सङ्घर्षका कथा : ‘हिम्मतवाली आमा डम्बर कुमारी’ र ‘समय चक्र’

सङ्घर्षका कथा : ‘हिम्मतवाली आमा डम्बर कुमारी’ र ‘समय चक्र’


कृति परिचय

पत्रकार यशोदा तिम्सिनाद्वारा सम्पादित दुई वटा पुस्तक ‘हिम्मतवाली आमा डम्बर कुमारी’ र ‘समय चक्र’ सार्वजनिक भएका छन् । दुवै पुस्तक संस्मरणात्मक जीवनी हुन् । ‘हिम्मतवाली आमा डम्बर कुमारी’ गृहणीआमाको कथा हो जहाँ एक जुवा घाम, खड्का मुखिया, हजुरआमा, रहर, दौरा सुरुवाल, मावली घर, निडर लिडर, बुबाको माया, बिदाइ, मेरो घरचाहिँ खै ?, मौकाको फाइदा, पश्चाताप, इर्ष्या, अनि म आमा भएँ, सुत्केरी हुँदाको अनुभव, दु:ख, छोरा र छोरीमा विभेद, गोठजस्तै घर, तीन सय सत्तरी, मुद्दा, ब्यापार, चुनाव, बज्र, पिर, माघ २८, पुकार, छोरी अन्माएँ, कर, गुँड, छोराछोरीको कर्म, घुमफिर र सन्तान सुख उपशीर्षकमा डम्बर कुमारी तिम्सिनाले भोग्नुभएका वास्तविकताहरू समेटिएका छन् । गृहणीको रूपमा जीवन बिताउनुभएकी उहाँले जीवनको विभिन्न कालखण्डमा भोगेका वास्तविकतालाई घोष्ट राइटिङमार्फत लिपिबद्ध गर्नुभएको छ । डम्बर कुमारी सम्पादक यशोदा तिम्सिनाकी आमा हुनुहुन्छ ।

पुस्तकको भूमिकामा पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँसकोटाले पुस्तक कुनै स्थापित लेखकले रचना गरेभन्दा कम नभएको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ- ‘यो पुस्तक मानवशास्त्रीले लेखेको प्रतीत हुन्छ ।’ जीवनमा आफूले भोगेका अनेक आरोह-अवरोह, खुशी र दु:खहरू समेटिएको यो पुस्तकले तात्कालिन समाजमा हुने गरेका घटना र सोचको प्रतिनिधित्व गर्छ । यसैगरी लेखक कुञ्जका अध्यक्ष कमल ढकालले पुस्तकलाई सामान्य मान्छेको असामान्य कथा भनी परिभाषित गर्नुभएको छ भने भूमिका लेखक सरु सुवेदीको विचारमा पुस्तक समाज हेर्ने आँखीझ्याल हो । राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्तसमेत रहेकी छोरी यशोदा तिम्सिनाले लेख्नुभएको छ- ‘मेरी आमालाई मैले चिन्न सकेको रहेनछु भन्ने कुराको आभास आमाकै पुस्तक पढेपछि भयो । मेरी आमाको सङ्घर्ष, चेतना र सोचबारे मैले केही भन्नै पर्दैन, पुस्तक पढेपछि नै थाहा हुन्छ ।’

सार्वजनिक जीवनमा रहेर विभिन्न भूमिका निर्वाह गरेका मानिसहरूको मात्रै पुस्तकका रूपमा संस्मरण र जीवनीहरू प्रकाशित हुने गरेको सन्दर्भमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ एउटा उदाहरणीय पुस्तक हो ।

यसैगरी यशोदा तिम्सिनाकै सम्पादनमा प्रकाशित अर्को पुस्तक ‘समय चक्र’ प्रा. राधादेवी शर्मा चालिसेको जीवनी हो । त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गर्नुभएकी राधा शर्मा महिला तथा मानवअधिकारकर्मी हुनुहुन्छ । एउटी उच्च शिक्षित महिलाले समेत हाम्रो समाजमा कसरी घरेलु तथा अन्य हिंसाको सिकार बन्नु परिरहेको छ भन्ने कुराको ज्वलन्त उदाहरणका रुपमा राधा शर्माको अनुभव सार्वजनिक भएको छ । ‘श्रीमान्को जुठो बारुँ कि नबारुँ नानी ?’ शीर्षकबाट सुरु भएको उहाँको सङ्घर्षको कथा क्रान्ति, आमाको दु:ख, सरेको दु:ख, तीर्थ, अडान, शिवपुरी बाबा, रहर, घर घरजस्तो भएन, मुडुलो टाउको, स्कुलका कुरा, खुशी, कलेज, राजनीतिमा रुचि, एक अनौठो संयोग, एसओएस बालग्राम, अङ्ग्रेजीको डर, राष्ट्रिय विकास सेवा, कटुन्जे, मिठो नमिठो, मलाई पछ्याउने मान्छेलगायतका ४८ उपशीर्षकमा बाँधिएर सार्वजनिक भएका छन् ।

‘समय चक्र’ एउटी कामकाजी महिलाको सङ्घर्ष, दु:ख, पीडा र सफलताको कथा हो । पुस्तकमा राधा शर्माले भन्नुभएको छ- ‘आजकाल मलाई आफै देखेर लाग्न थालेको छ, जीवन समयको एक चक्र रहेछ । समयको चक्रमा कहिले एक्लै हिँड्नुपर्ने रहेछ । कहिले परिवार, साथीभाइ र कहिले को हुने रहेछ । जन्मदा एक्लै र मर्दा एक्लै भन्ने मात्र होइन मान्छे त भीडमा पनि एक्लै र एक्लैमा पनि भीडसँग हिँडिरहेको हुँदोरहेछ ।’ पुस्तकको भूमिका प्रा.डा. विद्यानाथ कोइराला र बन्दना राणाले लेख्नु भएको छ । बन्दनाले लेख्नु भएको छ- ‘पितृसत्ता विरुद्ध राधा शर्माको आवाज, लैङ्गिक समानताका लागि उहाँले गर्नुभएको पैरवी र नयाँ पिँढीलाई उहाँले गर्नुभएको मार्गनिर्देश सबैका लागि अनुकरणीय छ र रहिरहनेछ ।’