अधिवेशनको तयारीमा बेल्जियमका नेपाली उद्योगी/व्यवसायी

अधिवेशनको तयारीमा बेल्जियमका नेपाली उद्योगी/व्यवसायी


  • सनत आचार्य, बेल्जियम

बेल्जियमस्थित नेपाली उद्योगी/व्यवसायीहरूको छाता संगठन नेपाली व्यवसायी संघको छैठौँ अधिवेशन आगामी जनवरी २३ मा लुभेनमा आयोजना गरिने भएको छ ।

संघका अध्यक्ष यामु निरौलाले अधिवेशन संस्था संचालनका आफैमा एउटा महत्वपूर्ण अवसर भएकोले यो अधिवेशनले बेल्जियममा आर्थिक लगानी गर्ने र गरिरहेका नेपाली व्यवसायीहरूको व्यापार–व्यवसाय प्रवर्धनका लागि सहयोग पुग्ने अपेक्षा भएको बताउनुभयो । उहाँले अधिवेशन नजिकिँदै आइरहेको हुँदा आफुहरूले सदस्यता नवीकरण तथा नयाँ सदस्य बनाउने कार्यलाई पहिलो प्राथमिकतामा राखेर तीव्रता दिएको जानकारी दिनुभयो ।

यस्तै, विगतमा संघले बेल्जियममा कुनै पनि व्यवासाय संचालन गर्न चाहने उद्योगी/व्यवसायीले व्यवासय, कामदार, सेवा सुविधा, सरकारी नीति नियम, काम गर्दा देखापर्ने समस्या लगायतका विषयमा परामर्श र व्यवसायमा संलग्न जनशक्तिको सीप तथा क्षमता विकासमा समेत सहयोग पुग्ने भएकोले संघको सदस्य बनेर व्यवसायीहरूले लाभ लिन सक्ने अध्यक्ष निरौलाको भनाइ थियो ।

संघका महासचिव मदन दवाडीले डेढ दशक भन्दा पुरानो उद्योगी/व्यवसायीहरूको एक मात्र संस्था भएको र प्रत्येक वर्ष यस्ता उद्योग/व्यवसायहरू स्थापना हुने क्रम रहेको अवस्थामा आगामी दिनमा संघलाई अझ बढी क्रियाशील अवस्थामा राख्न आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले संघको उद्देश्य मातृभूमि र उद्योगी/व्यवसायीको हितका लागि काम गर्ने भएको हुँदा विगतमा नेपाल र नेपालीको कला, संस्कृति र परिकारहरूका पहिचानका लागि मेला महोत्सव, खाना महोत्सव जस्ता विशेष प्रकारका कार्यक्रमहरू आयोजना गर्ने गरेको बताउनुभयो ।

त्यस्तै, व्यवसायीहरूको हितका लागि संघले परामर्श सेवा प्रदान गर्ने, खानामा स्वच्छता र शुद्धताका लागि अभिमूखिकरण, कामदारहरुका लागि सचेतना तालिमलगायत सीपमूलक तालिम संचालन तथा प्रदान गर्दै आएको बताउनुभयो ।

आगामी अधिवेशन चुनाव अधिवेशन पनि भएकोले संघले आजसम्मको इतिहासमा सहमतीय संस्कार निर्माण गरेको हुँदा त्यसलाई यो पटक पनि अनुशरण गर्ने बताउँदै अधिवेशनले बेल्जियममा रहेका उद्मोगी व्यवसायीहरुलाई सुहाउदो र सक्रिय नेतृत्व तथा टिम चयन गर्ने जानकारी दिनुभयो ।

एक फरक प्रसङ्गमा महासचिब दवाडीले संघ चन्दामुक्त संस्था भएकोले आफुहरुले संस्था र सदस्यको लाभका लागि अन्य व्यापारिक प्रतिष्ठानहरुसँग मिलेर केही अतिरिक्त छुट पाउने र सेवा प्रदान गरेवापत संघलाई थोरै भएता पनि कमिसन प्राप्त हुने भएकोले यसबाट कसैसंग हात फैलाउनु नपर्ने र संस्था संचालनमा सहयोग पुगेको उल्लेख गर्नुभयोे ।

संघले बेल्जियममा रहेका उद्मोगी व्यवसायीहरुको सदस्यता वृद्धि र पंजिकरण गर्न कासी दनैको संयोजकत्वमा तथ्याङ्क संकलन/सदस्यता वृद्धि तथा नवीकरण समिति र जगदीश सापकोटाको संयोजकत्वमा अधिवेशन व्यवस्थापन समिति गठन गरेको छ भने विधान परिमार्जन तथा परिस्कृत गर्न विधान समिति र निर्वाचन समिति आगामी बैठकबाट तोकिने अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

छैठौँ अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्ने जानकारी दिइएको छ ।