गोरखामा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न

गोरखामा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न


क्यान्सर रोगको निदान र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ स्थापित सामाजिक संस्था राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेसनले भक्तपुर क्यान्सर अस्पतालसमेतको आयोजनामा गोरखामा विशेष क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न गरेको छ ।

शनिबार गोरखा नगरपालिकाको वडा नम्बर ७, डण्डीडाँडामा आयोजित ‘क्यान्सर स्क्रिनिङ परीक्षण शिविर’मा १ सय ३९ जना महिलाहरूको पाठेघर तथा स्तन परीक्षण गरियो ।

उक्त शिविरमा भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक डा. सुजाता विष्टसहित १२ जनासम्मिलित स्वास्थ्यकर्मीको टोलीले महिलाहरूको स्वास्थ्य परीक्षण गरेको फाउण्डेसनका अध्यक्ष जनार्दन आचार्यले जानकारी दिए ।

स्वास्थ्य शिविर पूर्व गोरखा नगरपालिका वडा नं. ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले शिविर आयोजकहरूलाई धन्यवाद दिँदै महिला दिदीबहिनीहरूलाई आफ्नो स्वास्थ्यप्रति सजग र सचेत रहन आग्रह गरे ।

फाउण्डेसनका अध्यक्ष जनार्दन आचार्यले क्यान्सर स्क्रिनिङ शिविरको औचित्यमाथि प्रकाश पार्दै संस्थाले मुलुकका विभिन्न स्थानमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराए ।

राष्ट्रिय वाणिज्य बैंकको सौजन्यमा संचालित स्वास्थ्य शिविरमा भक्तपुर क्यान्सर अस्पतालले बिरामीहरूलाई नि:शुल्क औषधि वितरण गरेको बताइएको छ ।