पन्ध्रौँ वार्षिकोत्सवमा विज्ञजनद्वारा मैत्रियको प्रशंसा

पन्ध्रौँ वार्षिकोत्सवमा विज्ञजनद्वारा मैत्रियको प्रशंसा


‘सहकारी संस्थाहरू सङ्कटमा परेका छन्, जनताको पैसा पचाएर भाग्ने गरेका छन्, सहकारीमा पैसा राख्नु जानाजान खतरा निम्त्याउनु हो… भन्ने जस्ता चर्चा यदाकदा सुनिन्छ । हिजोआज यस्तो धारणाले अलिक जरो गाडेको महसूस हुन्छ । तर सहकारीका सञ्चालक बदमास भएर मात्र सहकारी डुब्ने होइन, बरु सेयरधनी सदस्यहरूले सहकारीका क्रियाकलापप्रति सरोकार नराख्दा या सेयर सदस्यले निर्वाह गर्नुपर्ने कर्तव्य र भूमिका निर्वाह नगर्दा सहकारी सङ्कटमा पर्छ । किनकि, सहकारी भनेको समुदायका व्यक्ति-व्यक्ति मिलेर बनेको आफ्नै संस्था हो ।’

उल्लेखित भनाइ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुको हो, जो शनिबार भक्तपुरको बालकोटस्थित मैत्रिय बचत तथा ऋण सहकारी संस्था लि.को १५औँ साधारणसभालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै थिए । सहकारी अवधारणाका एक विज्ञको रूपमा मैत्रियका सेयर सदस्यहरूलाई सहकारीको सात सिद्धान्तबारे जानकारी दिँदै उनले भने- ‘तोकिएको दायरा र कार्यक्षेत्रभन्दा बाहिर गइ गलत क्रियाकलाप गरेर कतिपय संस्थाले सहकारी सिद्धान्तकै बदनाम गर्ने अनि जनविश्वास गुमाउने र जनताको बचतमाथि खेलबाड गरिरहेका छन्, यसमा अनुगमन तथा नियन्त्रण हुनुपर्छ ।’

नियममा नचल्ने सहकारी अन्तत: असफल भइ भाग्नुपर्ने अवस्था आउँछ भन्दै लाखाजुले समुदायमा आधारित संस्थामा समस्या नभएको स्पष्ट पारे । सहकारीको पैसा उठाएर सञ्चालकहरूले निजी व्यवसायमा लगानी गर्न नहुने, सहकारी भाग्यो भनेर हल्ला गरेर मात्र समस्याको समाधान नहुने र सदस्यहरूले साधारणसभामा भाग लिएर छलफल नगर्ने प्रवृत्ति गलत रहेको उनको भनाइ थियो । संस्था सञ्चालन र सहकारी नियमको पालनाका कोणबाट मैत्रिय सहकारी बचत तथा ऋण सहकारी संस्थाले अत्यन्त राम्रो काम गरिरहेको र सदस्यहरूले ढुक्कले बचत एवम् वित्तिय कारोबार गर्न सक्ने अवस्था रहेको आफूले महसूस गरेको उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभामा अतिथिका रूपमा सूर्यविनायक न.पा. सहकारी शाखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठले मुलुकको विकासका लागि सहकारी संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै बालकोट क्षेत्रमा मैत्रिय सहकारीले उत्कृष्ट एवम् सकारात्मक सेवा प्रदान गरिरहेको जानकारी दिए ।

अतिथिकै रूपमा चमेली कल्याणकारी साकोसका अध्यक्ष प्रमोद घिमिरेले विश्वब्यापी मन्दीका कारण महँगी बढेकोले आर्थिक कारोबार गर्दा मितव्ययिता अपनाउन र सहकारीको क्रियाकलापमाथि निगरानी राख्न सुझाव दिए । सदस्यहरूको क्षमता र सञ्चालकहरूको दक्षता अभिवृद्धिका कार्यक्रम गरिनुपर्ने उनको धारणा थियो ।

अतिथिकै रूपमा समाजसेवी एवम् सो संस्थाका सल्लाहकारसमेत रहेका उद्धव सिलवालले मैत्रिय संस्था स्थापनाको इतिहासबारे जानकारी दिए भने सम्बोधनका क्रममा संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले मैत्रिय संस्थालाई अझ चुस्तदुरुस्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्दै लगिएको र लैजाने प्रतिबद्धता जनाए ।

स्थापनाकालदेखि नै उत्कृष्ट काम गर्दै आएको मैत्रिय बचत तथा ऋण सहकारी संस्थामा हाल चौध सय सेयर सदस्यहरू रहेको सञ्चालक नवीन उप्रेतीले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष्य कुवेर श्रेष्ठले स्वागत मन्तव्य दिएको समारोहमा सचिव सुमन सिलवालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दिवाकर सिलवालले वित्तिय प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक भाइकाजी खत्रीले समितिको प्रतिवेदन पेस गरेका थिए ।

राजेन्द्र पराजुलीद्वारा चित्ताकर्षक शैलीमा सञ्चालन गरिएको उक्त समारोहमा ७५ वर्षीया सुशीला शाहलाई जेष्ठ नागरिक सम्मानबाट सुशोभित गरिएको थियो भने असल कारोबारकर्ताको रूपमा रस्मिला तिमल्सिना, अञ्जली बस्नेत, बालबचत तर्फबाट युनिषा थापा, एसईईमा उत्कृष्ट नतिजाका लागि अल्सानी श्रेष्ठका साथै सेयर सदस्यहरू राजेन्द्र खत्री र हिराकाजी भासिमालाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।