राप्रपा उपाध्यक्ष प्रधानले पूर्वगृहराज्यमन्त्री कँडेललाई हराए

राप्रपा उपाध्यक्ष प्रधानले पूर्वगृहराज्यमन्त्री कँडेललाई हराए


राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई हराएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानले कँडेललाई पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट १५ हजार ३६५ मतान्तरले हराएका हुन् ।

प्रधानले ३४ हजार ९५९ तथा कँडेलले १९ हजार ५९४ मत प्राप्त गरे । एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४९८ मतमा चित्त बुझाएका छन् ।

प्रधान नेपाल प्रहरीका पूर्वआइजीपी पनि हुन् ।

यता धनुषा ३ बाट एमाले नेतृ जुलिकुमारी महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन् । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।

यस्तै बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिसिसभा सदस्यमा एमालेका ज्वालाकुमार साह निर्वाचित भएकी छन् । एमाले पोलिटव्युरो सदस्य्समेत रहेकी साह २ हजार ९८२ मतको फराकिलो मतान्तरले निर्वाचित भएकी हुन् ।

पूर्वमन्त्रीसमेत रहेकी साहले २० हजार २५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रामबाबुकुमार यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष समेत रहेका यादव ०७४ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद हुन् । यादवलाई पराजित गरेकी साह भने ०७४ को निर्वाचनमा ३९१० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

यस क्षेत्रमा गठबन्धनबाट लोकतान्त्रिक समाजवादीका लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गरेका छन् । त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गरेकी हुन् ।

साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद हुन् । मधेस प्रदेशको सबै जिल्ला र क्षेत्रमा तालमेल गरेको एमालेले बारा ३ मा भने जसपासंग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै साहलाई उम्मेदवार बनाएको थियो ।