सनातन शास्त्रमा आतङ्कको परिभाषा

सनातन शास्त्रमा आतङ्कको परिभाषा


मेरो पक्षले कुनै काम गरेमा त्यो प्रशंसनीय र मेरा विरोधी पक्षले सोही काम गर्दा त्यो जघन्य र अक्षम्य अपराध भनेर भन्ने पाखण्डीपन देखाउने तथाकथित बुद्धिजीवीहरूबाट आज यो देश आक्रान्त छ । जति क्षति आतङ्क मच्चाउनेहरूले गर्दछन् त्योभन्दा कयौँ गुणा ज्यादा क्षति त्यसको मतियार हुने बुद्धिजीवीले गरेका छन् ।
  • स्वयम्भूनाथ कार्की

शास्त्रहरूलाई मिथक नै मान्ने हो भने पनि यी हालसालका होइनन् । यिनीहरूको रचनाकाल परापूर्व नै हुन आउँछ । तिनीहरूमा वर्णित घटनाहरूलाई काल्पनिक मान्नेहरूले पनि तिनीहरूमा निहित सुत्र वा ज्ञानका कुराहरूलाई अस्विकार गर्न सक्दैनन् । त्यस ज्ञान वा सिद्धान्तसँग असहमत हुने वा सहमत हुने अधिकार सबैलाई छ । सनातनी (हिन्दु) समाजले आफ्ना मान्यताभन्दा फरक विचार वा सिद्धान्त अपनाउनेहरूको पनि अस्तित्व स्विकार गरेको छ, मान राखेको छ । यसको उदाहरणको निमित्त चार्वाकको नाम नै पर्याप्त छ । ‘पुनर्जन्म, लोक-परलोक वा पापको फल भोग्ने नरक र पुण्यको उपभोग गर्ने स्वर्गको अवधारणको विपरीत खरानी भएर जाने शरिर कहिले पो फर्कन्छ र, तसर्थ जहिलेसम्म बाँच्छौ सुखी भएर बाँच, ऋण गरेर भए पनि घिउ पिउ’ भन्ने चर्वाकलाई यो समाजले अहिलेसम्म पनि सम्झिरहेको छ ।

रामायणको खलपात्र रावणले रचना गरेको शिवस्तुति आजपर्यन्त शिव उपासनामा गाइने गरिन्छ । त्यसरी गाउँदा रावणलाई राम्रो र रामलाई खलपात्र भनेर भनिँदैन । यसरी विवेचना गर्दा सनातनी समाज सबैभन्दा समतामूलक, व्यक्ति स्वतन्त्रताको सम्मान गर्ने तथा व्यक्तिपूजक नभइ कामको परिणामको आधारमा मुल्याङ्कन गर्ने समाज हो ।

महाभारत रचनाकालभन्दा पहिल्यै रचना भएको वशिष्ठ स्मृतिमा भएको एउटा श्लोक आजको परिस्थितिमा पनि सान्दर्भिक छ । उक्त श्लोकले भन्छ-

अग्निदो गरदश्चैव शस्त्रपाणिर्धर्नापह: ।
क्षेत्रदारापहर्ता च षडेते ह्याततायिन: ।। (वशिष्ठ स्मृति ३।१९)

आगो लगाउने, विष खुवाउने, शस्त्र लिएर मार्न उद्यत हुने, धनको अपहरण गर्ने, जग्गाजमिन अपहरण गर्ने र स्त्री हरण गर्ने, यी ६ आततायी (आतङ्ककारी) हुन् । यो आतङ्ककारीको सर्वकालिक परिभाषा हो । सनातनी समाजमा मात्र नभएर सबै समाजमा आतङ्ककारीको यो परिभाषा मान्य नै छ । उपरोक्त ६ वटामध्ये कुनै एक काम गर्ने विश्वभर नै आतङ्ककारी मानिन्छन् । कुनै देशको कानुलले पनि यो काम गर्न छुट दिएको छैन । केवल केही समाजवादको आवरणमा आफूलाई ढाक्ने देशका कानुनमा यसमध्ये केही कार्य गर्न राज्यसंयन्त्रले छुट लिएको पाइन्छ । तर, त्यो छुट पनि पुर्णरूपमा छैन । ‘किन्तु/परन्तु’को खोल ओडाएर र फलाना उद्देश्यको निमित्त राज्यले कानुन बनाएर यीमध्ये केही काम गर्न सक्छ भन्ने उल्लेख गरेर समाजवादी देशको सरकार केही नागरिकमाथि यो आतङ्ककारी विभेद गर्न उद्यत् हुन्छ ।

