यी हुन् चुनाव जित्ने देउवा र ओलीका ‘भित्रिया’

यी हुन् चुनाव जित्ने देउवा र ओलीका ‘भित्रिया’


प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएर देशभरका अधिकांश निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । मंसिर ४ गतेको निर्वाचनमा उत्पन्न विवादका कारण मतगणना रोकिएका केही स्थानमा समेत मत गन्ने क्रम चलिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार कूल १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ हालसम्म ५५ सिटमा जित हासिल गरेको छ । हाल मतगणना चलिरहेको ३ वटा क्षेत्रमध्ये दुई क्षेत्रमा अग्रता लिइरहेको छ ।

नेकपा एमालेले ४४ सिट जितेको छ । हाल जितेका सिटहरूमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मासहित उनका किचन क्याबिनेटका अधिकांश नेताहरू चुनावी मैदानमा थिए ।

देउवा र ओलीका भित्रियामध्येका कतिपय नेताहरूले यस निर्वाचनमा हार व्यहोरेका छन् भने कतिपय विजयी भएका छन् । देउवा र ओलीका भित्रियामध्ये क-कसले चुनाव जिते त ?

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको किचेन क्याबिनेटमा उनी निकट थोरै मात्र कोर नेताहरुको पहुँच छ । सोमध्येका कतिपयले टिकट पाए पनि कतिले विविध कारणवश टिकट नै पाएनन् । टिकट पाउने देउवानिकट नेताहरुमध्ये केहीले जित निकालेका छन् भने कतिपयले हार व्यहोरेका छन् ।

पूर्णबहादुर खड्का

देउवाले निकै पत्याएरका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । उनी त्यहाँबाट योसहित पाँचौँ पटक निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै खड्का विजयी बनेका हुन् । प्रतिनिधिसभा निर्वाचनमा खड्काले ४२ हजार ६०७ मत ल्याए भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याए ।

एनपी साउद

विद्यार्थी राजनीतिदेखि नै देउवानिकट रहँदै आएका कांग्रेस नेता एनपी साउदले पनि चुनाव जितेका छन् । नेता साउद युवा र शिक्षाको विषयमा देउवा समूहभित्र छलफल गरिने पात्रमा पर्छन् ।

उनी कञ्चनपुर २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । साउदले २८ हजार १०० मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन्।

रमेश लेखक

कांग्रेस नेता रमेश लेखक पनि देउवाका भित्रिया हुन् । देउवाका खास सहयोगीमध्येमा पर्ने लेखकले सुदूरपश्चिम र राष्ट्रिय राजनीतिमा देउवालाई सहयोग गरिरहेका हुन्छन् । नेता लेखक यसपटक कञ्चनपुर ३ बाट निर्वाचित भएका छन् ।

उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् ।

विश्वप्रकाश शर्मा

विश्वप्रकाश शर्मा पनि देउवाका भित्रिया नै मानिन्छन् । गगन थापा, प्रदीप पौडेलजस्ता युवामाझ प्रभावशाली नेताहरूलाई काउन्टर दिनका लागि शर्मालाई देउवाले आफ्नो उपयोगी पात्रका रूपमा उभ्याएका थिए । देउवाले शर्मालाई यसअघि प्रवक्ताको जिम्मेवारीसमेत दिएका थिए ।

पछिल्लो समय कांग्रेस महामन्त्री समेत रहेका नेता शर्मा झापा १ बाट विजयी भएका हुन् । शर्माले ३९ हजार ६ सय २४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नि खरेलले​ २५ हजार ४ सय ४९ मत ल्याएका छन् ।

गृहमन्त्रीसमेत रहेका देउवाका भित्रिया बालकृष्ण खाण भने पराजित भएका छन् । गृहमन्त्री खाण रुपन्देही ३ बाट पराजित भएका हुन् । सभापति देउवाका खास पात्र मानिने मीन विश्वकर्मा र प्रकाशशरण महतले चुनाव लडेनन् ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अधिकांश भित्रियाको बिचल्ली भएको छ । ओली किचन क्याबिनेटका अधिकांश नेताहरुले हार व्यहोरेका छन् । ओलीको चार प्रमुख पात्रले मात्र चुनाव जितेका छन् । यी हुन् चुनाव जित्ने अध्यक्ष ओलीका भित्रिया :

गोकुल बाँस्कोटा

गोकुल बास्कोटा अध्यक्ष ओलीका खास पात्र हुन् । ओलीको किचन क्याबिनेटमा पहुँच राख्ने बास्कोटा काभ्रे क्षेत्र २ बाट निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै बास्कोटा विजयी भएका हुन् । बास्कोटाले ४५ हजार ३४५ मत पाए भने हुमागाईंंले ३९ हजार ४२८ मत पाएका थिए ।

सुवास नेम्वाङ

अध्यक्ष ओलीनिकट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतले पराजित गरेका हुन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय ६ मत पाएका छन् ।

उनी ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन संविधानसभाको सभामुख भइसकेका नेता नेम्वाङ लामो समयदेखि ओलीको कित्तामा रहेर राजनीति गरिरहेका छन् ।

विष्णु पौडेल

अध्यक्ष ओलीको किचन क्याबिनेटका नेता एवं विश्वासपात्र विष्णु पौडेलले पनि चुनाव जितेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा पौडेल विजयी भएका हुन् । पौडेलले २७ हजार १४८ मत प्राप्त गरेका थिए । पौडेल ओलीको प्रधानमन्त्री कालमा उपप्रधान तथा अर्थमन्त्री समेत भइसकेका पात्र हुन् ।

सूर्य थापा

ओलीको खास पात्र एमाले नेता सूर्य थापा पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । नेता थापा प्यूठानमा निर्वाचित भएका हुन् । थापाले सत्तारूढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई पराजित गरेका हुन् । थापाले ४१ हजार ११८ मत र पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेका छन् । थापा ओलीको प्रधानमन्त्री कालमा प्रेस सल्लाहकार थिए ।

यस पटक ओलीको किचन क्याबिनेटका १४ जना हस्तीमध्ये १० जनाले पराजय भोगेका छन् । पराजित हुनेहरू मध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, भानुभक्त ढकाल, राजन भट्टराई, विशाल भट्टराई, प्रदीप ज्ञवाली, शेरधन राई, अग्नि खरेल, महेश बस्नेत, निरु पाल रहेका छन् । उनीहरूले टिकट पाए पनि निर्वाचन जित्न सकेनन् ।