गगनको पक्षमा आफ्नोसहित दुई मत !
नेपाली काङ्ग्रेसको संसदीय दलमा शेरबहादुर देउवा सर्वाधिक बलवान देखिएका छन् । कुल ८९ सांसदहरूमध्ये ५६ जनाको साथ देउवालाई रहने बुझिएको छ । छपन्न जनामा प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि रहेका छन् । कुल ३३ सांसद देउवाको विपक्षमा रहेको बताइन्छ । तेत्तीसमध्ये २२ सांसद डा. शेखर कोइरालाको पक्षमा उभिने विश्वास गरिएको छ । नौ सांसदमध्ये अधिकाङ्श रामचन्द्र पौडेलको पक्षमा र केही डा. सशांक कोइरालाको समर्थनमा रहेका छन् ।
प्रधानमन्त्री बन्ने भनी ब्यापक हल्ला गरिएका गगन थापाको समर्थनमा हालसम्म एकजना (विश्वप्रकाश शर्मा) मात्र देखिएका छन् । त्यसैले काङ्ग्रेस संसदीय दलको नेता पदमा देउवाको चयन सजिलैसँग हुन सक्ने अवस्था छ । देउवाको प्रस्तावक र समर्थकमा नेताहरू प्रकाशमान सिंह र विमलेन्द्र निधि रहने बुझिएको छ ।
देउवालाई टक्कर दिन संसदीय दलमा डा. शेखर कोइराला अघि सर्ने निश्चितप्राय: छ । डा. कोइरालाले आफ्नो बाइस मतमा केही थप गर्ने विश्वास गरिन्छ । डा. कोइरालाले संसदीय दलको नेतामा उम्मेदवारी दिएको स्थितिमा गगनले उम्मेदवारी देलान् या के गर्लान् भन्ने यकीन छैन । न्यून मत पाएर बेइज्जत हुनुभन्दा शेखरलाई समर्थन गरेर इज्जत बचाउने प्रयास गगनबाट हुनसक्ने अनुमान काङ्ग्रेसका धेरैले गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन देउवालाई रहने बताइन्छ । पौडेल आफैं प्रधानमन्त्री या राष्ट्रपति बन्न इच्छुक भएपनि उनका निम्ति परिस्थति अनुकुल बन्न सकेको छैन । नेपालको राष्ट्रपतिबारे नेपाल नै निर्णायक रहने अवस्थामा पौडेल, प्रकाशमान र मानबहादुर विश्वकर्मामध्ये एकले राष्ट्रपतिको जिम्मेवारी पाउने विश्वास गर्न सकिन्छ । अन्यथा काङ्ग्रेसले राष्ट्रपति नपाउने निश्चित छ ।
प्रतिक्रिया