सांसद बन्नुभएन ?

सांसद बन्नुभएन ?


नेपालको राजनीतिमा विचार अहिले करिव-करिव शून्य अवस्थामा पुगेको छ । प्राय: सबै राजनीतिक दलमा विचार निर्माण या आदानप्रदान भन्दा बढी ब्यक्तिगत लान्छनामा रमाउनेहरू छन् । राजनीतिलाई पेशा ठान्नेहरूको सङ्ख्या दिन-प्रतिदिन बढ्दो छ ।

– बबिता बस्नेत

‘तपाईंले भनेर मैले मुलुकका सातै प्रदेशको भूगोल, जनसङ्ख्या, विगतको राजनीतिक समिकरणलगायतको अध्ययन गरेँ, नेताहरूको स्वार्थका कारण आखिर समानुपातिकमा परिनँ, दु:ख मात्रै भयो ।’ एउटा राजनीतिक दलमा आवद्ध राजनीतिकर्मीले चुनावअघि आफू समानुपातिकबाट सांसद हुने करिब-करिब पक्कापक्की झैँ भएको भनी यो पङ्क्तिकारसँग कुरा गर्दा भावी सांसदका रूपमा उनले गर्नुपर्ने पूर्वतयारीका बारेमा केही सुझाव दिएकी थिएँ । उक्त सुझावअनुरूप आफूले गरेको तयारी खेर गयो भन्दै उनले यही २०७९ साल मङ्सिर २६ गते सोमबार आफू समानुपातिकमा नपरेकोमा आक्रोशसहित नेताहरूको प्रवृत्तिलाई लिएर लामो गुनासो गरिन् । राजनीति गर्ने मान्छेले यस्ता सामान्य कुरा त सांसद भएपनि नभएपनि थाहा पाइरहनुपर्छ भन्दै उनलाई राजनीतिको फराकिलो संसारमा रहेर नेता, सांसद, पार्टी, सांसद सबैतिर नजर राख्दै जनताको हितमा आवाज बुलन्द गर्दै काम गर्नका लागि अर्को सुझाव दिएँ ।

आफू सांसद बन्छु भन्ने कुरामा करिब-करिब ढुक्क राजनीतिकर्मीहरू सांसद नबन्दा निराश हुनु स्वभाविक हो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ आफ्नो उम्मेद्वारी दिँदै गर्दा र समानुपातिकतर्फ उम्मेद्वारीको फर्म भर्दै गर्दा विभिन्न राजनीतिक दल आवद्ध र स्वतन्त्र गरी १४ हजार ५ सय ७२ जना नेपाली नागरिकले आफू यो मुलुकको सांसद भएको परिकल्पना गरेका थिए । उनीहरूमध्ये सङ्घीय र मुलुकका सात वटै प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ८ सय २५ जनाको मात्रै सपना पूरा भएको छ । बाँकी १३ हजार ७ सय ४७ जनामाथि निश्चय नै अहिले कुनै न कुनै प्रकारको निराशा छाएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ सिटका लागि ३ हजार २ सय २४ र सात वटा प्रदेशसभामा २ सय २० सिटका लागि २ हजार ४ सय १२ जनाले उम्मेद्वारी दिएका थिए ।

