पुरानै अनुहारको नयाँ सरकार पाउन एक महिना प्रतीक्षा गर्नुपर्ने

पुरानै अनुहारको नयाँ सरकार पाउन एक महिना प्रतीक्षा गर्नुपर्ने


ठूला पदमा सबैको दाबी !

सबै पुराना दल र तिनका नेताहरूलाई रक्षात्मक अवस्थामा पुर्‍याएको भए पनि उनीहरू आफ्नो सोच, शैली र संस्कारमा परिवर्तन ल्याउन कदापि तयार नभएको सङ्केतहरू देखिएका छन् । पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा छैठौँ पटक प्रधानमन्त्री बन्न प्रयासरत छन्, उनी रामचन्द्र पौडेल, प्रकाशमान सिंह या डा. शेखर कोइरालालाई देशको नेतृत्व हस्तान्तरण गर्ने कुराको कल्पनासम्म गर्न सक्दैनन् । होस रहँदासम्म सत्ताको मालिक बनिरहने पुरानो संस्कारलाई देउवाले निरन्तरता दिइरहेका छन् । उमेरले आफूभन्दा वरिष्ठ, प्रजातान्त्रिक आन्दोलनमा आफूले भन्दा बढी योगदान पुर्‍याएका, प्रष्ट बोली र भिजन भएका रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउनेबारे देउवाले सोच्नसम्म पनि सकेका छैनन् । उनले ‘सल्लाह गरौँला’ भन्दै पौडेललाई अल्मल्याइरहेको जानकारी प्राप्त भएको छ ।

त्यस्तै, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने सोचमा पनि देउवा छैनन् र, पूर्णबहादुर खड्काको पुस्तालाई जिम्मेवारी बढाउने मानसिकतामा पनि देउवा रहेको बुझिँदैन । त्यसभन्दा तलको उमेर समूहकाले प्रधानमन्त्रीको जिम्मेवारी पाउन कम्तिमा डेढ दशक प्रतीक्षा गर्नुपर्छ भन्ने बुझाइ देउवाको छ । त्यसैले काङ्ग्रेसले सरकारको नेतृत्व गर्न पाउँदा देउवा नै एक मात्र हकदार रहेको काङ्ग्रेस सांसदहरूको गणितीय सङ्ख्याले पनि देखाएको छ ।

काङ्ग्रेसमा यतिबेला समकालिन पुस्ताका रामचन्द्र पौडेल, नयाँ पुस्ताका डा. शेखर कोइराला, प्रकाशमान सिंह र पूर्णबहादुर खड्कालाई सम्भाब्य प्रधानमन्त्रीका रूपमा हेर्न थालिएको छ । पूर्णबहादुर खड्काले सात वर्षअघि नै आफू मन्त्री नबन्ने सार्वजनिक घोषणा गरेका थिए । काङ्ग्रेस पार्टीको महामन्त्री रहेका गगन थापाका बारेमा पार्टीबाहिरकाहरूलाई ठूलो भ्रम रहे पनि पार्टीभित्र उनलाई अहिले पनि विद्यार्थी नेताकै कोटिमा राखेर हेरिन्छ । गगनले डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गरेका भए त्यसलाई काङ्ग्रेसमा स्वभाविक रूपमा लिइन्थ्यो । आफैं प्रधानमन्त्री बन्ने बताएर गगनले बाहिरी संसारमा आफ्नो उचाइ बढेको ठानेका भए पनि काङ्ग्रेसभित्र उनलाई ‘अति महत्वाकाङ्क्षी केटो’का रूपमा लिइएको छ । गगनलाई सकारात्मक ढङ्गले लिने नेताहरूमा विश्वप्रकाश शर्मा बाहेक कोही पनि देखिएका छैनन् । गगनभन्दा धेरै वरिष्ठ नेताहरू एनपी सावद र चन्द्र भण्डारी तथा त्यसपछिको पुस्ताका बद्री पाण्डे, धनराज गुरुङ र प्रदीप पौडेलहरू पनि यसपटक प्रतिनिधिसभामा पुगेका छन् । उनीहरू कसैमा पनि गगनमा झैँ उत्ताउलोपन देखिएको छैन ।

गगनले प्रधानमन्त्री बन्ने हल्ला चलाएर आफ्नो मन्त्री बन्ने बाटो पनि आफैंले छेकेका छन् । त्यसैले गगन अब प्रधानमन्त्री होइन, मन्त्री बन्न पनि मुस्किल देखिएको छ । काङ्ग्रेस संसदीय दलमा तीनबाट चार मत जुटाउने हैसियत नभएका गगनले प्रधानमन्त्री बन्ने हल्ला किन चलाएका हुन्- आश्चर्यको विषय मानिएको छ ।

