मन्त्रीले काम देखाउने कि गर्ने ?

मन्त्रीले काम देखाउने कि गर्ने ?


आफ्नो मन्त्रालयमातहतको काम गर्नु हरेक मन्त्रीको प्रशासनिक र राजनीतिक ड्युटी हो । आफ्नो ड्युटी निर्वाह गर्दा क्यामेरा सँगसँगै लगेर त्यति ठुलो प्रचार गरिरहनु जरुरी पर्दैन । कुनै पनि मन्त्रीले गरेको राम्रो कामको प्रचार भइ नै हाल्छ, मैले राम्रो काम गरेँ तर प्रचार गर्दिनँ भनेर रोकेर रोकिन सक्ने अवस्था अहिले छैन ।

बबिता बस्नेत

कुनैपनि पदमा पुगेका मानिसलाई आफ्नो कार्यकालमा केही गरुँ भन्ने चाहना हुनु स्वभाविक हो । विभिन्न संघ-संस्थाका प्रतिनिधि, अभियन्तादेखि नीति निर्माण तहसम्ममा यो लागु हुन्छ । आफूले के काम गर्ने, के नगर्ने, गरेका कामको प्रचारप्रसार कति गर्ने, कति नगर्ने चाहिँ मानिसको ब्यक्तिगत सोच या रहरमा भरपर्ने रहेछ । यो मुलुकमा विगतमा धेरै काम भएका छन्, जसको प्रचार खासै भएन । हरेक कुरा प्रचारमा ल्याउने चलन थिएन, अहिलेजस्तो जमाना पनि थिएन । मन्त्रीहरूले आफूले शिलान्यास र उद्घाटन गरेका भवन या परियोजनाहरूमा नाम लेख्ने गरिन्थ्यो । जुन काम कि हुन लागेको हुन्थ्यो या त भइसकेको । तर अहिले मन्त्रीले बोलेका हरेक शब्द युटुवबाट दिन थालिएको छ । उहाँहरूले हिँडेका पाइला, चढेका गाडी, भेटेका मानिस, गरेको या फर्काएको नमस्कार, मिलाएका हात भिजुअल मिडियामा आउन केही बाँकी रहेजस्तो देखिँदैन । यिनै कुरालाई काम जस्तो गरेर समाचार दिने गरिएको छ र त्यस्तै कुरामा वाह… वाह… गर्नेहरूको भीड बढ्दैछ ।

केही दिनअघि एक मन्त्रीले सडकमा पुगेर कर्मचारीहरूलाई सडकको कमसल कालोपत्रे देखाउँदै ‘यो के हो यस्तो ?’ भनेर प्रश्न गर्नुभो । मन्त्रीहरू आफ्नो मातहतका विभागमा जाने र अड्डामा रहेका कर्मचारीहरूको एकछिन सातो लिने काम गरेको मिडियामा हामी हेरिरहेका छौँ । सडकको अवस्था मन्त्री हुनुअघि नै थाहा थिएन भन्न सकिन्न । हाम्रा अड्डा-अदालत कस्ता छन्, सबैलाई थाहा भएकै कुरा हो । एक जना मन्त्रीले बाटोबाटै आफ्नो मातहतका एक विभागीय प्रमुखलाई सबैले सुन्ने गरी हेन्स फ्री गरेर फोन गर्नुभयो र निर्देशन दिनुभयो । विगतमा एक मन्त्री बिजुलीको रकम नतिर्नेहरूको तार काट्न आफै अग्रसर हुनुभएको थियो । यी र यस्ता कुराहरूले क्षणिक चर्चा त दिन्छ तर दीगो भने हुँदैन ।

