विश्वकप फुटवल : जापान र स्पेन नकआउट चरणमा, जर्मनी, बेल्जियम र क्यानडा प्रतियोगिताबाट बाहिरिए

विश्वकप फुटवल : जापान र स्पेन नकआउट चरणमा, जर्मनी, बेल्जियम र क्यानडा प्रतियोगिताबाट बाहिरिए


कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ६ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।

समूह चरणको अन्तिम खेलमा ४-२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो । स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो ।

जापान र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको तीन मिनेटपछि अर्थात् खेलको ५१औँ मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २-१ को अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो ।

सोही समूहको अर्को खेलमा जर्मनी ४-२ गोल अन्तरले कोस्टारिकालाई पराजित गर्न सफल भएको थियो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए । खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए । जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३-२ को अग्रता दिलाए । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे । यसका बाबजुद जर्मनी सुपर सोह्रमा भने प्रवेश गर्न नसकी विश्वकपबाटै बाहिरिएको छ ।

यस्तै, समूह ‘एफ’बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् ।

समूह चरणको अन्तर्गत भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमश: समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क जोडेको बेल्जियम र शुन्य अङ्क भएको क्यानडा समूह चरणबाटै बाहिरिए ।

कतारको अल थुमामा रंगशालामा समूह एफ अन्तर्गत भएको खेलमा अफ्रिकी राष्ट्र मोरक्कोले क्यानडालाई २-१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो ।

खेलको सुरुआती समयदेखि दबाब बनाएको मोरक्कोले खेलको चौथो मिनेटमा अग्रता लिन सफल भयो । मोरक्कोका लागि हाकिम जिएचले करिब २५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो ।

त्यस्तै खेलको २३औँ मिनेटमा मोरक्कोले अग्रता बढायो । मोरक्कोका अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले गोलमा परिणत गरे । त्यसपछि खेलको ४०औं मिनेटमा मोरक्कोका नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो । साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो । त्यसपछि थप गोल भएन ।

कतारको अहमद बिन अली रंगशालामा आजै भएको समूह एफ कै अर्को खेलमा क्रोएसिया र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुङ्गिँदा अङ्कका आधारमा बेल्जियम जारी प्रतियोगिताबाट बाहिरिएको छ । बेल्जियमले तीन खेलबाट ४ अङ्क जोड्यो भने समूह चरणका तीन खेलमा कुनै अङ्क नजोेडेको क्यानडा समूहमा पुच्छारमा रह्यो ।