नवलपरासीमा रसायनिक मल वितरण सुरु

नवलपरासीमा रसायनिक मल वितरण सुरु


  • संजय कुशवाहा, नवलपरासी

संघीय सांसद विनोद चौधरीको पहलमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा आएको रसायनिक मल वितरण सुरु भएको छ । सांसद चौधरीले नवलपरासीका किसानलाई लक्षित गरी लुम्बिनी प्रदेश सरकारअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत रासायनिक मल ल्याउन पहल गरेका थिए ।

सोअन्तर्गत जिल्लामा प्राप्त भएको ४२७.४ मेट्रीक टन रासायनिक मल जिल्लाका सबै पालिकामा वितरण गर्न सुरु गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का प्रमुख सन्तोष चौधरीले जानकारी दिए ।

पहिलो चरणमा सुस्ता प्रतापपुर र सरावल गाउँपालिकामा मल वितरण गरिने छ भने दोस्रो चरणमा अन्य पालिकामा रासायनिक मल वितरण गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । सांसद चौधरी नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि जनजिवीकासँग सम्बन्धित जनताका समस्या समाधान गर्ने उद्देश्यले यसअगावै जनसम्पर्क कार्यालय स्थापना गरी जनताको समस्या समधान गर्न लागेका छन् ।

यसैक्रममा बर्दघाट नगरपालिकाले प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा विजयी उम्मेदवारलाई शुक्रवार सम्मान गरेको छ । पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यतर्फ निर्वार्चीत विनोद चौधरी यसैगरी प्रदेश सभा सदस्यद्वय देवकरण प्रसाद कलवार (सन्तु) र विश्वप्रेम पाठकलाई संयुक्त रुपमा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद चौधरीले यस क्षेत्रको चौतर्फी विकासमा आफू दिनरात नभनिकन जनताको काममा हरदम क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गरे ।