लाइबेरियाको कथा र नेपाली परिवेश

लाइबेरियाको कथा र नेपाली परिवेश


ग्यासको सिलिन्डर बोकेका गाडी रोकेर सर्वसाधारण उपभोक्ताले सडकबाटै भटाभट ग्यास लिएर गएका हालैको घटनाले मलाई युद्धग्रस्त क्षेत्र लाइबेरिया, सुडान, हाइटी आदि मुलुकको सम्झना दिलायो । युद्धले जर्जर पारेको अर्थतन्त्रको कारण त्यहाँ मानिस दुई छाकको भोक टार्न संयुक्त राष्ट्रसङ्घको राहत कुरेर बस्थे । विद्रोहीहरूको बन्दुकको अधीनमा रहेको त्यो मुलुकमा आमजनता तर्सिएर बाँच्नेबाहेक अरू विकल्प थिएन । जब-जब हेलिकोप्टरबाट राहत बाँडिन्थ्यो वा गाडीहरूमा यूएनको खाद्यान्न आउँथ्यो तबतब त्यहाँका भोखा जनताले बाटैमा खाद्यान्न लुट्थे । लुट्ने क्रम ज्यादै बढेपछि त्यस्ता सामग्री सेना वा प्रहरीको स्कर्टिङको साथमा पठाउन थालियो । स्कर्टिङ भएका गाडीका पछाडि-पछाडि हजारौं आमाहरूले एक हातले बच्चा च्याप्दै अर्को हातले भीख मागेर्झैं मुद्रामा हात पसारी खाद्यान्न माग्थे । लाठी र बन्दुक बोकेका सुरक्षाकर्मीले तिनलाई निर्मम तरिकाले कुटपिट गर्दथे । आन्तरिक विद्रोह भइरहेका अफ्रिकी मुलुकहरूमा युद्धकालमा यस्ता घटना सामान्य थिए । बीबीसी वा सीएनएनबाट यस्ता दृश्य प्रसारण हुँदा हजारौँ किलोमिटर टाढा भएको मजस्ता थुप्रैको चित्त दुख्थ्यो । म मनमनै सोच्ने गर्दथेँ- गृहयुद्धमा होमिएका यी अफ्रिकी मुलुकहरूको हालत कहिले सुध्रिएला ?
केही दिनअघि ग्यासका सिलिन्डर बोकेका गाडीबाट लगभग द्वन्द्वरत अफ्रिकी मुलुककै शैलीमा ग्यासहरू लुट्ने काम भयो । यसरी बाटैमा गाडी रोकेर लुटपाट शैलीमा ग्यास कब्जा गर्न थालेपछि प्रधानमन्त्रीकै आदेशमा अब ग्यास सुरक्षाबलको स्कर्टिङमा एक ठाउँबाट अर्को ठाउँमा लगिने भयो अरे भन्ने समाचार पनि सुनियो । यो दृश्य वा परिस्थिति देख्दा मलाई कताकता लाग्न थाल्यो कि हाम्रो देश नेपाल पनि बिस्तारै तिनै अफ्रिकी मुलुकको जस्तै बन्दै छ ।
म आफैं पनि ०५० तिर संयुक्त राष्ट्रसङ्घको पुलिस भएर कम्बोडियाको गृहयुद्ध व्यवस्थापन गर्न पुगेको थिएँ । आन्तरिक विद्रोहको कारण झन्डै ३० लाख जनताले ज्यान गुमाएको त्यस देशमा मानव खप्पर पहाडझैँ सजाएर म्युजियममा राखेको देख्दा आफ्नो मुलुक त स्वर्ग नै रहेछ भन्ने लागेको थियो । मेरो देशमा यस्तो आन्तरिक युद्ध हुनै सक्दैन भन्ने मलाई लाग्थ्यो । हेर्दाहेर्दै त्यस्तै स्थिति नेपालमा पनि आयो । एक गाउँबाट अर्को गाउँमा र एक ठाउँबाट अर्को ठाउँमा कम्बोडियाका जनता पुग्न नसकेझैं यहाँका जनता पनि पुग्न नसक्ने भए । अफ्रिकी मुलुकका आन्तरिक विद्रोह पनि कम्बोडियाको भन्दा कम निर्दयी थिएन । जाति-जातिबीचको लडाइँमा एक जातिले अर्को जातिलाई देख्नेबित्तिकै त्यहीँ मारिदिने काम पनि दुवै ठाउँमा हुन्थ्यो । ती मुलुकहरूमा मानिसहरू खान नपाउने अवस्थामा पुगे । आफ्नै देशभित्र शरणार्थी हुन पुगे । नेपालमा त यस्तो दिन के आउला भन्ने थियो तर नेपालभित्र पनि नेपाली नै शरणार्थी हुन बाध्य भए । यहाँ सुडान वा लाइबेरियाको जस्तो जात-जात क्षेत्र-क्षेत्रका जनताबीच लडाइँ भइसकेको त