राजकीय वा राष्ट्रिय श्रद्धा वा सम्मानमा खाली राजनैतिक मोर्चाका सम्राटहरूको पहुँच हुने, उनीहरूका निर्णय नै सर्वोपरि रहने परम्परा अब उल्ट्याउनु पर्छ । त्यसमा सूचना र खबरहरूको समुन्द्रमा पौडी खेल्ने पौडीबाजहरूको सम्मानको नयाँ इतिहास निर्माण गर्दै र स्थापित गरिनुपर्छ ।
डिल्ली अम्माई
आफ्ना अग्रजहरूको सम्मान सबैलाई हुन्छ र हुनुपर्छ किनकि हामी जहाँ छौँ, जुन अवस्थामा छौँ त्यसको कारण अविभावक नै हुन् । परिवारमा बाबुआमाले आफ्ना सन्तानलाई हुर्काउन, सवल र सक्षम बनाएर आत्मनिर्भर बनाउन प्रत्येक्ष भूमिका खेलेका हुन्छन् । छिमेकी वा आफन्तहरूले बाहिरबाट आशीर्वाद दिएर, सम्झाएर र आवश्यक पर्दा गाली नै गरेर समुदायका नयाँ पिँढीलाई सुरक्षा र प्रेरणा प्रदान गरिरहेका हुन्छन् । संघ-संगठनमा पनि अग्रजहरूले कामको सन्तुलित मुल्यांकन गर्दै प्रेमपूर्वक नयाँ नेतृत्वलाई हुर्काइरहेका हुन्छन् । उनीहरूको योगदान प्रत्येक्ष रूपले संगठनको लागि भएपनि परोक्ष रूपले देश वा विश्वको लागि भइरहेको हुन्छ । पत्रकार संघ-संगठनहरूमा पनि सरदर यही सार्वभौम नियमले काम गरिरहेको हुन्छ । अर्थात्, तलबाट माथि सम्मान र अपेक्षा साथै माथिबाट तल वात्सल्य र प्रेम । एक अग्रज गुमाएकोमा राज्य र पत्रकार नेतृत्वप्रति मात्र त्यही सम्मान र अपेक्षा !
पङ्क्तिकारको गुनासो, स्वर्गीय अग्रज पत्रकार त्रिभुवन पौडेलले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान र पाउनुपर्ने सम्मानबारेको हो । उहाँले २०७९ माघ १ गते जहाज दुर्घटनामा आफ्नो उर्जाशील जीवन मात्र गुमाउनुभएन, आफ्ना कलिला सन्तानहरूलाई हुर्काउन नपाउँदै सन्तान, श्रीमती, अविभावकसँगै सिङ्गो पत्रकारिता जगतलाई दुखित र स्तब्ध बनाउँदै अस्त हुनुभयो । उहाँसँग परिवारसहित देशलाई दिनसक्ने प्रशस्त उर्जाशील समय थियो । उहाँको पत्रकारितामा निम्छरो वर्गसोच थियो, तल्लो वर्गप्रतिको प्रेमभाव र चेतनाको परिस्कृत प्रभाव थियो । साथै भविष्यमा सिङ्गो पत्रकारिताको माध्यामबाट समाज, देश र विश्वमा हुँदा खानेहरूको पक्षमा, न्यायिक समानताको आवाजसमेत थियो । जुन आवाजलाई संसारभरी बौद्धिक र श्रमिक पत्रकारहरूले आफ्नो ठान्दछन् र प्रेम गर्दछन् ।
‘क्लिक बेट पत्रकारिताको फिल्टर गर्ने संयन्त्र राज्यले छिटो निर्माण नगरे राज्य अफवाहको भुमरीमा फस्छ र देश अर्को विपदमा जान्छ’ भनेर आवाज उठाउने पत्रकार त्रिभुवन उमेरले पङ्क्तिकारभन्दा सानो भए पनि सांगठानिक हिसाबले अग्रज हुनुहुन्थ्यो । विश्वभरिका पत्रकारहरूलाई ज्ञात भैसकेको कुरा हो कि उहाँ अन्तर्राष्ट्रिय पत्रकार महासंघको एक मोर्चा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । योगदानको कुरा गर्ने हो भने उहाँ कास्की शाखाको उपाध्यक्ष हुँदै २०७४ मा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरिसकेको अनुभवी पत्रकार हुनुहुन्थ्यो । त्यो भन्दा पनि बढी उहाँ समुदायको सुचना सम्प्रेषणमा कठिन जोखिम मोल्न सक्ने अब्बल पत्रकार हो ।
पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरिसक्नुभएको छ । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आउनुभएको उहाँले पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाको प्रकाशक/सम्पादक रूपमा समेत काम गरिसक्नुभएको छ । जनपक्षीय पत्रकाारिता गर्दै आएका पत्रकारलाई प्रदान गर्ने ‘थमन-महेश स्मृति पत्रकारिता पुरस्कार २०७०’बाट सम्मानित भैसक्नुभएका उहाँको योगदानबारे नेपालका प्रायः सबै पत्रकारहरू जानकार नै छन् । राज्यलाई पनि यी सबै कुराको जानकारी छैन वा थिएन भन्ने कुरा कसैले पत्याउँदैन ।
