दौरा सुरुवालमा प्रधानमन्त्री : स्वस्फूर्त कि बाध्यता ?

दौरा सुरुवालमा प्रधानमन्त्री : स्वस्फूर्त कि बाध्यता ?


औपचारिक कार्यक्रममा देशको राष्ट्रिय पोशाक लगाउनु गौरवको कुरा हो । तर, हामीकहाँ नेकपा माओवादी राजनीतिको मूलप्रवाहमा आएपछि यसप्रकारका गौरवहरूलाई मेटाउँदै ‘राष्ट्रिय’का ठाउँमा ‘जातीय’ बनाउने कोशिस गरियो ।

– बबिता बस्नेत

पहिलोपल्ट प्रधानमन्त्री हुँदा राष्ट्रिय पोशाक दौरा-सुरुवाललाई बेवास्ता गर्दै सर्ट, पाइन्ट, कोट र टाईमा शपथ लिनुभएका माओवादी नेता प्रचण्डले दोश्रोपटक प्रधानमन्त्री हुँदा टाई हटाएर सर्ट, पाइन्ट, कोटमा शपथ ग्रहण गर्नुभएको थियो । पहिलोपल्ट प्रधानमन्त्री हुँदा उहाँले दौरासुरुवाल लगाउनुहोला कि नहोला भन्ने जनमानसमा ब्यापक जिज्ञासा थियो । कतिले साथीहरूबीच बाजी राखेका थिए, यो पङ्क्तिकारले पनि त्यतिबेला बाजी हारेकी थिएँ । प्रचण्ड नेपालको यस्तो राजनीतिकर्मी हुनुहुन्छ जसले मुलुकको इतिहासमै पहिलोपल्ट कोट-पाइन्टमा प्रधानमन्त्रीको शपथ लिनुभयो र, औपचारिक कार्यक्रममा दौरा सुरुवालमा नभइ कोट-पाइन्टमा सरिक हुनुभयो । पछि डा. बाबुराम भट्टराईले पनि आफू प्रधानमन्त्री हुँदा प्रचण्डकै पदचाप पछ्याउनुभयो । पोशाकमा क्रान्ति झल्काउनका लागि उहाँहरूले सदियौँदेखि सरकारप्रमुखले औपचारिक समारोहहरूमा लाउँदै आएको राष्ट्रिय पोशाकलाई छोड्नुभएको थियो ।

अन्तत: तेश्रोपटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले दौरा-सुरुवाल लगाउनुभयो । हामी नेपाली कसैले पद, प्रतिष्ठा धानीमात्र दिए पनि दङ्ग पर्दै अभारी हुने नागरिकभित्र पर्छौं । देशका प्रधानमन्त्रीले राष्ट्रिय पोशाक दौरा-सुरुवाल लगाइदिनुलाई अनौठो घटनाका रूपमा चर्चा, परिचर्चा गरिरहेका छौँ । यो उहाँको स्वस्फुर्त मनबाट आएको कुरा हो, रहर हो या बाध्यता भन्ने कुरासँग हामीले खासै सरोकार राखेका छैनौँ । औपचारिक समारोहहरूमा राष्ट्रिय पोशाकले स्थान पायो भने यो कसरी सम्भव भयो ? भन्ने कुरासँग खासै सरोकार नराखेपनि हुन्छ । वास्तविकताचाहिँ के हो भने प्रधानमन्त्री प्रचण्डले दौरा-सुरुवाल स्वस्फुर्त नभएर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त हुने निश्चित भएपछिको भेटमा ‘प्रधानमन्त्रीको शपथ ग्रहणका लागि दौरा-सुरुवाल छ कि छैन…’ भन्नुभएपछि मैले लगाएको त छैन… भन्दै ‘तर लाउँछु…’को भाव ब्यक्त गर्नुभएपछि सम्भव भएको हो । अहिलेको सरकारी गठबन्धनका प्रमुख नेताहरूसहितको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हामीले समर्थन गरेपछि राष्ट्रिय पोशाक त लाउनैपर्‍यो नि… भन्नुभएको र सँगै रहनुभएका एमाले नेता केपी ओलीले शपथग्रहण समारोह झाँकीस्थल नभएकाले सबैले राष्ट्रिय पोशाक लाउनुपर्ने बताउनुभएपछि प्रधानमन्त्रीका लागि दौरा-सुरुवालको जोहो सुरु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले दौरा-सुरुवाल स्वस्फुर्त नभएर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त हुने निश्चित भएपछिको भेटमा ‘प्रधानमन्त्रीको शपथ ग्रहणका लागि दौरा-सुरुवाल छ कि छैन…’ भन्नुभएपछि मैले लगाएको त छैन… भन्दै ‘तर लाउँछु…’को भाव ब्यक्त गर्नुभएपछि सम्भव भएको हो ।

