शपथ खान नपाउँदै प्रतिनिधिसभामा निर्वाचित तीन जना सांसद कानुनी झमेलामा फसेका छन् । निर्वाचनको मतगणनामा धाँधली र नागरिकता प्रकरण छानबिनबारे उनीहरुविरुद्ध सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर भएका हुन् ।
निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । उक्त अन्तिम परिणाम बिहीबार राष्ट्रपतिसमक्ष पेस हुनेछ । केही दिनमा सांसदहरूलाई शपथ पनि खुवाइँदै छ । तर, शपथ ग्रहण गर्नुपूर्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट सांसद निर्वाचित रवि लामिछानेविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
लामिछानेको नागरिकता विवादमाथि प्रहरीले अनुसन्धान गरिरहेकाले उनलाई शपथ नगर्न नगराउन माग गर्दै रिट परेको हो । उनीविरुद्ध युवराज लामिछानेले बुधबार सो रिट दर्ता गरेका हुन् ।
यस्तै, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि पुन: मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । धनुषा क्षेत्र नम्बर ४ मा मतगणनाका क्रममा धाँधली हुँदा आफू झिनो मतान्तरले पराजित भएको भन्दै यादवले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार रघुवीर महासेठविरुद्ध रिट दायर गरेका हुन् ।
कांग्रेस सहमहामन्त्री यादव एमाले सचिवसमेत रहेका महासेठसँग मात्र १२४ मतले पराजित भएका थिए ।
यसैगरी, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समेत पुन: मतगणनाको माग गर्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका छन् । इलाम क्षेत्र नम्बर १ मा मत गणनाको क्रममा निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुन: मतदान गर्न माग गर्दै खनालको तर्फबाट रिट दायर भएको हो ।
सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । बस्नेत २५ हजार ७५३ मत ल्याएर निर्वाचित हुँदा खनालले २३ हजार ८९ मत ल्याएका थिए ।
प्रतिक्रिया