दलको नेता चयन गर्न उपेन्द्रलाई महासकस !

दलको नेता चयन गर्न उपेन्द्रलाई महासकस !


संसदीय निर्वाचनमा पराजित भएपछि जसपा नेता उपेन्द्र यादव ठूलो सकसमा परेका छन् । आफ्नो पराजयमा भारतको हात देख्ने यादवले एमालेसँगको चुनावी गठबन्धन पनि उपयुक्त नभएको ठहर गर्दै सत्ता गठबन्धनमा सामेल हुने सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर यादवको अभिव्यक्तिलाई ‘निजी विचार’ भन्दै जसपा नेता एवम् सांसद अशोक राईले सत्ता गठबन्धनमा सामेल हुन नसक्ने सङ्केत दिएका छन् ।

एमालेको विशेष सहयोगमा सुनसरीको धरान क्षेत्रबाट विजयी अशोक राई अब केपीको आज्ञाविपरीत कुनै पनि महत्वपूर्ण निर्णय नलिने मानसिकतामा रहेको बुझिन्छ । पार्टीका वरिष्ठ नेता राईले संसद्मा प्रवेश पाएपछि उनको उचाइ ह्वात्तै बढेको छ र, उनी उपेन्द्रभन्दा केपीप्रति कृतज्ञ रहने स्थितिमा छन् । कुल १२ जना सांसद रहेको जसपा संसदीय दलमा वरियताका आधारमा दलको नेता अशोक राईले पाउनुपर्ने हुन्छ । तर आफ्नो भन्दा अर्कै पार्टीका नेताको आदेशअनुरुप चल्ने भएपछि उपेन्द्र अशोकलाई दलको नेता बनाउन नहुने निष्कर्शमा पुगेको बताइन्छ ।

अर्का जुझारु युवा नेता राजकिशोर यादवमाथि पनि उपेन्द्र विश्वस्त हुन सकेका छैनन् । राजकिशोरलाई माथि उठाउँदा उनले कतै आफूलाई विस्थापित नै गरिदिने हुन् कि भन्ने चिन्ता उपेन्द्रमा देखिन्छ । अशोक राई र राजकिशोर यादवबाहेक अरु कसैलाई दलको नेता चयन गरिए तत्काल पार्टीमा भाँडभैलो हुने अवस्था छ । त्यसैले उपेन्द्र यादव यतिबेला आफ्नो राजनीतिक जीवनकै सबभन्दा अप्ठ्यारो स्थितिको सामना गरिरहेका छन् । उनले परिपक्व र स्वीकार्य निर्णय लिन सकेनन् भने जसपामा विभाजनको रेखा तत्काल कोरिन सम्भव छ ।

जसपाका १२ सांसदहरूमा अशोक राई, राजकिशोर यादव, सुशीला श्रेष्ठ, रामसहाय यादव, प्रदीप यादव, दीपक कार्की, रामबाबु साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, रेखा यादव, शहनाज बानु र प्रकाश अधिकारी रहेका छन् ।