पौडेल राष्ट्रपतिमा जान तयार, उहाँलाई राष्ट्रपति बनाउन काङ्ग्रेसका आमनेता तथा कार्यकर्ता पनि तयार, गठबन्धन पनि सहमत भएको वर्तमान अवस्थामा काङ्ग्रेसभित्रका केही व्यक्तिको लालच, स्वार्थ र अपारदर्शी खेलले पौडेललाई राष्ट्रपति वा प्रधानमन्त्री हुन मात्र रोकेको छैन बामगठबन्धन बन्न सक्ने वैकल्पिक परिस्थिति निर्माण पनि गरिदिएको छ ।
- त्रिभुवनचन्द्र वाग्ले

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देखिएको अन्यौलले वर्तमान गठबन्धनको भविष्य अन्यौलग्रस्त मात्र देखिएको छैन, त्यसको औचित्यमाथि पनि प्रश्न उठेको छ । संविधानको रक्षा र पूर्ववर्ती सरकारको सर्वसत्तावादको अन्त्य गर्न गठबन्धन बनाइएको दाबी गर्ने दलहरूले निर्वाचनपछि मूलत: सरकार गठनको सन्दर्भमा एकले अर्कोलाई गरेका गलाउने र हराउनेजस्ता रणनीतिले परिस्थिति थप तरल बनेको छ । नेपाली काङ्ग्रेसले विशिष्ट परिस्थितिमा अन्तरपार्टी विद्रोह गरेर नेपाल कम्युनिष्ट पार्टीबाट भिन्न भएका नेपाल कम्युनिष्ट पार्टी माओेवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको व्यवस्थापनमा राजनीतिक कौशल देखाउनु आवश्यकता छ । त्यसका लागि काङ्ग्रेस नेतृत्व उदार र तार्किक हुनपर्ने छ, तर सरकार गठनमा देखिएको अन्यौल काङ्ग्रेस नेतृत्वका कारण नै आएको स्पष्ट छ ।
निर्वाचनपछि गठबन्धन सरकारको नेतृत्व नेपाली काङ्ग्रेस र नेकपा माओवादीले आलोपालो गर्ने गरी गरिएको सहमति सर्वजनीन सत्य हो । मत संरचना, गठबन्धनको रक्षा र आगामी सहमतीय राजनीतिक यात्राका लागि पनि यी दुई दलको आलोपालो नेतृत्व आग्रहलाई अन्यथा भन्न मिल्दैन । ठूलो दल र निर्वाचनको सफल नेतृत्व गरेकाले नेपाली काङ्ग्रेसले आलोपालोको पहिलो खेपको नेतृत्वका लागि आग्रह गर्छ भने पनि त्यति अस्वाभाविक भन्न मिल्दैन । पूर्वीवर्ती सरकार एमाले नेतृत्वबाट झस्किएको माओवादीले पहिलो खेपको नेतृत्वको लागि दावी गर्नु र त्यस्तो अवसर नपाए भोलि के हो, के हो भन्ने शङ्का पाल्नु पनि अन्यथा होइन । यी सब राजनीतक विश्वास र अविश्वासबाट उब्जेका र यसै आधारमा समाधान गर्न सकिन परिस्थिति हुन् ।
माओवादी र सामाजवादीले नेपाली काङ्ग्रेसलाई राष्ट्रपतिलगायत प्रदेशमा पनि स्वाभाविक नेतृत्व गर्न दिने बताएका छन् । काङ्ग्रेसले राष्ट्रपति र पहिलो खेपको प्रधानमन्त्री आफैले राख्ने अडान लिएकाले परिस्थिति धमिलिन पुगेको बताइएको छ । राज्यका प्रभावी सबै पद काङ्ग्रेसलाई दिएर गठबन्धनका अर्का ठुला दुई माओवादी र समाजवादीले आत्मसमर्पण गर्दैनन् भनेर काङ्ग्रेस नेतृत्व स्पष्ट हुनुपर्छ । यस्तो आत्मसमर्पण गर्ने भए उनीहरूले पार्टी विभाजनजस्ता जटिल बाटोको यात्रा गर्ने थिएनन् ।
यथार्थलीय कोणबाट विश्लेषण गरेर काङ्ग्रेसले राष्ट्रपति र दोस्रो खेपको प्रधानमन्त्री लिने गरी वर्तमान राजनीतिक गाँठो फुकाउन सक्छ । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरू नेपाली काङ्ग्रेसलाई राष्ट्रपति दिन तयार रहेको बताउँदै आएका छन् । सभामुख लगायत प्रदेश मुख्यमन्त्रीमा सहमति गरेर अघि बढ्न सकिन्छ तर काङ्ग्रेस नेतृत्वले आजसम्म कुनै निकास दिएको छैन ।
