भोजपुरका दिवशको जापानमा मृत्यु

भोजपुरका दिवशको जापानमा मृत्यु


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

टोकियोको सुगिनामी वार्डअन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवश राई गएराति मृत अवस्थामा फेला परेका छन् ।

भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा नं ४ घर भइ रोजगारीको सिलसिलामा विगत १३ वर्षदेखि जापान रहिआएका र हाल श्रीमतीसहित बस्दै आएका राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

राति साढे ११ बजे श्रीमती कामबाट फर्कंदा राई मृत अवस्थामा भेटिएका र लगत्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रहरीले जिम्मा लिएलगत्तै आवश्यक सोधपुछ र अनुसन्धानपछि राईको शव पोष्टमार्टमका लागि अस्पतालमा लगिएको बुझिएको छ ।

राईको मृत्युको कारण पोष्टमार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । दिवंगत राईकी सात वर्षीया छोरी नेपालमै रहेकी छन् ।