यसैगरी समानुपातिकमा विभिन्न राजनीतिक दलले सबैतिर गरी साढे ६ हजारको नाम सिफारिस गरेका थिए । प्रदेशसभाहरूमा प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय ५० गरी ५ सय ५० जना, प्रतिनिधिसभामा प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ र राष्ट्रियसभामा ५९ गरी जम्मा ८८४ जनप्रतिनिधिहरू रहने संवैधानिक ब्यवस्था छ । मुलुकमा कुनै न कुनै रूपले राजनीतिमा संलग्न हुनेहरूको सङ्ख्या ठुलो छ । ती राजनीतिकर्मीमध्ये कतिले टिकटै नपाएर दु:ख मानेका थिए भने कतिचाहिँ टिकट पाएर र समानुपातिकमा नाम परेर पनि सांसदसम्म पुग्न सकेनन् । चुनावी प्रतिस्पर्धाको लडाइँमा पुष्पा भुसाल जस्तो जल्दोबल्दो आशलाग्दो नेतृले पराजय भोग्नुपर्‍यो भने सांसदमा महिला र दलितको मुद्दामा सधैं आवाज उठाउने पार्वती विशङ्खे जस्ता राजनीतिकर्मीले सांसदसम्म पुग्ने बाटोबाटै अलग हुनुपर्‍यो । ओहो… यो मान्छे त आउनैपथ्र्यो जस्तो लाग्ने धेरै राजनीतिकर्मीहरू प्रतिस्पर्धामा पछाडि परे ।

सन् २०१३ मा दोश्रोपटक संविधानसभाको निर्वाचनका बेला भारतमा आम आदमीको चर्चा भइरहँदा हाम्रो देशमा भने ‘दाम आदमी’को चर्चा शिखरमा थियो । अहिले आम आदमी भारतमा जनतालाई राहत दिने पार्टीका रूपमा स्थापित भइसकेको छ । हामी समानुपातिकका नाममा अकस्मातै दाम आदमीहरूको राजनीतिक सहभागितालाई लिएर उस्तै अवस्थामा छौँ । अहिले सबै दलहरूले समानुपातिकबाट आफ्ना सांसदहरू चुनिसकेका छन् र त्यही निहुँमा प्राय: सबै दलमा ब्यापक असन्तुष्टी समेत पैदा भएको छ । यो असन्तुष्टिले के के रूप लिने हो, कहाँ कहाँ गएर कसरी पोखिने हो त्यो भने हेर्न बाँकी नै छ । केहीलाई छाडेर प्राय: सबै दलमा केही सङ्ख्यामा दाम आदमीहरू समानुपातिकमा परेकाले प्रतिनिधित्व हुनैपर्ने आम आदमीहरूले प्रवेश पाएनन् । चुनावका बेला प्रत्यक्षतर्फका मात्र नभइ समानुपातिकका उम्मेद्वारहरू समेत गाउँ-गाउँमा पुगेर आ-आफ्ना दललाई भोट मात्र मागेनन् आफूसँग भएको दुई-चार पैसा खर्चसमेत गरे । समय मात्र खर्च गर्नेलाई खासै गाह्रो नभए पनि पैसासमेत खर्च गरेर चुनावमा होमिएका मध्ये धेरैलाई ‘बेकारै गरेछु’ भन्ने लागिरहेको छ । कुराकानी गरिएकाहरू मध्ये धेरैले त्यस्तै प्रतिक्रिया दिने गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीलाई पछाडि परेका समुदायलाई अगाडि ल्याउनका लागि उपयुक्त निर्वाचन प्रणाली मानिन्छ । तर हाम्रोजस्तो मुलुकमा यो निर्वाचन प्रणाली अपनाउँदा धेरैले अपमानित महसूस गर्नुपरेको छ ।

केही अघिसम्म यो मुलुकमा एकै थरीका सांसद थिए, उम्मेद्वार सांसद या भनौँ हुनेवाला सांसद तर अहिले तीनथरी सांसदहरू छन्– झसा, हासा र साँसा, झसा अर्थात् झण्डै सांसद, हासा अर्थात् हारेका सांसद र साँसा अर्थात् साँच्चिकै सांसद । साँच्चिकै सांसदहरू अब सांसद भइ नै सके कुरै भएन, चुनावमा पराजय भोगेकाहरूले प्रत्यक्ष रूपमै भोगे र अब मानसिक रूपले तयार भएर आ–आफ्नो भूमिकामा जुट्ने कोशिसमा छन् तर झण्डै सांसद भएकाहरू मध्ये धेरैलाई अहिले ‘फ्रष्ट्रेसन’ भएको छ । समानुपातिक निर्वाचन प्रणालीलाई पछाडि परेका समुदायलाई अगाडि ल्याउनका लागि उपयुक्त निर्वाचन प्रणाली मानिन्छ । तर हाम्रोजस्तो मुलुकमा यो निर्वाचन प्रणाली अपनाउँदा धेरैले अपमानित महसूस गर्नुपरेको छ । समानुपतिकका लागि दलहरूले पूरै सङ्ख्यामा नामहरू पेश गर्नुपर्ने हुँदा कुन नामले कतिसम्म प्रभाव पार्न सक्छ भनी खोजी-खोजी नामहरू पेश गरिन्छ । राख्ने बेलामा नेताका पारिवारिक सदस्य र निकटवर्तीहरूलाई प्राथमिकता दिने गरिएको छ ।

