नुवाकोट २ बाट कांग्रेस नेता केसी र तेह्रथुम १ बाट सीता गुरुङ निर्वाचित

नुवाकोट २ बाट कांग्रेस नेता केसी र तेह्रथुम १ बाट सीता गुरुङ निर्वाचित


नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसी २८ हजार एक सय सात मत ल्याएर विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार केसीका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत प्राप्त गरेका छन् । यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग दश हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित भएका हुन् ।

यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको कूल ७७ हजार चार मतको आज बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले एक हजार पाँच सय ७१ मत ल्याएका छन् भने चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको छ ।

यस्तै, तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । त्यसैगरी विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन् । दुई उम्मेदवारका बीच एक हजार ७९ मतान्तर रहेको छ ।

तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका थिए ।