सरकार गठनमा माओवादीद्वारा सबै विकल्प खुला, गठबन्धन छाड्ने वा तोड्ने विषयमा मौन

सरकार गठनमा माओवादीद्वारा सबै विकल्प खुला, गठबन्धन छाड्ने वा तोड्ने विषयमा मौन


नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज आइतबार २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । शनिबार पनि सो पार्टीको पदाधिकारी बैठक बसेको थियो । हिजोकै बैठकलाई आज पनि निरन्तरता दिन लागिएको हो ।

शनिबारको बैठकबाट माओवादीले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । पार्टी पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको हो ।

बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले दिएको जानकारीअनुसार यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । समीक्षामा अपेक्षा गरेअनुसारको नतिजा हासिल हुन नसकेका भन्ने सन्दर्भमा गम्भीर ढङ्गले विषयवस्तु उठेको छ ।

तर समग्रमा भने सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि मिहिन तरिकाले समीक्षा गर्ने निर्णय भएको बताइएको छ । उपाध्यक्ष महराका अनुसार हाल कायम रहेको गबठन्धनलाई पनि कायम राख्दै अन्य विकल्पमा पनि छलफल गर्न खुला रहेकामा जोड दिइएको छ । महराले भनेका छन्– ‘नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन छाड्ने भन्ने होइन, तर सरकार गठनका सम्बन्धमा भने सबै पक्षसँग खुलारूपमा छलफल गर्छौँ ।’ तर गठबन्धन छाड्ने वा तोड्ने भन्ने विषयमा कुनै धारणा नआएको जिकिर उनले गरे ।

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रतिनिधिसभातर्फ १७ स्थानमा जित हासिल गरेको छ भने प्रदेशसभामा ५३ स्थानमा विजयी भएको छ ।