किरात समाजले बेल्जियममा मनायो उधौली पर्व

किरात समाजले बेल्जियममा मनायो उधौली पर्व


– सनत आचार्य, बेल्जियम

संयुक्त किराँत समाज बेल्जियमले किरातीहरूको मुख्य पर्व उधौली बेल्जियमको पर्यटकीय नगरी ब्रुजमा मनाएको छ ।

मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका महासचिव पेम्वागेलु शेर्पाले आदिवासी जनजातिहरूले प्रवासमा पनि पूर्खाले मानिआएका संस्कृति र मौलिक पहिचानको संरक्षण र संरक्षणका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाल विविधतामा आधारित देश भएको बताउँदै धर्म संस्कृतिहरू पनि विविध प्रकार हुँदा आदिवासी जनजातिले आफ्नो पहिचानका लागि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।

समाजका संस्थापक अध्यक्ष डिल्ली सुब्बाले बिदेशी भूमिमा बस्दै गर्दा संस्कृति, संस्कार, भेषभूषा बिर्सने पो हो कि भन्ने चिन्ताले यो चाड आफूहरूले प्रत्येक वर्ष मनाउँदै आफ्नो पहिचानलाई जीवित राख्ने गरेको बताउनुभयो ।

संस्थापक अध्यक्षले किरातीहरू भूमिपुत्र भएको हुनाले प्रकृति र देवी–देवताको स्मरण गर्दै यो पर्व मनाउँदै आएको जानकारी दिनुभयो ।

अतिथिको रूपमा गैरआवासीय नेपाली संघ बेल्जियमकी सचिव सावित्री गिरीले नेपालीहरू संस्कार–संस्कृतिका धनी भएको स्मरण गर्दै विदेशी भूमि यसको संरक्षण हुन जरुरी भएको औंल्याउनुभयो ।

त्यसैगरी कार्यक्रममा उपस्थित ताप्लेजुङका कविन्द्र लिम्बुले उधौली पर्व पौराणिक कालदेखि नै मनाउँदै आएकोमा प्रवासमा समेत मनाउनु आफैमा गर्वको कुरा भएको तर्क गर्नुभयो । अन्नबाली उब्जाउने क्रममा बचाउन सहयोग गरिदिएकोमा धन्यवाद दिन पनि यो पर्व मनाउने गरेको जानकारी उहाँले दिनुभयो । लिम्बुले प्रवासमा पनि यो पर्वलाई निरन्तरता दिन आवश्यक रहेको सुझाव दिनुभयो ।

समाजका पुपुसा किराती (फागो) ले यो पर्व वर्षमा दुईपटक मनाउने गरेको जानकारी दिँदै प्रवासमा किरातहरूको धर्म संस्कृतिको जगेर्ना गर्न पनि आवश्यक रहेकोले यसलाई नियमितता दिन जरुरी रहेको बताउनुभयो । उहाँले प्रवासमा रीतिरिवाज हराउने सम्भावना भएकोले पनि यो पर्वलाई मुख्य प्राथमिकतामा राखेर मनाउनुपर्ने उल्लेख गर्नुभयो ।

समाजकी अध्यक्ष कविता साउदेनले किरात समुदायको धर्म संस्कृतिको संरक्षण र सम्वर्धनका लागि विदेशमा समेत यो पर्वलाई अनिवार्य रूपमा मनाउनुपर्ने भएकोले समाजको स्थापनाकालदेखि नै यो पर्व मनाउन थालिएको बताउनुभयो । पौराणिक तथ्यमा यो पर्व प्रकृतिपुजाको लागि भएकोले बाँच्नका लागि आवश्यक हावा, पानी, माटोलाई समेत पुज्ने गरेकोले आफैमा पनि विशेष रहेको उहाँको तर्क थियो ।

समाजका सचिव दौलत साम्वाले यो पर्व किरात समुदायको मुख्य पर्व भएको हुनाले प्रवासमा पनि दोश्रो पुस्तालाई धर्म संस्कृतिका बारेमा जानकारी दिन स्थापनाकालदेखि नै मनाउन थालिएको बताउनुभयो । सचिव साम्वाले यो चाड किरातहरूको अन्य चाड भन्दा भिन्न प्रकृतिको भएकोले पुर्खाले मनाउँदै आएको चाडलाई प्रवासमा पनि मनाउन लागिएकोमा आफुहरू गौरवान्वित भएको धारणा राख्नुभयो ।

कार्यक्रमको शुभारम्भमा पुपसा किराती र शीला लिम्बुद्धारा किराती परम्पराअनुसार संयुक्त रुपमा पुजा अर्चना गरिएको थियो भने नेपाली र बेल्जियमको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वागत निकिता लिम्बु र सृजना लिम्बुले गरेका थिए भने सञ्चालन समाजका सचिव दौलत साम्वाले गर्नुभएको थियो । बेल्जियमका विभिन्न सामाजिक संघसंस्था लगायत लब्धप्रतिष्ठित व्यक्तिहरूको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।