कांग्रेस कार्यसम्पादन समितिको बैठक पनि आजै
नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ ।
माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले जानकारी दिए।
माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।
यस्तै, सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ ।
प्रतिक्रिया