ठण्डीको मारमा मुगुका पहिरोपीडित

ठण्डीको मारमा मुगुका पहिरोपीडित


मुगुमा गत असोज २४ गतेसम्म परेको अविरल वर्षापछिको पहिरोका कारण ३३ गाउँ पहिरोको उच्च जोखिममा परेपछि स्थानीयवासी बासस्थानबाट विस्थापित भएका छन् ।

बाढीपहिरोका कारण विस्थापित भएपछि यतिबेला छायाँनाथ रारा नगरपालिकास्थित चार गाउँका स्थानीयहरु जंगलमा त्रिपाल हालेर बसेका छन् । चिसो मौसम र त्रिपालभित्रको बसाइले नागरिकको जनजीवन कष्टपूर्ण बनेको छ ।

अविरल वर्षापछिको बाढीपहिरोले मुगुका झयारी, सिगाडि, घुइर, तल्लो सालिमका विभिन्न गाउँबस्तीमा ठूलो जनधनको क्षति भएको थियो । बाढीप्रभावित क्षेत्रमा सरकारले राहत र पुनर्स्थापनामा जोड दिन नसक्दा यतिबेला मुगुका नागरिक बिचल्लीमा परेका हुन् ।

दिनहुँ बढ्दो चिसोमा पालभित्रको बसाइले तल्लो सालीमका ६२ घरधुरीका नागरिकलाई सास्ती भएको छ । चिसौ मौसम र पालभित्रको कष्टपूर्ण बसाइले नागरिक बिरामी हुन थालेका छन् । स्थानीयमा आँखा पाक्ने, पेट दुख्ने, टाउको दुख्ने लगायतका समस्या देखापर्न थालेको स्थानीय बेलधरा कुमाइले जानकारी दिइन् ।

एक साता लामो झरीका कारण छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिकाका र मुगुमा कामारोग गाउँपालिकाका विभिन्न बस्तीहरूमा ठूलो क्षति पुगेको थियो । भौतिक संरचनादेखि बालीनालीसम्म सखाप भएको थियो ।

पहिरोको प्रभावले विद्यार्थीको पठनपाठनमा समेत समस्या निम्तिएको छ । पहिरोमा परेर सालिमा गाउँमा आठ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । ७ सय ४३ घर पूर्णरूपमा भत्किँदा अहिले पाँच हजारभन्दा बढी मानिस घरबारविहीन भएका छ्न् ।

बाढी/पहिरोपछि कर्णालीका तीन जिल्लालाई संकटक्षेत्र घोषणा त गरिएको छ तर संकटक्षेत्रमा राहत र उद्धारको कुनै पनि काम हुन सकेको छैन । सोही कारणले नागरिक विचल्लीमा पर्दै आएका छन् ।