जेल जीवन व्यतित गरेका थिए । केपी ओली २०४४ सालपछि पुनः पार्टी गतिविधिमा सक्रिय भएका थिए ।

पूर्वप्रधानमन्त्री ओलीले २०४६ सालमा तत्कालीन नेकपा (माले)को लुम्बिनी प्रमुख भएर काम गरेका थिए । त्यस्तै, २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको संस्थापक अध्यक्ष भएर काम गरे । पूर्वप्रधानमन्त्री ओली २०४७ सालमा नेकपा (एमाले)को स्थायी समिति सदस्य बनेका थिए ।

ओली २०७१ सालमा एमालेको अध्यक्ष बनेका थिए भने २०७५ सालमा एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष बनेका थिए ।

एमाले अध्यक्ष ओलीले २०७२ र २०७४ मा गरी दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिदसकेका छन् । उनले त्यसअघि उपप्रधान एवं परराष्ट्रमन्त्री २०६३ सालमा र २०५१ सालमा गृहमन्त्रीको कार्यभार सम्हालेका थिए ।

पाँच दशकदेखि राजनीतिमा सक्रियरूपमा रहनुभएका अध्यक्ष ओली तत्कालीन नेकपा (माले) को संस्थापक नेतामध्ये एक हुन् । स्पष्ट अडान राख्ने नेताका रूपमा परिचित केपी ओलीलाई युनिभर्सिटी फर पिस (कोस्टारिका), कोरियाको काइनाम विश्वविद्यालय, भारतको जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेका छन् ।