काभ्रेपलाञ्चोक बस दुर्घटना : मृतकको सङ्ख्या १८ पुग्यो, २१ घाइते

काभ्रेपलाञ्चोक बस दुर्घटना : मृतकको सङ्ख्या १८ पुग्यो, २१ घाइते


काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् ।

गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो । अधिकारीका अनुसार घाइते सबैलाई उपचारार्थ बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पुर्‍याइएको छ ।

अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो । मृतकको अझै पहिचान हुन सकेको छैन ।

गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बस तीव्र गतिमा रहेको जानकारी दिए । बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो ।