जनताको आवाज पुर्याउने थलो संसद्मा आवाजहीन ब्यक्तिको प्रतिनिधित्व भयो भने उनले कसरी आफ्नो जिम्मेवारी पूरा गर्लान् ? यसपटकको संसदमा यो एउटा जिज्ञासाको विषय भएको छ ।
बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेर रुपन्देहीको क्षेत्र नं ३ बाट विजयी भएका राप्रपा सांसद दीपक बोहोराको अहिले बोली आउँदैन । चुनावका बेला आयोजित सभा-समारोहमा उपस्थित भएर हात जोडी जनतालाई अभिवादन गरे पनि उनले कसैसँग पनि बोलेर मत माग्न सकेका थिएनन् । मतदातासँग बिना भलाकुसारी र कुनै सभालाई बिना सम्बोधन विजय हासिल गर्नु नेपाल जस्तो ठाउँमा आफैमा आश्चर्यजनक कुरा हो ।
सामाजिक सञ्जालमा पल पलमा सन्देश प्रवाह गरेर चुनावी अभियान गर्नेहरूका अगाडि आवाज नसुनाइकन शान्त रूपमा विजय हासिल गरेर नेता बोहोराले जनताले चाहेमा नबोली पनि चुनाव जित्न सकिँदोरहेछ भन्ने सन्देश दिएका छन् ।
पारिवारिक श्रोतका अनुसार कोभिडका कारण नेता बोहाराको स्वर भासिएको थियो । सुरु-सुरुमा स्पष्ट आवाज नआएपनि उनले बोलेको कुरा बुझ्न सकिन्थ्यो । पार्टीका नेता, कार्यकर्ता र आफन्तहरूसँग अस्पष्ट आवाजमा कुराकानी हुन्थ्यो । अब स्वर आउला भनेर आशा गर्दागर्दै बिस्तारै स्वर भासिने क्रम बढ्दै गयो । त्यसैबीच स्पीच थेरापी पनि गरियो तर स्वर आएन । निर्वाचनका बेला उम्मेदवारी दिँदासम्म स्वर आउला भन्ने नै थियो तर आएन । चुनावीसभाहरूमा बोहोराको तर्फबाट अरुले नै बोले । पार्टीका नेता, कार्यकर्ताहरूसँगै उम्मेद्वारका रूपमा बोहोराको चुनावी दौडाहा, घरदैलोदेखि कोणसभा र आमसभासम्म भयो, तर उनले बोल्ने अवस्था भएन । नेता बोहोराले हात जोडेर मतदातालाई अभिवादन गरे तर बोल्न सकेनन् । कतिलाई उनको बोलीको बारेमा जानकारी भयो र कतिलाई भएन पनि । यसरी बिनाआवाज गृहमन्त्रीलाई पराजित गरेर उनी राप्रपाको सांसद बने ।
अब संसद्मा उनले कसरी कुराहरू राख्छन् ? उनका निकटवर्ती राजनीतिकर्मीका अनुसार, दुई वटा उपाय हुनसक्छ, पहिलो- आफूले लेखेर अरुले बोलिदिने, दोश्रो- आफ्ना कुरा लेखेर सिधै सभामुखसमक्ष राख्ने । र, उक्त कुरा रेकर्ड गर्ने ब्यवस्था सभामुखमार्फत संसद्ले गर्ने । नेपालको संसद्मा यस प्रकारको अभ्यास यसअघि भएको छैन । स्पीच थेरापी चलिरहेका कारण नेता बोहोराको स्वर आउन पनि सक्छ तर यदि स्वर अहिलेकै अवस्थामा रह्यो भने आवाज नआउनेहरूका लागि संसद्मा कुरा सुन्नेसुनाउने ब्यवस्था पहिलोपल्ट गर्नुपर्नेछ ।
प्रतिक्रिया