उहाँ प्रेस सेन्टर, नेपाल केन्द्रको बैठकबाट फर्कने क्रममा दुर्घटनामा पर्नुभएको हो । प्रेस सेन्टरको मिटिङमा पनि पत्रकारिताको बारेमै चिन्तन र बहस भए होला । आगामी मिसन र सूचना रणनीतिबारे नीतिगत निर्णयहरू भए होलान् । अरु के गफ हुन्थ्यो र पत्रकारहरूको मोर्चामा ।
भन्नु नपर्ला कि प्रेस सेन्टर पनि नेपाल पत्रकार महासंघको एक हिस्सा हो अर्थात् यो वैश्विक पत्रकारहरूको एक युनिट । उहाँको मृत्युको कारण पनि पत्रकारिता कर्मकै शिलशिलामा भएको हो । योग्यताका कुरा गर्ने हो भने राज्यले राजकीय सम्मान गर्नलायक उहाँमा सबै कुराहरू थिए ।
यिनै जुझारु पत्रकारहरूको कलमले भत्काएको तानाशाही पुरानो सत्ताको सट्टा नेपालमा परिस्कृत लोकतान्त्रिक पद्दति विद्यमान छ । त्यसको नेतृत्वमा गरिखाने पत्रकारिताका हिमायतीहरू नै छन् । तर अहिलेसम्म लोकतन्त्रको लागि र गरिखाने वर्गको पक्षमा शहीद पत्रकार कृष्ण सेनको कलम थामेर बस्ने पत्रकारहरूको घरमा पुगेर राज्य प्रमुख वा पत्रकारका अग्रजहरूले समवेदना प्रकट गरेको सुनिएको छैन । यो ज्यादै दुःखलाग्दो कुरा हो ।
पत्रकार त्रिभुवन पौडेल, पत्रकारिता क्षेत्रका एक प्रखर सम्भावना हुनुहुन्थ्यो । भविष्यको कुरा गर्ने हो भने उहाँले उचालेको कलम सायद कमै पत्रकारहरूले थाम्न सक्ने छन् । त्यस्ता पत्रकार जसको कर्म पथमा नै अस्त भएको छ । त्यसैले राज्यबाट राजकीय सम्मानको पहल नभएपनि सम्पूर्ण पत्रकारहरू(नेपाल पत्रकार महासंघ)ले उहाँको सम्मानको लागि राष्ट्रिय सलामी दिनुपर्छ । जसरि युद्ध मोर्चाको समाचार संकलन गर्ने क्रममा मृत्यु भएका पत्रकारहरूलाई युक्रेन सरकारले केही समयअघि राजकीय सलामी दियो । त्यसैगरी गण्डकी प्रदेशका पत्रकार कमान्डरको कामकै शिलशिलामा मृत्यु हुँदा श्रमजीवी पत्रकारहरू र उनीहरूका विभिन्न मोर्चाहरूले देशभरिबाट सम्मानपूर्वक सलामी अर्पण गर्दै राजकीय सम्मानको नेपाली परम्परालाई चुनौती दिन सक्नुपर्छ । मन्थलीबाट शुरु भएको पत्रकारहरूको राजकीय सलामी अब नेपाल पत्रकार महासंघ र आबद्ध संघ-संगठनहरूले देशब्यापी बनाउनु पर्छ । सहकर्मीप्रतिको सम्मानमा सम्पूर्ण आस्थाका बारहरू भत्काएर प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरलगायत सबै पत्रकार संघ-संगठनहरू समवेदनामा एक ढिक्का हुनुपर्छ ।
संसारभरि पत्रकारितामा एउटा छुट्टै परम्परा, छुट्टै समभाव र छुट्टै भातृत्वको विकास हुँदै छ । त्यसको राम्रो प्रभाव नेपालका पत्रकारहरूको बीचमा पनि छ । पत्रकारिताका अग्रज जस्तै- देवप्रकाश त्रिपाठी, नारायण वाग्ले, भागिरथ योगी, दिलभुषण पाठक, बबिता बस्नेत, भानुभक्त आचार्य, जयप्रकाश त्रिपाठीलगायत र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरू चाहे किशोर नेपाल, धर्मेन्द्र झा, महेन्द्र बिष्ट, शिव गाउँले, तारानाथ दाहाल, सुरेश आचार्य, गोविन्द आचार्य वा त्यो भन्दा अगाडि, पछाडिका अध्यक्षहरू नै किन नहुन्, हाम्रा सबैभन्दा आदरणीय अभिभावकहरू हुनुहुन्छ । उहाँहरूका लिखित अलिखित निर्देशनहरू नेपालका सबै पत्रकारहरूले चिरकालिक प्रेरणा शास्त्रसरह मान्दछौँ । महासंघका अध्यक्ष विपुल पोखरेललाई हामीले राजकीय नेतृत्व सरह वा राष्ट्रपति जत्तिकै र कहिलेकाहिँ त्यो भन्दापनि बढी सम्मान गर्दछौँ ।
