मोरक्कोको पराजयसँगै विश्वकपमा क्रोएसियालाई तेस्रो स्थान

मोरक्कोको पराजयसँगै विश्वकपमा क्रोएसियालाई तेस्रो स्थान


मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसियाले कतार फिफा विश्वकप २०२२ मा तेस्रो स्थान हासिल गरेको छ ।

खलिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को जिभार्डिओल र मिस्लाभ ओर्सिचले एक एक गोल गरे । मोरक्कोको लागि अचराफ डारीले एक गोल फर्काए ।

पहिलो हाफको ९ मिनेटमै दुई गोल हुँदा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर, पहिलो हाफमा तीन गोल भएपनि दोस्रो हाफमा थप गोल हुन सकेन ।

खेलको सातौँ मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । इभान पेरिसिकको पासलाई जोस्कोले हेड गोल गरे । पहिलो गोल भएको दुई मिनेटपछि नै अचराफले हेडमार्फत बराबरी गोल गरेका थिए । ४२औं मिनेटमा ओर्सिचले गोल गर्दै खेलमा क्रोएसियालाई विजयी बाटो डोर्‍याएका थिए ।

जितसँगै सन् २०१८ को उपविजेता क्रोएसियाले कतार विश्वकपमा तेस्रो स्थानमै चित्त बुझाएको छ । पहिलो पटक सेमिफाइनल पुग्ने अफ्रिकन राष्ट्र बनेको मोरक्को चौथो स्थानमा रह्यो ।

आइतबार हुने फाइनलमा खेलमा दुई पटका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । खेलतालिका अनुसार लुसेल मैदानमा पौने ९ बजे खेल हुनेछ ।