प्याकेजमा सहमति बनिसकेपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने भएकोले पुरानै अनुहारको नयाँ सरकार पाउन पनि देशले करिब एक महिना प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।

सत्ता गठबन्धनका नेताहरूको बैठकले गत साता विद्यमान गठबन्धनलाई यथावत राख्ने निर्णय गरेको भए पनि सरकारको नेतृत्वका विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन । माओवादी अध्यक्ष प्रचण्ड आफैं प्रधानमन्त्री बन्न अग्रसर भएका छन् । अलिकति जोडबल लगाउँदा देउवा डराएर पछि हट्लान् र प्रधानमन्त्री पद आफूलाई हस्तान्तरण गर्लान् कि भन्ने आशामा प्रचण्डले सरकारको नेतृत्वमा दाबी गरेको बताइन्छ । उनले देउवालाई तर्साउनकै लागि ‘वामपन्थी एकता र बाम गठबन्धनको सरकार’को नारा दिन पनि भ्याएका छन् । एमालेका केही नेता र माओवादीका केहीले वामपन्थी गठबन्धनको सरकार निर्माणका निम्ति पहल पनि गरिरहेका छन् । केपीलाई प्रधानमन्त्री बनाएर अगाडि जान प्रचण्ड तयार नभएको र प्रचण्डलाई सरकारको नेतृत्व दिने पक्षमा केपी नरहेकोले तत्काल वाम गठबन्धन र उनीहरूको सरकार बन्न भने निकै मुस्किल देखिन्छ । त्यसैले अन्तत: पहिले देउवा प्रधानमन्त्री बन्ने गरी आलोपालो प्रधानमन्त्री बन्न देउवा र प्रचण्डबीच सहमति हुने सम्भावना अधिक छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष र महत्वपूर्ण मन्त्रालयहरूको भागबण्डामा सहमति भइसकेकपछि मात्र नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने बुझिएको छ । राष्ट्रपति पदमा काङ्ग्रेस, माओवादी र लोसपाले आ–आफ्नो दाबी पेस गर्ने स्थिति बनेको भए पनि यसमा बलियो दाबी लोसपाको रहने देखिएको छ । काङ्ग्रेसमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र मानबहादुर विश्वकर्मालाई सम्भावित राष्ट्रपतिका रूपमा हेरिएको छ भने माधव नेपाल समूहका झलनाथ खनालले पनि राष्ट्रपति दाबी गरेका छन् । माओवादीमा राष्ट्रपतिका निम्ति उपयुक्त पात्र नदेखिए पनि माओवादीले नन्दकिशोर पुन या अग्नि सापकोटा जस्ता पात्रहरूलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने सम्भावना नरहेको होइन । तर परिस्थिति झलनाथ खनाल, नन्दकिशोर पुन र अग्नि सापकोटाहरूको पक्षमा देखिँदैन । त्यसैले महन्थ ठाकुर राष्ट्रपति, काङ्ग्रेस या माओवादीका कुनै नेता उपराष्ट्रपति, एकीकृत समाजवादीलाई राष्ट्रियसभाका अध्यक्ष, माओवादी या काङ्ग्रेसका कुनै नेतालाई सभामुख र नेकपा एमालेलाई उपसभामुख दिने गरी सहमति बन्ने सम्भावना छ ।

त्यस्तै मन्त्रालयमध्ये अर्थ काङ्ग्रेसले नछोड्ने र गृह माओवादीले लिने गरी सहमति बन्ने स्थिति छ । डा. शेखर कोइरालाले चाहेमा उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ भने कोइराला अनिच्छुक भएमा उक्त मन्त्रालयका निम्ति डा. प्रकाशशरण महतलाई निर्विकल्प ठानिएको छ । उपप्रधानमन्त्रीको हैसियतसहित मन्त्रालय लिन चाहेमा रामचन्द्र पौडेललाई रक्षाको जिम्मेवारी दिइने सम्भावना छ । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी जनाउने सम्भावना छ । तर प्रचण्डलाई नजिकबाट चिन्नेहरूले प्रचण्डबाट जनार्दन शर्मा या शक्ति बस्नेत मार्काका नेताको हातमा गृह सुम्पने कार्य हुनसक्ने अनुमान गरेका छन् । प्याकेजमा सहमति बनिसकेपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने भएकोले पुरानै अनुहारको नयाँ सरकार पाउन पनि देशले करिब एक महिना प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।