सरकार गठनको गणितीय स्थिति

सरकार गठनको गणितीय स्थिति


सरकार गठनमा निर्णायक मत बन्ने प्रचण्डको सपना साकार नभए पनि माओवादीबिना एमाले या काङ्ग्रेसलाई बहुमत जुटाउन मुस्किल पर्ने अवस्था भने कायम रहेको छ ।

हाल काङ्ग्रेसका कुल सदस्य सङ्ख्या ८९ मा माओवादीको ३२, समाजवादीका १०, लोसपा ४, सीके रावतका ६, नागरिक उन्मूक्ति पार्टीको ४, जनमोर्चाका १ र स्वतन्त्र ३ गरी जम्मा १४९ सांसद वर्तमान सत्ता गठबन्धनको पक्षमा जुट्ने विश्वास सत्तापक्षले गरेको छ । त्यसमा जसपाका १२ सांसद पनि थपिए भने सत्ता पक्षमा संसद्को कुल २७५ मध्ये १६१ सांसद रहने छन् । तर जसपा आफैं अनिर्णयको अवस्थामा रहेकोले सत्तापक्षमा कति सांसद रहने भन्ने यकीन भइसकेको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवासमक्ष समर्थनको प्रस्ताव राखेका भए पनि देउवा सकेसम्म गठबन्धनकै सरकार बनाउने र प्रमुख विपक्षीको भूमिकामा एमालेलाई यथावत रहन दिने मानसिकतामा रहेका छन् । एमालेले केही दिनअघि मात्र देउवालाई सरकार गठन गर्न बाहिरबाट समर्थन दिने सन्देश दिएको थियो ।

माओवादीले देउवाको साथ छोडेको स्थितिमा पनि समाजवादीका दश सांसद आफ्नो पक्षमा उभिने विश्वास देउवाले गरेका छन् । माओवादी भड्किएको अवस्थामा काङ्ग्रेसका ८९ मा समाजवादीका १०, राप्रपाका १४, लोसपाका ४, नागरिक उन्मूक्तिका ४, सीके रावतका ६ सहित कुल १३९ सांसद सङ्ख्या पुर्‍याएर सरकार गठन गर्न सक्ने अवस्थामा शेरबहादुर रहेका छन् । तर प्रचण्डले जतिसुकै बार्गेनिङ गरे पनि माओवादीले वर्तमान सत्ता गठबन्धन नतोड्ने विश्वास गरिएको छ ।