छैन तर अहिले जुन प्रकारले जातीय र क्षेत्रीय राज्यको वकालत गर्दै नेता भनाउँदा विवेकशून्य व्यक्तिहरू अगाडि बढेका छन् तिनले यो मुलुकमा सयौँ वर्षअघिबाट मिलेर बसेका नेपाली जाति-जातिबीच लडाइँ गराउने निश्चित देखिन्छ । करिब चार वर्षअगाडि काठमाडौंमा एक अफ्रिकी मुलकका व्यक्तिसँग मेरो भेट भयो । हेर्दा नाइजेरियनजस्ता देखिने ती युवकले आफू लाइबेरियाको नागरिक भएको बताए । ड्रग्सको समस्यामा परेका व्यक्तिलाई नार्कोनन् नेपालले चलाएको हेल्पलाइनमा सर्म्पर्क गरी उनको साथी ड्रग्सको कुलतमा नराम्रोसँग फसेको बताउने क्रममा हाम्रो भेट भएको थियो । मैले उनीहरूलाई भेट्दा दुवैको जिउबाट गाँजाको नराम्रो गन्ध आइरहेको थियो ।
मैले ती अफ्रिकी युवकलाई सक्ने सल्लाह दिएँ । उनले पहिला आफू लाइबेरियामा विद्रोही लडाकु भएको र त्यहाँको युद्धदेखि दिक्क भएर नजिकको देशमा भागेर संयुक्त राष्ट्रसङ्घको सहयोगले देशबाहिर आएको बताए । उनको कुरा कति सही थियो वा गलत भन्ने छुट्याउनेतर्फ म लागिनँ, किनकि मलाई केवल उनको ड्रग्सको समस्यासँग मात्र सरोकार थियो । केहीबेर बस्दा पहेँला-पहेँला आँखा गरेका ती दुई युवकले आन्तरिक युद्धको कारण तिनका परिवार कसरी मारिए र तिनले जबर्जस्ती कसरी लडाकु बन्न बाध्य हुनुपर्‍यो भन्ने कुरा पनि मलाई सुनाए । त्यस दिन तिनले मलाई थुप्रै कुरा भने तर त्यसमध्ये एक घटना अत्यन्त मर्मस्पर्शी थियो ।
आन्तरिक सशस्त्र विद्रोह उनीहरूको देशमा चल्न सुरु भएपछि त्यहाँ गाउँ-गाउँमा प्रतिकार गर्ने सशस्त्र समूह पनि बनेछ । युद्ध चर्कंदै गएपछि आत्मरक्षाकै लागि घरमा बन्दुक राख्नुपर्ने स्थति भएछ । सरकारी सेना, विद्रोही सेना र ससाना धेरै विद्रोही सेनाले आ-आफ्नो इलाका कब्जा गरेपछि खाद्य सामग्रीहरूको आपूर्ति पनि बन्द हुन थालेछ । खाद्य सामग्रीहरूको आपूर्ति बन्द भएपछि गाउँठाउँमा भयानक लुटपाट सुरु हुन थालेछ । एक गाउँलेले अर्काे गाउँका मानिसलाई आफ्नो गाउँमा छिर्न दिन छोडेछन् । गाउँगाउँ नै एक-अर्काका दुश्मन बनेछन् । हरेक गाउँमा छुट्टाछुट्टै सशस्त्र टोली हुन थालेछ । आन्तरिक युद्धले यतिसम्म गाउँ-गाउँ र जाति-जातिबीच वैमनश्य पैदा गरेछ कि विरोधी गाउँका साना केटाकेटी देखे पनि अर्को गाउँलेले गोली ठोक्न पछि पर्दारहेनछन् । उल्लिखित युवकहरूको गाउँमा पनि यस्तै भएछ । एक दिन ती युवकका दिदी जो गर्भवती पनि थिइन्, अर्को गाउँको आफन्त भेट्न जाँदा बाटामा सशस्त्र समूहको फेला परेछन् । हातहतियारले सुसज्जित लागूपदार्थसमेत सेवन गरेका ती युवाहरूले पहिला युवतीलाई खुब जिस्क्याएछन् र त्यसपछि संवेदनशील नारी-अङ्गमा समाउन थालेछन् । पछि एउटाले प्रश्न राखेछ- यस केटीको पेटमा छोरा होला कि छोरी ? हतियार बोकेका युवकहरूले कसैले छोरा कसैले छोरी होला भनी बाजी थापेछन् । बाजी कसले जित्ने भनेर बच्चा हेर्न उनीहरूले ती केटीलाई भुइँमा लडाइ एउटाले आफ्नो धारिलो चक्कु निकाली भुँडी चिरेर बच्चा निकालेछ । पीडाले आकाश थर्किने गरी कराएकी त्यस युवतीलाई त्यहाँ सहयोग गर्ने कोही पनि भएनछन् । केहीबेरमा बाजी जित्ने र हार्ने तय भएपछि ती युवतीलाई घर जा भनेर युवकहरूले छोडिदिएछन् । दुवै हातले बाहिर निस्किएको आन्द्राहरू समात्दै केही कदम अगाडि बढेपछि उनी ढलिछन् र उनको प्राण गएछ ।