राज्यको यही तर्कलाई भर्‍याङ बनाएर कुनै न कुनै राजनीतिक लक्ष्यको ढाल तेस्र्याएर विभिन्न समुहहरू पनि आफूले यो काम गर्न पाउनुपर्ने मान्यता राख्छन् । आज मुलुक राज्यको र त्यस्ता समुहहरूको आतङ्कबाट पोलिएको छ, पिल्सिएको छ ।

राज्य वा राजनीतिक प्रणालीको निमित्त जनता होइनन्, जनताको निमित्त राज्य वा राजनीतिक प्रणाली हो भन्ने साश्वत सत्य आजका बुद्धिजीवीहरूले भुलेका छन् । सत्ता वा शक्तिको कृपाबाट प्राप्त हुने मान–सम्मान, भोगविलास वा धन–सम्पत्तिको लोभमा आफ्नो आत्माको आवाजको विपरीत काम गर्ने वा मान्यता बनाउने यस्ता बुद्धिजीवीहरूलाई के भन्ने ? एउटी महिलाले भौतिक आवश्यकताको निमित्त आफ्नो इच्छाविपरीत कसैसँग पनि यौन सम्बन्ध राख्नु र आफ्नो आत्माको आवाज, आत्मज्ञानले देखाएको बाटोविपरीत काम गर्नु एकै प्रकारको परिस्थिति होइन र ? त्यो महिलालाई ‘वेश्या’ विशेषण दिइ तिरस्कृत गर्ने समाजले यस्ता बुद्धिजीवीहरूलाई भने अगुवाको नाम दिएर सम्मानित गर्नु समाजकै पनि नैतिक पतन भएन भनी भन्न सकिन्न ।

हत्या जुनसुकै उद्देश्यको निमित्त गरेको भए पनि हत्या नै हो, चोरी जुनसुकै कारणले गरेको भए पनि चोरी नै हो । न्यायाधीशहरूले कारण र परिस्थितिअनुसार सजाय कम या ज्यादा गर्न सक्लान् तर अपराधमुक्त भने गर्न सक्दैनन् । त्यसै गरेर आगो लगाउने काम आतङ्क नै हो । विष खुवाउने वा हतियार लिएर मार्ने डर देखाइ जबर्जस्ती गर्ने काम पनि पुण्य हुन सक्दैन, कसैको धनको स्त्री वा परिवारको अपहरण गर्ने र, जग्गा जमिन जस्ता कमाइ खाने साधन खोस्ने काम जसले गरे पनि आतङ्ककारी काम नै हो । आजकल छल वा बलले उस्ता कामलाई जत्तिकै राम्रो फुलबुट्टा भरे पनि भोलिले पुन: मुल्याङ्कन गर्ने नै छ ।

हत्याले कुनै जीवलाई एकैचोटि समाप्त पार्दछ तर ज्यान जाने डर, धन सम्पत्ति हरण हुने डर वा आफ्ना परिवारको कुभलो हुने डरबाट पैदा हुने आतङ्कले उसलाई हरपल तिलतिल गरेर मार्दछ । यसकारण आतङ्क हत्या भन्दा पनि जघन्य अपराध हो । यस्ता अपराधहरू राज्य, समूह वा व्यक्ति कसैले गरे पनि क्षम्य हुनै सक्दैन । अझ सबै जनताको भलोकुभलोको जिम्मेवार भएको राज्यले यसो गर्दछ भने त्यसको अपराधको त कुनै तुलना नै हुन सक्दैन । यदि यस्ता अपराधलाई कसैले महिमामण्डित गर्दछ भने त्यो त झन् ठूलो अपराध गर्दछ । समर्थनले काम गर्नेको हौसला बढाउँदछ र अझ धेरै र गम्भीर प्रकारका यस्तै काम गर्न हौसिन्छ । कुनै कारणले यस्ता कामको विरोध गर्न नसक्नु केही मात्रामा क्षम्य हुन सक्ला तर ठिक हो भनेर त्यसको ओड पस्नु त त्यस अपराधमा संलग्न हुनु नै हो ।

मेरो पक्षले कुनै काम गरेमा त्यो प्रशंसनीय र मेरा विरोधी पक्षले सोही काम गर्दा त्यो जघन्य र अक्षम्य अपराध भनेर भन्ने पाखण्डीपन देखाउने तथाकथित बुद्धिजीवीहरूबाट आज यो देश आक्रान्त छ । जति क्षति आतङ्क मच्चाउनेहरूले गर्दछन् त्योभन्दा कयौँ गुणा ज्यादा क्षति त्यसको मतियार हुने बुद्धिजीवीले गरेका छन् । काटेको घाउमा नुनचुक छर्ने यस्ताहरूको ज्यादति नेपाली जनताले कहिलेसम्म चुपचाप सहनुपर्ने हो- त्यो त सर्वशक्तिमान ईश्वरलाई नै थाहा होला ।