केपीको चक्रब्यूहमा प्रचण्ड, देउवा ढुक्क !

केपीको चक्रब्यूहमा प्रचण्ड, देउवा ढुक्क !


प्रचण्ड बाधक बनेको अवस्थामा बाँकी सबैको साथ समर्थन लिएर अघि बढ्ने रणनीतिक योजना देउवाले बनाएका छन् । केपीले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्ने विश्वास गरिएको छैन, त्यसैले खेल्दाखेल्दै अन्तत: प्रचण्ड नै पाखा परे भने कुनै आश्चर्य हुनेछैन।

राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री दाबी गर्न सात दिनको समय-सीमा दिएपछि दलहरूमाथि दबाब बढेको छ । राष्ट्रपतिको आह्वानपछि दलका नेताहरूले गृहकार्यमा तीव्रता दिएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बनेरै छोड्ने अठोट गरेपछि कस्तो र कसको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ भन्ने विषयमा अन्यौल थपिएको छ। निर्वाचन परिणाम आएलगत्तै निरास बनेका प्रचण्डले शेरबहादुर देउवासङ्ग भेटी सरकारको नेतृत्व लिन आफ्नो गणितीय हैसियत नभएको स्पष्ट गर्दै प्रधानमन्त्रीमा दाबी नरहने सङ्केत दिएका थिए । तर विभिन्न ब्यक्ति र शक्तिकेन्द्रहरूको उक्साहटपछि प्रचण्ड अहिले आफै प्रधानमन्त्री बन्ने खेलमा लागेका छन् । काङ्ग्रेसको समर्थन नमिले केपी ओलीको साथ लिएर भएपनि आफै प्रधानमन्त्री बन्ने गृहकार्यमा प्रचण्ड जुटेपछि शेरबहादुर देउवा पनि माओवादीबिनाको सरकार गठन गर्ने उपायको खोजिमा लागि परे ।

सरकारको नेतृत्व लिने प्रतिष्पर्धामा देउवा र प्रचण्ड मात्र लागेको देखिन्छ, तर सत्ताको खेलमा एमाले अध्यक्ष केपी शर्मा ओली निकै चतुर्‍याइँपूर्वक आफ्नो पासा फ्याँक्दै छन् । ओलीले शेरबहादुर देउवालाई आफ्नो नेतृत्वमा सरकार गठन गर्न सुझाव दिँदै बाहिर बसेर आफूहरूले समर्थन दिने वचन दिएका छन् भने उता माओवादीसङ्ग पनि उनले सम्वाद जारी राखेका छन् । प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न केपी तयार रहेको सन्देश एमाले नेता बिष्णु पौडेललगायतले दिएपछि प्रचण्ड आफू प्रधानमन्त्री बन्नेमा विश्वस्त बनेका हुन् । पौडेलको सन्देशलाई प्रचण्डले केपीको वास्तविक इच्छाका रुपमा ग्रहण गरेका छन् । एमाले नेताबाहेक कतिपय बाह्य शक्तिकेन्द्रले समेत प्रचण्डलाई प्रधानमन्त्री दाबी गर्न ‘प्रोत्साहन’ गरिरहेको बुझिन्छ। विभिन्न सूत्रहरूले अलिकति गृहकार्य गर्दा प्रधानमन्त्री बन्ने सम्भावना रहने बताइदिएपछि प्रचण्डमा हौसला थपिएको हो ।

केपीले शेरबहादुर देउवा र प्रचण्ड दुवैलाई अलग अलग किसिमले ‘वचन’ दिएर दुवैलाई अलमल्याएका छन् । दुईमध्ये एउटाले धोखा पाउने निश्चितप्राय: छ, तर यतिबेला दुवैथरी नेताहरू केपीको प्रभावमा आएका छन् । यसो गर्दा सरकार बन्न विलम्ब हुने, परस्पर अविश्वास बढेर आफ्नो विरूद्धको गठबन्धन टुट्ने, जनस्तरमा देउवा र प्रचण्डको बदनामी थपिने र, अन्तत: आफ्नै नेतृत्वमा सरकार गठन गर्न पाउने परिस्थिति निर्माण हुने अपेक्षा केपीबाट भएको हुनसक्ने अनुमान उनको भूमिकालाई निकटबाट हेरिरहेकाहरूले गरेका छन् । तर केपीले यतिबेला आफ्नै नेतृत्वमा सरकार गठनको निम्ति प्रयास गरिरहेका छन् भन्ने सङ्केतसम्म दिएका छैनन् । देउवा र प्रचण्डबीच अन्तरविरोध बढाउँदै त्यसलाई उत्कर्षमा पुर्‍याउन सकियो भने आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आउनसक्छ भन्ने सायद केपीले मात्र बुझेका छन् ।