ती काला युवकले आफूहरूले किन देश छोड्नुपर्‍यो र कुन हालतमा छोडनुपर्‍यो भन्ने सिलसिलामा मलाई यो घटना सुनाउँदा मेरा शरीरका रौं ठाडा भइसकेका थिए । त्यसभन्दा बढी सुन्न सक्ने क्षमता पनि मसँग थिएन ।
के बालक, के वृद्ध दुश्मन ठान्नेबित्तिकै मारिदिने त्यहाँको यथार्थले मलाई पनि काल्पनिक डरले सताएर्झैं भयो, किनकि नेपालमा पनि नबुझेका, परिणाम नदेखेका, नभोगेका नेताहरूले यसैगरी जातीय राज्य मागेर आन्दोलन गर्दै छन् । अझ आ-आफना जातका, क्षेत्रका सशस्त्र फौज पनि खडा गर्ने सोच राख्दै छन् । हिजो कम्बोडियामा युद्ध देख्दा नेपालमा एउटै देशका नागरिकबीच पनि यस्तो सशस्त्र युद्ध हुन सक्छ र जस्तो लाग्दथ्यो । तर, यस्तै युद्ध नेपालमा पनि भयो । हिजो अफ्रिकी मुलुकहरूमा राहत बाँड्न गएका सवारी साधन लुटिएको देख्दा नेपालमा त यस्तो के होला र ? भन्ने लाग्थ्यो, तर यहाँ पनि उपभोग्य सामग्री स्कर्टिङ गरेर आफ्नै मुलुकको एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन सुरु भयो । अब यो मुलुकमा लाइबेरियाकोझैं गाउँ-गाउँ र जाति-जातिबीच त के लडाइँ होला र भन्ने लागिरहेको छ, तर अब मलाई कसो-कसो लाग्न थालेको छ कि अब त्यो दिन पनि नजिक छ ।
कल्पना गरौँ त मधेसको राज्यले किरात राज्यमा जाने खाद्यान्न रोकिदियो ? अनि किरात राज्यको हालत के होला ? ताम्सालिङ राज्यलाई काठमाडौंको नेवा: राज्यले बाटो प्रयोग गर्न दिएन भने त्यसबखत ताम्सालिङको अवस्था के होला ? जब हामी जातिजाति र क्षेत्रक्षेत्रका आधारमा देश टुक्र्याउने कुरा गर्छौं त्यतिबेला गरिब मानसिकता बोकेका स्वार्थी नेताहरूले नबुझे पनि हामी नेपालीले भने के बुझ्न जरुरी छ भने देशको टुक्रासँगै सयौं वर्षदेखि चार जात छत्तीस वर्णको फूलबारी मानेर बसेका हामी नेपालीबीचको माया, स्नेह, श्रद्धा, विश्वास र मन पनि टुक्रने छ । पूरै मुलुकका मालिक भएका नेपालीले आफूलाई एउटा सानो इलाकाको मात्र मालिक ठान्नेछन् । आज हेरौं त जन्म दिने आमाबाबुसँग त छोराछोरी छुट्टएिर बसेका छन् भने एउटा जातजाति भनेकै भरमा तिनमा एकता होला त ? एकता जाति वा क्षेत्रको कारणले होइन देशको कारणले हुन्छ । त्यो देशमा बाबुसँगै छोराले पनि अर्को स्थान पाउँछ । पूर्व मेचीदेखि पश्चिम महाकाली उसको जमिन हो । हामीले मुलुक टुक्र्याउने होइन जोड्न बल दिनुपर्छ । यदि यसो गर्न नसके लाइबेरियाको महिलाको भुडी चिरिएझैं यहाँ पनि गाउँ-गाउँका मानिस एक-अर्काबाटै मारिने छन् । के जातीयता, सङ्घीयता, क्षेत्रीयता भन्दै मुलुक टुक्र्याएर गाउँ-गाउँबीच झगडाको बीउ रोपेर हामीले यहाँ पनि एक गर्भवती महिला अर्को गाउँमा जाँदा पेट चिर्ने अवस्था निम्त्याउन खोजेका हौँ ? स्वार्थी नेताहरूले यो कुरा नबुझेका होलान् तर नेपाली दाजुभाइ तथा दिदीबहिनी यो कुरामा गम्भीर हुन आवश्यक छ ।