सिके राउतले प्रचण्ड भेटे, प्रकाण्डले भेटे खाण

सिके राउतले प्रचण्ड भेटे, प्रकाण्डले भेटे खाण


जनमत पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद डा. सिके राउतले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।

भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको र आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । बिहीबार नै राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका थिए।

यसअघि उनले कांग्रेस नेता विमलेन्द्र निधिसँग छलफल गरेका थिए । सत्तारुढ गठबन्धनले राउतलाई नयाँ सत्ता समीकरणमा समावेश गर्ने प्रयास गरिरहेको छ ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो ।

भेटमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, निवर्तमान कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्बबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए । नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहभागी थिए ।