भूगोलले सम्झियो लेखनाथ, सम र भूपीलाई

भूगोलले सम्झियो लेखनाथ, सम र भूपीलाई


साहित्यिक संस्था भूगोल साहित्य समाजले पुस महिनामा जन्मिएका तीन प्रसिद्ध साहित्यकारहरू कविशिरोमणि लेखनाथ पौड्याल, नाटककार बालकृष्ण सम र कवि भूपी शेरचनको सम्झना गर्दै परिचर्चा कार्यक्रम ‘शब्दहार’ सम्पन्न गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न सर्जकहरू तीन स्रष्टाका विषयमा चर्चा परिचर्चा गरे । कार्यक्रममा साहित्यकार युवराज मैनालीले नाट्यकार बालकृष्ण समका बारेमा बोले । मैनालीले नाट्यकार सम आफ्ना कृतिहरूमा सधैँ बाँचीरहने बताउँदै समका रचना बुझ्नु समुद्रमा मोती खोज्नु सरह भएको उल्लेख गरे ।

साहित्यकार वासुदेव गुरागाईंले कविशिरोमणि लेखनाथ पौड्यालका विषयमा विभिन्न जानकारी दिए । उनले कविशिरोमणिको ‘पिँजडाबाट छुटेको सुगा’ कविता पनि वाचन गरे ।

कवि भूपी शेरचनका विषयमा साहित्यकार ममता मृदुलले बोल्दै भूपीका केही कविताहरू वाचन गरिन् ।

सोही अवसरमा साहित्यकार कलानिधि दाहालले तीनै सर्जकहरूका विषयमा बोल्दै समको दार्शनिकता, पौड्यालको परिष्कारवादी धारा र शेरचनका कवितामा रहेको विद्रोही चेतका विषयमा चर्चा गरे ।

डा. टंकप्रसाद पन्तले तीनै साहित्यकारका एक÷एक कविता वाचन गरे । कार्यक्रममा रामबहादुर पहाडी, विनोद नेपाल, नवराज पुडासैनी ज्योत्सना, दिनेशविक्रम थापा, शैलेन्द्र शाहलगायतले बोलेका थिए ।