बेल्जियमको लुभेन नगरपालिका परिषद्सदस्यमा ढकाल

बेल्जियमको लुभेन नगरपालिका परिषद्सदस्यमा ढकाल


  • सनत आचार्य, बेल्जियम

बेल्जियमको लुभेन नगरपालिकाको नगरपरिषद् सदस्यमा नेपाली मुलका सूर्य ढकाल छानिएका छन् । ढकालले गत सोमबार लुभेनको ऐतिहासिक टाउनहलमा परिषद् सदस्यका लागि शपथ लिएका छन् । स्थानीय भोराउत पार्टीमा आवद्ध भइ शपथ लिएका ढकाल बेल्जियममा पार्टीगत रूपमा शपथ लिने पहिलो प्रवासी नेपाली भएका छन् । यसअघि लुभेनकै कृष्ण क्षेत्री (सगुन) पनि नगरपरिषदको सदस्यमा चयन भएपनि विविध कारणले पार्टीगत नभइ स्वतन्त्र व्यक्तिका हैसियतमा शपथ लिएका थिए । ढकालले सपथ लिएसँगै लेभेन नगरपालिकाको परिषद् सदस्यमा दुई जना प्रवासी नेपालीको प्रवेश भएको छ ।

सन् २०१८ को स्थानीय निर्वाचनमा एसपीआ पार्टी (हालको भोराउत)बाट उम्मेदवारी दिएका ढकालको जन्मघर स्याङ्जा आँधिखोला–६ थापरथुम हो । उनी विगत २० वर्षदेखि लुभेन शहरमा बस्दै आएका छन् ।

प्रवासमा भएपनि नेपाल र बेल्जियमको सामाजिक क्षेत्रमा क्रियाशील ढकाल सन् २०१४ देखि एसपीआ पार्टीमा आबद्ध थिए । २०१८ अक्टोबरमा सम्पन्न स्थानीय निर्वाचनमा १२ जना नगरपरिषद् सदस्यका लागि ४७ जनाले उम्मेदवारी दिएका थिए । यीमध्ये ढकाल एक थिए । उनी १ सय ११ मतले पराजित भइ निकटतम् प्रतिद्वन्द्वी बने ।

निर्वाचित नगरपरिषद् सदस्य डेनिस भान्दरभुर्त उमेरका कारण सेवानिवृत्त भएपछि रिक्त नगरसदस्यमा निकटतम् प्रतिद्वन्द्वीका रूपमा ढकाल छनौट भएका हुन् ।

नगरपरिषदको सपथ लिएसँगै ढकालले पछिल्लो समयमा बेल्जियममा नेपाली समुदायको बसाइ बाक्लिँदै गएकोमा आफू नेपाली समुदायको हकहितका लागि विशेषरूपले अझ बढी क्रियाशील रहने बताएका छन् । लुभेन शहरमा धेरै नेपाली मूलका मानिसहरू बस्ने भएकोले आफ्नो प्राथमिकता नेपाली समुदायको पहिचानका लागि भएको उनको भनाइ छ ।

ढकालले वर्तमान नेपाली समुदायमा एकता र सद्भावको आवश्यकता रहेको हुँदा सामाजिक एकताका लागि प्रयासरत रहने बताए । उनले पछिल्लो समयमा बेल्जियममा नेपाली युवाहरूको खेलकुदप्रति आकर्षण बढ्दै गएकोले यो क्षेत्रमा नेपाली युवाहरूलाई समाबेस गराउन सके युवाहरू अगाडि बढ्न सक्ने र यसका लागि आफूले खेल र खेल मैदानको व्यवस्था गर्ने जानकारी दिए ।

त्यस्तै, उनले नेपाल र नेपालीपनलाई चिनाउन निश्चित स्थानको स्थापना र चौतारोसमेत निर्माण गर्ने उल्लेख गर्दै भने, ‘जे सक्छु समाजका लागि राम्रो गर्छु, नभए गर्दै गर्दिनँ ।’

शपथ ग्रहण कार्यक्रममा राजदुत गेहेन्द्र राजभण्डारी, गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।