मन्त्रीको काम यो कार्य किन भएन भनेर प्रश्न गर्ने, कारण पहिचान गरी नभएको काम गर्न-गराउन लागिपर्ने हो, तर यहाँ युटुवरका साथ आफै फिल्डमा उत्रिएर ‘म यस्तो गरिरहेको छु है’ भनेर देखाउने काम भइरहेको छ । विगतमा हुन नसकेको कुनै काम कुनैपनि मन्त्रीका कारण भयो भने जनताले आफै त्यस्ता कुराको अनुभूति गर्नेछन् । एकातिरको खाल्डा पुर्न आफै सडकमा पुगेको देखायो अर्कोतिरको सडक उस्तै हुन्छ या आफैले गएर हेरेको सडक पनि वर्षौं उस्तै हुन्छ भने त्यो क्षणिक सक्रियताको के अर्थ ? सबैलाई सुनाएर निर्देशन दियो निर्देशनले कामै गरेन भने त्यस्तो निर्देशनको के मतलव ? विभागीय प्रमुख या कसैलाई पनि कुनै कुरा भन्दा, जानकारी माग्दा या आग्रह गर्दा आम जनतालाई सुनाइरहनु पर्दैन, त्यसरी सुनाएको राम्रो मानिँदैन पनि । त्यस्ता निर्देशनहरू मन्त्रीले आफ्नै कार्यकक्षमा बोलाएर दिए हुन्छ ।

अहिले मन्त्रीले बोलेका हरेक शब्द युटुवबाट दिन थालिएको छ । उहाँहरूले हिँडेका पाइला, चढेका गाडी, भेटेका मानिस, गरेको या फर्काएको नमस्कार, मिलाएका हात भिजुअल मिडियामा आउन केही बाँकी रहेजस्तो देखिँदैन ।

अहिले मन्त्रीहरूले जहाँ जाँदा पनि साथमा युटुवर लिएर हिँडेको देख्दा मन्त्रीहरू काम गर्नभन्दा पनि काम गर्न खोजेको देखाउन बढी लालायित हुनुहुन्छ जस्तो देखिन्छ । सामान्यतया मन्त्रीको काम आफ्नो ओहदाको मर्यादा कायम राख्दै आफ्नो उत्तरदायित्वभित्र पर्ने कामहरू गर्ने हो । मन्त्री भनेको निर्णय र कार्यान्वयन दुवैै गर्ने दायित्व बोकेको पद हो । मन्त्री भनेको कार्यालय या सडकमा गएर यसो गर्नुस् भन्ने नभइ आफ्नो विभागीय जिम्मेवारी पूरा गर्न आफूमातहतका सबैलाई मार्गदर्शन गर्ने पद हो । कानूनी राज्य स्थापित गर्न कानूनको पालना गर्ने/गराउने पद हो । आफ्नो मन्त्रालयको जिम्मेवारी अन्तर्गतका नीति तथा कानूनको कार्यान्वयन गर्नु कुनैपनि मन्त्रीको कर्तब्य हो । आ-आफ्नो मन्त्रालयअन्तर्गतका कामहरूमा फरकपन भएपनि मन्त्रिमण्डलले गरेका हरेक निर्णयमा मन्त्री परिषदका सदस्य अर्थात् मन्त्रीहरूको एउटै आवाज हुनु आवश्यक हुन्छ । किनभने मन्त्रिमण्डलको निर्णय भनेको सामूहिक निर्णय हो, प्रधानमन्त्रीसहित सबै मन्त्रीको संयुक्त निर्णय हो । त्यसैले मन्त्रिमण्डलले गरेका कुनैपनि निर्णयको जवाफदेही सबै मन्त्री हुनुपर्ने हुन्छ । ‘उक्त निर्णय मेरो मन्त्रालयअन्तर्गतको होइन मलाई थाहा भएन’ भन्न पाइँदैन । आफ्नो मन्त्रालयमातहतको काम गर्नु हरेक मन्त्रीको प्रशासनिक र राजनीतिक ड्युटी हो । आफ्नो ड्युटी निर्वाह गर्दा क्यामेरा सँगसँगै लगेर त्यति ठुलो प्रचार गरिरहनु जरुरी छैन, हुँदैन । कुनै पनि मन्त्रीले गरेको राम्रो कामको प्रचार भइ नै हाल्छ, मैले राम्रो काम गरेँ तर प्रचार गर्दिनँ भनेर रोकेर रोकिन सक्ने अवस्था अहिले छैन । मिडियाले मुलुकमा भएका राम्रा काम देखाउन/सुनाउन र लेख्न नपाएको धेरै भयो, खोजी गरिहाल्छन् ।