मन्त्री, प्रधानमन्त्री त आफ्नो ठाउँमा छँदैछ, राजनीतिमा संलग्न हरेक मानिसलाई कम्तिमा एक पल्ट सांसद बन्ने चाहना हुन्छ । यस्तो चाहना स्वभाविक भएपनि सम्भावना भने कमै हुन्छ । सबैले पद प्राप्त गर्नु सम्भव छैन, त्यसैले राजनीतिलाई पदभन्दा बढी उत्तरदायित्वसँग जोडेर हेर्ने गरिएको हो । राजनीति पदभन्दा बढी उत्तरदायित्व हो, विचार हो । विचार निर्माण गर्न र उत्तरदायित्व बहन गर्न या जवाफदेहिता स्थापित गर्न सांसद भइरहनु पर्दैन । पार्टीको नेता या कार्यकर्ता मात्रै भएर पनि मुलुक र जनतालाई दिनसक्ने कुराहरू धेरै छन् । सबैभन्दा ठुलो जिम्मेवारी त पदमा पुगेकाहरूलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्नु हो । राजनीति आफ्नो मुलुक र जनतालाई समृद्ध गर्ने रणनीति पनि हो । दार्शनिक प्लेटोले दिमाग चलाउन सक्नेहरू राजनीतिमा र साहसिला मानिसहरू सुरक्षा क्षेत्रमा जानुपर्ने बताएका थिए । तर हामीकहाँ दिमाग चलाएर विचारसँग खेल्ने मानिसहरू कम र ब्यक्तिगत आकाङ्क्षा पुर्ति गर्ने चाहनाका मानिसहरू बढी राजनीतिमा छन् । जसका कारण राजनीति पद प्राप्तिमा अल्झिएको छ ।

नेपालको राजनीतिमा विचार अहिले करिव-करिव शून्य अवस्थामा पुगेको छ । प्राय: सबै राजनीतिक दलमा विचार निर्माण या आदान प्रदान भन्दाबढी ब्यक्तिगत लान्छनामा रमाउनेहरू छन् । राजनीतिलाई पेशा ठान्नेहरूको सङ्ख्या दिन-प्रतिदिन बढ्दो छ । राजनीतिलाई गरिखाने ठाउँ नभइ विभिन्न पेशामा सफल र देशलाई केन्द्रमा राखेर सोच्ने मानिसहरूको आवश्यकता भएपनि त्यस्ता मान्छेहरू आउन सकिरहेको अवस्था थिएन । यस पटकको संसदीय निर्वाचनबाट यसको सुरुवात भने भएको छ । अहिले सांसद हुन नसकेका राजनीतिकर्मीहरूले महत्वपूर्ण खम्बाको रूपमा रहेर आफ्नै दलभित्र सुधार गर्नुपर्ने कुरा धेरै छन् । राजनीतिलाई हेर्ने दृष्टिकोणमा बदलावबाटै यसको सुरुवात गर्नु उपयुक्त हुन्छ । सांसदको भन्दा सांसद नहुने राजनीतिकर्मीहरूको दायरा थप फराकिलो र भूमिका झनै विशाल छ ।