कहिलेसम्म रमाउने झुटको खेतीमा ?

कहिलेसम्म रमाउने झुटको खेतीमा ?


कुनै बिन्दुमा ‘प्राप्त हुने सबै पाइयो, थप केही बाँकी छैन’ भन्ने लागेमा त्यस बिन्दुपछिको प्रगति नै रोकिने छ । यदि घोडागाडीमा नै सन्तोष गरेको भए सुपर सोनिक विमान आउने थिएन । टेलीग्राफमै सन्तोष गरेको भए आज सेकेन्डभरमै संसारका कुनै पनि कुनामा संवाद कायम गर्न सकिने अवस्था आउने थिएन ।

– स्वयम्भुनाथ कार्की

उखानै छ बोल्नेको पिठो बिक्छ, आजको युगको यथार्थ पनि यही नै हो कि चर्को बोलले पिठोे अझ त्यो पनि सडेको व्यापारमा अग्रणी भएको छ । कुरो र कुलो जता लगाए पनि हुन्छ भनेझैँ झुट खुल्न लाग्यो भने विषयसँग असम्बन्धित कुनै कुरो उठाएर कुरो बटार्न पनि झुटका खेती गर्नेहरू दक्ष भइसकेका छन् । कुनै कुरालाई राम्रो वा नराम्रो भन्न त्यसको गुण दोष केलाउने हैन, आफ्नाले जेलाई राम्रो भनेका छन् त्यसलाई राम्रो र जेलाई नराम्रो भनेका छन् त्यसलाई नराम्रो भन्नु पर्दछ भन्ने मानसिकतामा साधारण मात्र हैन समाजका अग्रणी भएका बुद्धिजीवीहरू पनि छन् । कागले कान लग्यो भन्दा आफ्नो कान नछामी काल्पनिक कान खोस्न कागको पछाडि दगुर्नु आजका दिनमा अग्रगमन, प्रगति भएको छ । कसैले कान त आफ्नै ठाउँमा छ भनिदियो भने बरु त्यसलाई गाली गर्न रुचाइनु मुलुकको वर्तमान अधोगतिको एक कारक हो । यो प्रवृत्ति केवल नेपालमा मात्र भएको भने हैन, छरछिमेकमा पनि यस्तै कुरा देख्न पाइन्छन् ।

मानव स्वभावले नै असन्तोषी प्राणी हो, यो उसको कमजोरी नभइ खुबी नै हो । यो असन्तोष नभएको भए यत्रा आविष्कार हुने थिएनन् । कुनै बिन्दुमा ‘प्राप्त हुने सबै पाइयो, थप केही बाँकी छैन’ भन्ने लागेमा त्यस बिन्दुपछिको प्रगति नै रोकिने छ । यदि घोडागाडीमा नै सन्तोष गरेको भए सुपर सोनिक विमान आउने थिएन । टेलीग्राफमै सन्तोष गरेको भए आज सेकेन्डभरमै संसारका कुनै पनि कुनामा संवाद कायम गर्न सकिने अवस्था आउने थिएन । त्यसैले यो असन्तोष राम्रो कुरा हो, तर असन्तोषको भावना भड्काएर आफ्ना विगतलाई अस्विकार गराउने अनि आफूले आज चाहेको कुरा मात्र शाश्वत हो भन्ने छनक दिएर ठुलो हुन खोज्ने राजनीतिको चरित्रमा यदि समयमै बिराम लागेन भने मानव फेरि ढुङ्गेयुगतिर फर्कन बेर लाग्ने छैन ।

संयुक्त राज्य अमेरिका जो आज विश्वका प्राय: सबै स्थानका बासिन्दाको निमित्त सपनाको प्रदेश बनेको छ, त्यो कोलम्बसको समयमा कस्तो थियो भन्ने कुरा आज कसैले सोच्दैन । उन्नत सभ्यताको खानी भएको पूर्वीय भूभागको प्रतिनिधि भारत आवतजावत गर्न निमित्त समुद्री मार्ग खोज्नेक्रममा कोलम्बस बाटो अलमलिएर अमेरिका पुगेको इतिहास सर्वविदित नै छ । अमेरिका यो खोजबाट आफ्नो सभ्यता परिमार्जन गरेर वर्तमानमा विश्वको अग्रणी भूमिकामा पुग्यो भने भास्को डि गामाले भारतको बाटो खोजेपछि यस भूभागले आफ्नो नाम पनि गुमायो । आज भारतभन्दा इन्डियाको नामले विश्वमा बढ्ता चिनिन्छ । यहाँको रीतिथिति परम्परा जो केवल आजको भारतीय संघको मात्र नभएर यस उपमहाद्विपको नै थियो, त्यसको नाम समेत बदलिएर हिन्दू हुन पुग्यो । इतिहासमा कुनै समयमा चरम उत्कर्षमा पुगेका सभ्यताहरूमा रोमन सभ्यता त अब केवल इतिहासमा मात्र सीमित छ भने पूर्वीय सभ्यता पनि आफ्नो घिडघिडो गन्दैछ । शायद यो सभ्यताको चुलीपछि आउने ठाडो ढलान हो ।

भारतीय उपमहाद्विपमा मुगलहरूको आगमनपूर्वका सभ्यता तथा परम्पराहरू यस भेकका सम्पति थिए । यस कुराको उदाहरणको निमित्त माहाभारत ग्रन्थमा अनेकौँ दृष्टान्त छन् । छोरीको खुट्टा ढोग्ने र छोरीको साष्टाङ्ग दण्डवत लिने दुवै परम्परा यहाँका साझा थिए । आ-आफ्नो कुल परम्पराको चलन मान्ने र अर्काको नमाने पनि त्यसलाई सम्मान गर्ने समाजमा वर्तमानमा यति साह्रो विचलन पैदा गराइएको छ कि एकआपसमै ‘म तेरो हिस्सा हैन’ भन्ने कलह बढ्दो छ । पूर्वीय सभ्यता नै बहुआयामिक र विविधताको संगम हो जुनबेला यो तथ्यलाई अस्विकार गरिन्छ त्यसैबेला पूर्वीय सभ्यता विनासतिर लम्कन्छ ।

आज झुटको खेती गर्नेहरू सबैले यही नै गर्दैछन् । डमरु बजाएर त्रिशुल हातमा लिएर रमाउने, आफ्ना ग्रन्थमा किरातेश्वर भनेर भनिएकाको उपसना गर्नेहरूले किरातले हामी अलग हौँ भन्नेवित्तिकै अलग मान्ने हो भने के तिनलाई किरातेश्वरको अर्चना गर्ने वैधानिकता छ ? विष्णुको नवौँ अवतारको रूपमा बुद्धको पुजा गर्नेहरूले के बुद्धमार्गी हाम्रा हैनन् भन्न हुन्छ ? सोच्ने फुर्सद कसैलाई छैन, आफ्नै अंग भएका यी सभ्यता तथा परम्पराहरूलाई ॐकार परिवारका भनेर साथ लिने प्रयत्न हुनु ठिक जस्तो लाग्ला तर ठिक भने हैन । सबै हामीमध्यकै हौँ भन्ने सत्य मनन कहिले गर्ने ?