राष्ट्रिय पोशाक कुनै पनि राष्ट्रको पहिचान र गौरव हो, राष्ट्रलाई माया गर्नेहरू राष्ट्रिय पोशाक, झण्डा, भाषालगायतका राष्ट्रियतासँग जोडिएका कुराहरूलाई सम्मान गर्छन् । विभिन्न मुलुकमा प्राय: महिला र पुरुषका लागि आफ्नै प्रकारको राष्ट्रिय पोशाक तोकिएको हुन्छ जसले उक्त देशको राष्ट्रिय पहिचानलाई इङ्गित गर्छ । तर २०६३ सालको प्रजातन्त्रपछि हाम्रो देशमा भने राष्ट्रिय पोशाकलाई ठुलो विवादको विषय बनाइयो । कतिले दौरा सुरुवाल हाम्रो राष्ट्रिय पोशाक होइन भन्दै नयाँ नेपालका नाममा दौरा सुरुवालको अपमान मात्र होइन बहिस्कारै गरेका थिए । डा. बाबुराम भट्टराई र प्रचण्ड नेपालको इतिहासमा यस्ता पूर्वप्रधानमन्त्री हुनुहुन्छ, जसले नेपालको सरकार प्रमुखको रूपमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सर्ट, पाइन्ट, कोट लगाएर सम्बोधन गर्नुभयो । छिमेकी मुलुक भारतका प्रधानमन्त्रीदेखि अन्य विभिन्न मुलुकका सरकार प्रमुखहरूले आफ्नै राष्ट्रिय पोशाक लगाएका बेला उहाँहरूको सुट पाइन्ट फेसनले नेपालीको मन धमिलो बनाएको थियो । प्रत्येक वर्ष हुने संयुक्त राष्ट्रसङ्घको महासभा यस्तो थलो हो जहाँ विभिन्न देशका प्रतिनिधिहरू आफ्नो ब्यक्तिगत होइन राष्ट्रिय पहिचान झल्काउने पोशाक लगाएर प्रस्तुत हुन्छन् । महासभाका बेला राष्ट्रसंघ परिसर विश्वका थरीथरी राष्ट्रिय पोशाकको प्रदर्शनी स्थलझैँ लाग्छ ।

औपचारिक कार्यक्रममा देशको राष्ट्रिय पोशाक लगाउनु गौरवको कुरा हो । तर, हामीकहाँ नेकपा माओवादी राजनीतिको मूलप्रवाहमा आएपछि यसप्रकारका गौरवहरूलाई मेटाउँदै ‘राष्ट्रिय’का ठाउँमा ‘जातिय’ बनाउने कोशिस गरियो । राष्ट्रिय पहिचानका ठाउँमा जातिय पहिचानलाई महत्व दिँदैगर्दा माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुरामहरूको आफ्नै पहिचान भने न हाँसको चाल न बकुल्लाको हुने अवस्थामा पुग्यो । नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाले राष्ट्रिय पोशाक लाउँदिन, नेपाली भाषा बोल्दिनँ भन्नु नेपालीपनप्रतिको घृणाको चरम रूप थियो । बाबुराम भट्टराई सरकारले सबैका पोशाकलाई ‘राष्ट्रिय’ मान्ने भनी हास्यास्पद निर्णय गरेको थियो । हामीकहाँ जातिय संस्कृति र मूल्य मान्यता झल्कने पोशाकहरू धेरै छन्, आदिवासी, जनजाति, जनजातिभित्र पनि फरक–फरक जातिका फरक-फरक पोशाकहरू छन् । आफ्नो छुट्टै भाषा र पोशाक नहुने भनेको क्षेत्री, ब्राम्हण र दलित मात्र हुन् । प्रचण्ड र डा. बाबुराम भट्टराइले लगाउने गर्नुभएको सर्ट–पाइन्ट, कोट जातिय र साँस्कृतिक दुवै हिसाबले बाहुनको पोशाक थिएन, होइन ।

हरेक पुराना कुरा र संस्कारहरू नराम्रा हुँदैनन् । विभिन्न मुलुकका इतिहासमा ठुला ठुला परिवर्तनहरू भएका छन् । राजतन्त्र फालिएका देशहरू पनि धेरै छन् तर राजतन्त्रको अन्त्य हुँदैमा सबै राष्ट्रिय पहिचानहरूलाई मेटाइँदैन । संसारमा धेरै मुलुकमा राजा–महाराजाहरू थिए । उनीहरूको पुस्तैनी शासन नरहेपनि इतिहासको कालखण्डमा उनीहरूले देशका लागि गरेको योगदानको मूल्याङ्कन, आफ्नो देश बचाउन अपनाएका रणनीतिलगायतका कुराहरूले निरन्तरता पाइरहेकै हुन्छन् । नेपालको राष्ट्रिय पोशाक, झण्डा जस्ता कुराहरू राजाहरूको पालामा परिकल्पना गरिएपनि ती राजतन्त्रका होइनन् नेपाल देशका पहिचान हुन् । पहिचान मेट्नु कुनैपनि अर्थमा बहादुरी होइन । नयाँ नेपाल राष्ट्रिय पोशाक लाउँदैनौँ भनेर, झण्डा परिवर्तन गरेर, शालिक फोरेर या मन्दिरका पूजारी फेरेर बन्नेवाला थिएन, बनेन । देशमा परिवर्तन ल्याउनलाई सोच र कार्यशैलीमा फेरबदल ल्याउनुपथ्र्यो, जुन हुन सकेन ।