प्रचण्ड र नेपालले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा हार्दिकताका साथ स्वीकार गर्न सकिने जानकारी दिइसकेका छन् । समकालीन नेपाली राजनीतिमा योगदान, समर्पण, स्वच्छ छवि र प्रजातन्त्रकाप्रतिको प्रतिबद्धताका दृष्टिले वरिष्ठ नेता रामचन्द्र पौडेल प्रथम स्थानमै पर्नुहुन्छ । राष्ट्रपतिको पदीय गरिमा जोगाउनु पर्ने वर्तमानका अनुभवको पृष्ठभूमिमा पनि पौडेललाई अन्य दललगायत काङ्ग्रेसका आमनेता तथा कार्यकर्ताले राष्ट्रप्रमुखको भूमिकामा देख्न चाहेका छन् । पौडेल आफैले भने निर्वाचनदेखि आफूलाई कार्यकारी प्रमुखको भूमिकामा जाने इच्छा जाहेर गर्नुभएको जगजाहेर नै छ तर वरिष्ठ नेता पौडेलले राजनीतिक गाँठो फुक्छ भने आफू राष्ट्रपतिमा जाने सक्ने सङ्केत पार्टी र गठबन्धनका अन्य नेतालाई दिइसक्नुभएको छ ।
पौडेल राष्ट्रपतिमा जान तयार, उहाँलाई राष्ट्रपति बनाउन काङ्ग्रेसका आमनेता तथा कार्यकर्ता पनि तयार, गठबन्धन पनि सहमत भएको वर्तमान अवस्थामा काङ्ग्रेसभित्रका केही व्यक्तिको लालच, स्वार्थ र अपारदर्शी खेलले पौडेललाई राष्ट्रपति वा प्रधानमन्त्री हुन मात्र रोकेको छैन बामगठबन्धन बन्न सक्ने वैकल्पिक परिस्थिति निर्माण पनि गरिदिएको छ । बाम गठबन्धन भएमा राज्यका सबै प्रभावी पददेखि प्रदेश सभामा पनि नेपाली काङ्ग्रेसले आगामी सबै सम्भावना गुमाउने छ । काङ्ग्रेसको वर्तमान निर्णायक भूमिका पनि कमजोर हुनसक्छ ।
वरिष्ठ नेता पौडेलले गठबन्धनको सुरक्षाका लागि प्रचण्डलाई पहिलोखेपको प्रधानमन्त्री बनाएर आफू दोस्रोखेपको प्रधानमन्त्री हुन पनि तयार रहेको जनाउ दिनुभएको छ । ‘विश्वास हो, राजनीतिमा विश्वास नगरी हुँदैन, सबैभन्दा ठूलो कुरा गठबन्ध तोडिनु हुँदैन, अन्य कुरा व्यवस्थापन गर्न सकिन्छ, मात्र इमान्दारीको सवाल हो’, पौडेलले आफू निकटस्थहरूसँग भन्नुभएको छ । सबै दृश्यको अवलोकन गर्दा प्रचण्डलाई रोक्ने नाममा पौडेललाई रोक्ने प्रवृत्ति देखिएको छ । सवाल पौडेललाई कहाँ राक्ने भन्ने होइन काङ्ग्रेसले के-के गुमाउने भन्ने हो ।
अहिले स्वाभाविक निकास दिन पौडेललाई राष्ट्रपति र प्रचण्डलाई प्रधानमन्त्री बनाउनुकोे विकल्प छैन । काङ्ग्रेस सभापति शेरबहादुर देउवा आफै राष्ट्रपतिमा जान चाहने हो भने पनि पौडेलले आफू दोस्रो खेपको प्रधानमन्त्री हुन तयार रहेको भन्दै देउवाको बाटो खुला गरिदिनुभएको छ । त्यसका लागि समग्रमा विश्वासिलो वातावरण बनाउनुपर्ने पौडेलको जोड छ । प्रधानमन्त्री देउवाले चुनावी सरकारको नेतृत्व गरेर अपेक्षाकृत नभए पनि नेपाली काङ्ग्रेसलाई न्यूनतम सफलता दिनुभएको छ । आगामी दिनमा पनि चुनावी सरकारका लागि उहाँको अनुभवी नेतृत्व आवश्यक हुनेछ । यसर्थ, गठबन्धको रक्षा गर्दै आफ्नो भविश्य र भूमिका सुरक्षित गर्ने अवसरमा देउवा चुक्नु हुँदैन । यसका लागि देउवाले पौडेललाई राष्ट्रपति र आफू दोस्रो खेपको प्रधानमन्त्री बन्नु उपयुक्त उपाय हुनेछ ।
