प्रधानमन्त्री देउवाको चुनाव खर्च : मञ्च व्यवस्थापनमा २ लाख ३० हजार, अन्यमा ७ लाख १५ हजार ५ सय

प्रधानमन्त्री देउवाको चुनाव खर्च : मञ्च व्यवस्थापनमा २ लाख ३० हजार, अन्यमा ७ लाख १५ हजार ५ सय


  • डम्बर निदाल, डडेल्धुरा

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च डडेल्धुरामा प्रत्यक्षतर्फ २० मध्ये १४ जनाले बुझाएका छन् ।

जसमध्ये प्रतिनिधिसभातर्फ क्रमश: नेपाली काँग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार विक्रम बहादुर शाहीले २ लाख २ हजार १ सय ९०, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, राप्रपा उम्मेदवार गोबिन्द खडायतले ४ लाख ४० हजार र नेपाली काँग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले २ लाख ३० हजार मञ्च व्यवस्थापन तथा अन्यमा ७ लाख १५ हजार ५ सय निर्वाचनमा खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

यसैगरी प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा स्वतन्त्र उम्मेदवार डा. तारा प्रसाद जोशीले ३ लाख १९ हजार, नेकपा एमालेका उम्मेदवार गजेन्द्र शाहीले ८ लाख,स्वतन्त्र उम्मेदवार तेज बहादुर कठायतले २० हजार,स्वतन्त्र उम्मेदवार नवराज धिक्तले ६६ हजार २ सय ५०, जसपा उम्मेदवार नरभान पार्कीले ५० हजार, राप्रपा उम्मेदवार खेमराज पनेरुले ४ लाख ५० हजार, स्वतन्त्र उम्मेदवार धन बहादुर बोहराले १ लाख ६६ हजार ९सय, र राप्रपा उम्मेदवार पदमराज जोशीले ३ लाख ३५ हजार रुपैयाँ निर्वाचनमा खर्च भएको जनाएका छन् ।

निर्वाचन खर्च बुझाउने उम्मेदवारहरुमा कर्ण बहादुर मल्ल, गजेन्द्र शाही, तारा प्रसाद जोशी, बिक्रम शाही, गोबिन्द बोहरा र धन बहादुर बोहरा गरि ६ जनाले बैंकिङ कारोबार भएको विवरण बुझाएका छन भने अरुले नगद कारोबार भएको निर्वाचन कार्यालयमा पेश गरिएको कागजातमा उल्लेख गरिएको कार्यालयले जनाएको छ ।

मंगलवार सम्मको तथ्यांकमा निर्वाचनमा भएको खर्च बुझाउनेमा प्रतिनिधि सभा तर्फ कर्ण बहादुर मल्ल पहिलो र प्रदेश सभा तर्फ तेज बहादुर कठायत पहिलो विवरण बुझाउने उम्मेदवार रहेका छन भने प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फका प्रत्यक्ष र समानुपातिक तर्फका विवरण नबुझाएका अन्य उम्मेदवारले निर्वाचन निर्देशिका २०७९ को दफा ८०, उपदफा २ र ३ बमोजिम अनुसूचि ४०को ढाँचामा निर्वाचन परिणाम अन्तिम घोषणा भएको ३० दिन भित्र आयोगद्वारा स्वीकृत ढाँचामा आचार संहिताको परिपालना गरेको तोकिएको विषयमा पेश गरिसक्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।

हरेक राजनीतिक दलबाट बन्दसूचिमा रहेका समानुपातिक उम्मेदवारहरु मध्ये राप्रपा उम्मेदवार सरिता रैसालले मात्र २ लाख ४० हजार निर्वाचन खर्च भएको विवरण कार्यालयमा बुझाएका छन् ।

आयोगले मंसिर ४ गते सम्पन्न हुने आम निर्वाचनका लागि प्रतिनिपिधसभा सदश्यका लागि ३१ लाख र प्रदेश निर्वाचन क्षेत्रमा डडेल्धुराको क मा १९ लाख र ख मा २१ लाख प्रत्यक्ष तर्फका उममेदवारका लागि खर्च सिमा तोकेको थियो ।