बाजुरा केन्द्रविन्दु भएर ५‍.९ म्याग्निच्युडको भूकम्प, बझाङमा दर्जन बढी घरमा क्षति

बाजुरा केन्द्रविन्दु भएर ५‍.९ म्याग्निच्युडको भूकम्प, बझाङमा दर्जन बढी घरमा क्षति


सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको मेला क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पका कारण बाजुरा, बझाङ लगायत पहाडी जिल्लाका घरहरु भत्किएका छन् । तर, क्षतिको एकीन विवरण भने आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्ला सदरमुकाममा रहेको कृषि ज्ञान केन्द्रको लगायत दर्जन बढी आवासीय घरमा भूकम्पले क्षति पुर्‍याएको छ ।

केही घर भत्किएका छन्, भने केही घर चर्किएका छन् । बझाङमा मंगलबार बेलुकासम्म ३३ घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ । सुरक्षाकर्मीका भवन, स्वास्थ्य चौकी, विद्यालय भवन, तथा निजी घरमा आंशिक क्षति भएको विवरण आएको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी एक जनाको हात भाँचिएको छ । भूकम्प आएपछि घरबाहिर निस्कन खोज्दा जयपृथ्वी नगरपालिका–११ का ५२ वर्षीय हरिकृष्ण जोशीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

बताइएअनुसार बझाङको उत्तर, पूर्वी क्षत्रमा पर्ने पालिका जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, सूर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भूकम्पले क्षति गरेको छ ।

सोमबार रातिदेखि आएको वर्षा र हिमपातका कारण टेलिफोन टारवमा भएको समस्याका कारण केही स्थानमा भने टेलिफोन सेवा अवरुद्ध बनेको र त्यसले सूचना संकलनमा समस्या भइरहेको उनले बताए ।