एमाले अध्यक्ष केपीले काङ्ग्रेस र माओवादी दुवैतिर खेलिरहेका छन् भन्ने कुराको सङ्केत शेरबहादुर देउवाले पाएका छन् । त्यसैले माओवादीबाट धोखा भयो भने कसरी आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भन्ने रणनीतिक गृहकार्यमा देउवा केही दिनअघिदेखि नै सक्रिय थिए । उनले माओवादी र एमालेको समर्थनबिना पनि कसरी सरकार गठन गर्न सकिन्छ भन्ने गृहकार्य केही दिनअघि नै सुरु गराएका थिए ।

यसक्रममा राप्रपा, जसपा, नागरिक उन्मूक्ति, जनमत, स्वतन्त्र र साँच्चैका स्वतन्त्र सांसदहरूसङ्ग एक चरणको वार्तालाप काङ्ग्रेसले गरिसकेको छ । माओवादी र केपीसङ्गको सम्वाद यथावत राख्दै देउवाले गैह्रबामपन्थी सरकार गठनको निम्तिसमेत प्रयास गरेको जानकारी केपी र प्रचण्ड दुवैले पाएका छन् । तर जसपाका अशोक राई केपीसङ्गको समझदारीमा मात्र अगाडिको कदम चाल्ने स्थितिमा रहेको, राप्रपाका राजेन्द्र लिङ्देन केपीलाई छोड्नसक्ने अवस्थामा नरहेको र, नागरिक उन्मूक्ति पार्टीका दुई सांसद केपीप्रति नतमस्तक रहेकोले गैह्रबामपन्थी सरकार गठन गर्ने सफलता देउवालाई मिल्ने ठानिएको छैन । तथापि देउवा आफ्नै नेतृत्वमा सरकार गठन गर्न सकिन्छ भन्नेमा ढुक्क छन् ।

माधव नेपाल समूहको साथ आफैलाई मिल्ने विश्वासमा देउवा रहेका छन् । माधवका दस सांसदमध्ये पाँच जनाले आफ्नो साथ नछाड्ने देउवाले ठानेका छन् । राष्ट्रपति र प्रधानमन्त्री पद माओवादीलाई दिएर सम्झौता गर्ने मानसिकतामा देउवा रहेको बुझिँदैन । कुनै हालतमा प्रचण्ड लाइनमा नआएको स्थितिमा केपीसङ्ग सम्झौता गर्नुपर्ने भएमा भने राष्ट्रपति र प्रधानमन्त्री पदको भागबण्डा हुने देखिन्छ। देउवा आफ्नो अडानमा दृढ छन्, तर उनले बहुमत जुटाउने कसरी हुन् अझै पनि स्पष्ट भइसकेको छैन ।

काङ्ग्रेस संसदीय दलमा ८९ मध्ये कम्तिमा ५३ देखि ५६ सांसदको समर्थन देउवालाई रहने भएकोले काङ्ग्रेसबाट प्रधानमन्त्री बन्दा देउवा नै बन्ने निश्चित छ । प्रचण्ड बाधक बनेको अवस्थामा बाँकी सबैको साथ समर्थन लिएर अघि बढ्ने रणनीतिक योजना देउवाले बनाएका छन् । केपीले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्ने विश्वास गरिएको छैन, त्यसैले खेल्दाखेल्दै अन्तत: प्रचण्ड नै पाखा परे भने कुनै आश्चर्य हुनेछैन।