photo: rss
प्रचण्ड नै प्रधानमन्त्री पदका स्वाभाविक दाबेदार रहेको माओवादीको दाबी
नेपाली कांग्रेसले आगामी सरकार आफ्नै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धन दलहरूसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि आइतबार राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये प्रतिनिधिसभा सदस्य पदमा सर्वाधिक सिट हासिल गरेको दलका हैसियतले कांग्रेसले नेपालको संविधानको व्यवस्था बमोजिम सरकारको नेतृत्वको दाबी गरेको जनाएको छ ।
यसैगरी बैठकले कांग्रेस संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वको समितिमा पार्टीका केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही सदस्य रहेका छन् ।
आइतबारको बैठकले कांग्रेसको विधान, नियमावली तथा कांग्रेस प्रदेश संसदीय दलको विधानको व्यवस्थाबमोजिम प्रदेश संसदीय दलको नेता एवं प्रदेश संसदीय दल कार्यसमितिको निर्वाचनसम्बन्धी प्रक्रिया प्रारम्भ गर्न सातवटै प्रदेश कार्यसमितिलाई निर्देश गर्ने निर्णय गरेको छ । प्रदेशमा पार्टीले सरकारको नेतृत्व गर्ने वा सरकारमा सहभागी हुने वा अन्य दललाई समर्थन गर्ने वा नगर्ने लगायतका विषयमा कांग्रेसको विधानको धारा १३ (७) (ठ) बमोजिम केन्द्रसँग समन्वय गरी आवश्यक प्रक्रिया प्रारम्भ गर्न प्रदेश कार्यसमितिलाई निर्देशन गरेको छ ।
शपथग्रहणपछि मात्रै माओवादी सरकार गठन प्रक्रियामा सहभागी हुने
नेकपा (माओवादी केन्द्रले) प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण भएपछि मात्रै सरकार गठनलगायतका प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।
माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको हो ।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र दिए पनि पद तथा गोपनीयताको शपथ भने भएको छैन । सङ्घीय संसद्को बैठक आह्वान नभइकन शपथ ग्रहण हुने अवस्था छैन । आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई भने बुझाइसकेको छ ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका अनुसार गठबन्धन दलका बीचमा भएको छलफलका आधारमा प्रमुख पदहरुमा बाँडफाँट हुनेछ । यसपटक माओवादीले आफ्नो नेतृत्वमा नै गठबन्धनको सरकार बनाउने दाबी गरेको र प्रचण्ड नै प्रधानमन्त्री पदका स्वाभाविक दाबेदार रहेको उनको भनाइ छ ।
प्रतिक्रिया