हामी नेपाली कसैले पद, प्रतिष्ठा धानीमात्र दिए पनि दङ्ग पर्दै अभारी हुने नागरिकभित्र पर्छौं । देशका प्रधानमन्त्रीले राष्ट्रिय पोशाक दौरा-सुरुवाल लगाइदिनुलाई अनौठो घटनाका रूपमा चर्चा, परिचर्चा गरिरहेका छौँ ।

१९औँ शताब्दीमा अमेरिकामा धेरै इटालियन, जर्मन तथा अन्य विभिन्न मुलुकका आप्रवासीहरू प्रवेश गरेपछि सबैले आ–आफ्नै भाषा, खाना, पोशाक प्रयोग गर्न थालेछन् । सबै आ-आफ्नै तालमा हिँड्न थालेपछि अमेरिकी सरकारले ठुलो सङ्ख्यामा रहेका इटालियन र जर्मन अमेरिकनलाई केन्द्रित गरेर एउटा पोष्टर बनाएछ । पोष्टरमा अमेरिकामा बस्नेहरूले दिउँसो र बेलुकाको खाना जे खाएपनि ब्रेकफास्टचाहिँ अमेरिकन नै खानुपर्ने नियमसहित अमेरिकी ब्रेकफास्ट कसरी बनाउने, खानको टेबुल कसरी सेट गर्ने, कसरी सर्भ गर्ने जस्ता कुराहरू सचित्र राखिएको थियो । खाना भनेको भोक मेटाउने कुरा मात्र नभइ संस्कार र सभ्यता पनि हो । अमेरिकामा त्यतिबेला ‘फुड कल्चर’मार्फत देश र देशबासीलाई एकर्कामा जोड्ने कोशिस गरिएको थियो । तात्कालिन अवस्थामा अपनाइएको उक्त नीतिलाई राष्ट्रियताका लागि सफल रणनीतिका रूपमा लिने गरिएको छ । ती पोष्टरहरू अहिले पनि अमेरिकी म्युजियमहरूमा राखिएका छन् ।

वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन विभिन्न औपचारिक कार्यक्रममा टक्क दौरा-सुरुवाल, कोट, टोपी लाएर उपस्थित हुनुहुँदा मन ढक्क फुल्छ, आहा.. जस्तो लाग्छ । माओवादी लडाकु पृष्ठभूमिबाट आउनुभएका उहाँले तात्कालिन माओवादीका नेताहरूले ‘भुतपूर्व’ बनाएको राष्ट्रिय पोशाक लगाउनुहोला कि नहोला भन्ने चासो धेरैलाई थियो । पृष्ठभूमि जेसुकै भएपनि वर्तमानमा नेपाली मनको भावनाको प्रतिनिधित्व गरिरहनुभएकाले उपराष्ट्रपति पुनमाथि कसैले पनि प्रश्न उठाएको देखिएको छैन । दौरा-सुरुवालको पुनरागमनको श्रेयचाहिँ पूर्वप्रधानमन्त्री तथा एमाले नेता केपी ओलीलाई जान्छ । आफ्नो पार्टीको अगाडि ‘कम्युनिष्ट’ जोडिए पनि उहाँले राष्ट्रिय पोशाकलाई सधैं महत्व र निरन्तरता दिनुभयो । आफूले मात्र लगाउनुभएन आफ्ना पार्टीका सबै मन्त्रीले राष्ट्रिय पोशाक लाउनुपर्ने उर्दी जारी गर्नुभयो । पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा औपचारिक समारोहमा सधैं राष्ट्रिय पोशाकमा देखिनुभयो तर आफ्नो क्याविनेटका मन्त्रीहरूलाई राष्ट्रिय पोशाकका लागि अनिवार्य गराउन भने सक्नुभएन ।

राष्ट्रियता भावनात्मक कुरा हो, कुनै पनि देशको पोशाक, भाषा जस्ता राष्ट्रियताका प्रतीकले नागरिकको भावनाको प्रतिनिधित्व गरिरहेका हुन्छन् । बाध्यात्मक परिस्थितिको उपज नै सही प्रधानमन्त्री प्रचण्डले शपथग्रहणमा राष्ट्रिय पोशाक लगाएर नेपाली जनताको भावनाको सम्मान गर्नुभएको छ । यो क्रमले स्वस्फुर्त रूप लिन सकोस्, पोशाकमा मात्र नभइ कार्य ब्यवहारमा पनि राष्ट्रिय हित प्रबद्र्धन हुन सकोस् ।