पौडेलले पार्टीको १४औँ अधिवेशनदेखि हालै सम्पन्न काङ्ग्रेस संसदीय दलको चुनावमा देउवालाई ठूलो गुन लगाउनुभएको छ । समवयी साथी, राजनीतिमा पौडेलको योगदानका प्रत्यक्ष साक्षी वर्तमान पुस्तामा देउवाभन्दा अर्को व्यक्ति हुन सक्दैन । पौडेलले देउवामाथि गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छ, जबकि पौडेलको भूमिकाको आलोचना पनि भयो तर आलोचना र विरोधभन्दा माथि उठेर देउवालाई सहयोग गर्नु पौडेलको बाध्यातमात्र थिएन इमान्दारी पनि थियो भन्ने सत्य पार्टी सभापति देउवाले नै बोध गर्नुपर्छ । यसैका आधारमा पनि देउवा पौडेलप्रति उदार हुनुपर्छ ।
पार्टी सभापतिको नाताले देउवाको भूमिका कसैले चाहेर पनि गौण गर्न सक्दैन । गठबन्धनको साँचो उहाँकै हातमा रहनेछ तर कथंकदाचित बाम गठबन्धन हुने अवस्था आएमा देउवाले आफ्नो भूमिका सुरक्षित गर्न सक्नुहुने छैन । सयम, निर्वाचको परिणाम र राजनीतिक विश्वास तथा आगामी सहयात्राका लागि पनि काङ्ग्रेसले पहिलो खेपको प्रधानमन्त्री माओवादीलाई दिएर राष्ट्रपति छाड्न हुँदैन । संविधानले राष्ट्रपतिलाई स्वविवेकीय भूमिका दिएको छैन भने पनि रुक्माङ्गत कटवाल प्रकरणदेखि हालैका नागरिकता विधेयक र राजनीतिक मुद्दा फिर्तासम्बन्धी अध्यादेशका सवालमा राष्ट्रपतिको भूमिका देखियो । ओली सरकारका अध्यादेश तथा सिफारिस हातहातै स्वीकृत गर्ने तर अन्य दलका निर्णयलाई अन्देखा गर्ने प्रवृत्ति वर्तमान शीतल निवासमा हुर्किएको छ । राष्ट्रपतिको भूमिकालाई लिएर राजनीतिक वृत्तमा अहिले विशेष चिन्ता छ ।
विधेयक वा अध्यादेश जे-जस्ता हुन् अथवा सरकारले संविधानभित्र रहेका गरेका जेजस्ता निर्णय छन् त्यसको आलोचना र समर्थनमा सरकार जिम्मेवार हुन्छ । राष्ट्रपतिले ‘राजाले गल्ती गर्दैनन्’ भन्ने मान्यतामा काम गर्नुपर्छ । राष्ट्रपतिमा शक्ति अभ्यासको चाहना आयो भने मुलुकमा संसद, सरकार र शीतल निवासबीचको द्वन्द्व छताछुल्ल हुनेछ जसको बाढीमा वर्तमान राजनीतिक अभ्यास नै बग्न सक्नेछ । संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिएको छैन तर ऐनमौकाम राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुने भएकाले परिपक्व तथा गठबन्धनले समेत विश्वास गरेका पौडेलभन्दा अरु व्यक्ति राष्ट्रपतिका लागि उपयुक्त छैनन् भन्नु सत्य हो, तर्क होइन ।
यसनिम्ति काङ्ग्रेसले सर्वनाश भन्दा अर्धनाश ठिक भन्ने भनाइ आत्मसाथ गर्दै सबै गुमाउनुपूर्व केही गुमाउँदै राष्ट्रपतिको अभिभावकीय भूमिका आफैमा राख्नुपर्छ । धोका दिएर प्र्रचण्डले सत्ता हस्तान्तरण गर्दैनन् कि भन्ने अविश्वास काङ्ग्रेसमा छ भने त्यसको भरपर्दो तयारी वा संयन्त्र बनाउन सकिने छ तर अगाडि प्रचण्डलाई रोकेको देखाएर यथार्यमा रामचन्द्र पौडेललाई प्रधानमन्त्री वा राष्ट्रपतिमा रोकियो भने काङ्ग्रेसले सबै गुमाउने छ । सर्वनाश हुनेछ ।
प्रतिक्रिया