तीन परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर

तीन परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर


भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा महत्वपूर्ण सामुदायिक विकास परियोजना अघि बढाउन नेपालस्थित भारतीय राजदूतावास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार उदयपुर जिल्लामा श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, सोलुखुम्बु जिल्लामा न्गोङ्गा थेन्चोक छोलिङ्ग ध्यान केन्द्रको निर्माण र धादिङ जिल्लामा लिस्नेखोला टिकासुङ दाङचेत झार्लाङ खानेपानी परियोजनाको निर्माण गरिने छन् । यी तीन परियोजना कूल अनुमानित १० करोड १७ लाख लागतमा कार्यान्वयनमा ल्याइने बताइएको छ ।

उल्लिखित तीन परियोजनाहरूको निर्माणपछि सम्बन्धित स्थानीय समुदायका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधा तथा सुरक्षित खानेपानी उपलब्ध हुनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुग्नेछ ।

ज्ञातव्य छ, सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभावी सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७६ वटा परियोजना सम्पन्न भइसकेका छन् ।