आफ्नो मन्त्रालयअन्तर्गत सम्पूर्ण निकायलाई उत्तरदायी र जवाफदेही बनाउनु मन्त्रीको काम हो । यसका साथै आफ्नो मन्त्रालय अन्तर्गतका नीति, कानूनहरूको मस्यौदाको नेतृत्व पनि मन्त्रीले नै लिनु पर्ने हुन्छ । आफ्नो मन्त्रलयसंग सम्बन्धित विधेयक, अध्यादेश या सन्धि-सम्झौताहरू संसद्मा पेश गर्नु मन्त्रीको काम हो । विभिन्न समिति या ब्यक्तिहरूको समूहले मस्यौदा गरेपनि आफूले पेश गर्ने विधेयकहरूको बारेमा मन्त्री पूर्ण जानकार हुनु आवश्यक हुन्छ । विगतमा आफूले प्रस्तुत गरेको विधेयकको बारेमा मन्त्री जानकार नभएका अनेक उदाहरणहरू छन् । त्यसैले आफूले संसद्मा प्रस्तुत गर्ने विधेयकको बारेमा राख्नुपर्ने जानकारीलाई मन्त्रीहरूले आफ्नो महत्वपूर्ण कामभित्र राख्नु पर्दछ । साथै राष्ट्रको समस्याका बारेमा छलफल गर्नु र उचित कदम चाल्नु कुनैपनि मन्त्रीको साझा ड्युटी हो । बेरोजगारी समस्या समाधानका लागि कुनैपनि मन्त्रीले स्कीम ल्याउँदा कसैले पनि नराम्रो भन्नेवाला छैन । मुलुकमा उद्योगधन्धाहरूको स्थापना तथा आवश्यक विभिन्न परियोजना सञ्चालनका लागि मन्त्रीले भिजन राखेर वातावरण निर्माण गरिदिने हो भने ती कार्यहरू सधैं देशको हितमै हुनेछन् ।

विभागीय प्रमुखहरूको नियुक्तिमा पैसाको चलखेल हुने गरेको छ । जसका कारण सही मान्छे सम्बन्धित ठाउँमा पुग्न नसकिरहेको अवस्था हो । नयाँ मन्त्रीहरूले यस्ता चलखेल मात्रै बन्द गर्ने हो भने पनि देशका लागि ठुलै गुन लगाएको मानिने छ । भ्रष्ट्राचार यो देशको सत्रु हो मात्र भनेर पुग्दैन, शत्रुलाई परास्त गरी मुलुकलाई माथि उठाउने प्रयास गर्नु जरुरी छ । मन्त्रीले एउटा ठेकेदारलाई ‘यो किन भएन ?’ भनेर प्रश्न गर्ने भन्दापनि सबै ठेकेदारले समयमा काम सक्ने वातावरण निर्माण गर्ने हो । हामीसँग भएका नीति कानून, कार्यविधिहरूको सही कार्यान्वयन हुने हो भने वातावरण आफैं बन्छ ।

निर्वाचनमा मिडियाको प्रचारकै कारण कतिपय उम्मेद्वारहरूले जितेर सांसद बनेका कारण अहिले प्रचारप्रसार गज्जब कुरा हो भन्ने झैँ लागेपनि मिडियामा सधैं छाउनु कतिपय अवस्थामा प्रत्युत्पादक पनि हुन्छ । सन् १९८९ मा भारतमा राजिव गान्धी निर्वाचनमा पराजित हुँदा जति अनौठो मानिएको थियो पराजयको कारणले त्यति नै आश्चर्यचकित बनाएको थियो भनिन्छ । उनको निर्वाचन क्षेत्रका जनताको भनाइ थियो- ‘दूरदर्शन (त्यतिबेला भारतमा भएको एक मात्र सरकारी टेलिभिजन च्यानल)मा जतिबेला पनि राजिव गान्धीलाई हेर्दा-हेर्दा हामी वाक्क भएका थियौँ । जितायो भने फेरि पाँच वर्ष उनैलाई हेरिरहनुपर्ला भनेर भोट नदिएका हौँ ।’ भारतीय जनताले ३३ वर्षअघि राखेको यस्तो चाहना भोलि नेपाली जनताले पनि नराख्लान् भन्न सकिन्न ।