त्यो संस्कारगत प्रभाव पत्रकारिताको क्षेत्रमा बाहेक कतै छैन । हामी उहाँहरूका आस्था हेर्दैनौँ, कलमका तिखा ध्वनिहरू सुनेर निर्देशित हुन्छौँ । हाम्रा नेतृत्वहरू जुनसुकै आस्थाका भए पनि एकै थलोमा प्रेमगीत गाएको देखेका छौँ, राजनैतिक सत्ता र शक्तिको लागि भीख माग्दै राजनैतिक सम्राटका बलेनिमा शिर झुकाएको अहिलेसम्म देखेका छैनौँ । त्यसैले हाम्रा नेतृत्वहरूप्रति हामीलाई सदैव लोभलाग्दो गर्व छ । पत्रकारहरूको यो अविरल प्रेरणादायी नेतृत्वले पत्रकार त्रिभुवन पौडेललाई उच्च सम्मान दिने सवालमा आस्थाको थाल ठटाएर एक चेलाको सम्मान उठाउन कन्जुस्याइँ गर्छ भन्ने मलाई रत्तिभर विश्वास छैन ।
कलमका केही सदाबहार शत्रुहरू हुन्छन् । केही सत्रु झट्ट देखिँदैनन् भने केहि देखिन्छन् । केही परम्पराको भित्तामा लुकेर लेखिएका नीतिबाट प्रकट हुन्छन भने केही हतियार लिएर प्रकट हुन्छन् । हाम्रा प्रधान शत्रु नाजिज्म, फासिज्मका पक्षपाति मात्रै छैनन्, लोकतान्त्रिक सत्ताभित्रका शक्तिकेन्द्र र उनीहरूले निर्माण गरेका नीतिगत परम्परा पनि हाम्रा शत्रु हुन् । यही कुराले पत्रकार र अन्यहरूको फरक छुट्ट्याएको हुन्छ । यही कुराले हामीलाई आस्थाको चौघेराबाट बाहिर निकालेर पारिवारिक बनाएको हुन्छ । त्यसैले पङ्क्तिकारले यो आलेखबाट हरेक पत्रकारहरूलाई राजकीय परम्परागत ब्यवस्थालाई उल्ट्याउन आह्वान गरेको हो । अहिले संसारभर नयाँ मान्यता स्थापित हुने चरणमा छ, त्यो के भने ‘पत्रकार आफै राजकीय सम्मानका पहिला हकदार हुन्, किनकि उनीहरू चौबिसै घण्टा जोखिममा काम गरिरहेका हुन्छन् ।’
राजकीय वा राष्ट्रिय श्रद्धा वा सम्मानमा खाली राजनैतिक मोर्चाका सम्राटहरूको पहुँच हुने, उनीहरूका निर्णय नै सर्वोपरि रहने परम्परा अब उल्ट्याउनु पर्छ, पर्छ । त्यसमा सूचना र खबरहरूको समुन्द्रमा पौडी खेल्ने पौडीबाजहरूको सम्मानको नयाँ इतिहास निर्माण गर्दै र स्थापित गरिनुपर्छ । पत्रकारलाई राजकीय सम्मान दिने परम्परा विश्वमा सुरु मात्र हैन स्थापित भइरहेको छ । उदाहरणको लागि ब्रायन विलियम्स, विलियम एलेनले अमेरिकामा राजकीय सम्मान पाए । अब्राहम जिमेनेज एनोआ, क्युबामा राजकीय सम्मान पाउने पत्रकार हुन् । नियाज अब्दुल्लाले इराकी कुर्दिस्तानबाट सेभगिल मुसाइभाले युक्रेनबाट, फाम दोआन ट्राङले भियतनामबाट, गैलिना टिमचेन्कोले रुसबाट, शिरिन अबु अक्लेह र कार्लोस डाडालाई ‘२०२२ प्रि-आईपीआई–आईएमएस फ्रिडम वर्ल्ड अवार्ड’ले सम्मान गरेको छ । त्यस्तै फिफाले २०२२ विश्वकपमा धमनीविच्छेदबाट मृत्यु भएका स्वर्गीय पत्रकार ग्रान्ट वाहललाई अन्तर्राष्ट्रिय राजकीय स्तरको सम्मान दियो । एडेल एम बैंक्स-लाइफटाइम अचिभमेन्ट, फ्युनरल रमल्लाहमा मारिएका पत्रकारले प्यालिस्टाइनमा राजकीय सम्मान पाए । अबु अक्लेहले राष्ट्रिय सम्मान पाए भने प्रेस स्वतन्त्रता च्याम्पियन, हर्सेल डब्ल्यू ‘वुडी’ विलियम्सलाई पनि त्यहि तहको सम्मान दिइयो ।
विकसित देशमा पनि पहिले-पहिले सामान्यतया राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीको निधनमा मात्र राष्ट्रिय शोकको घोषणा गरिन्थ्यो र राजकीय सम्मान दिइन्थ्यो । तर अहिले पत्रकार त्रिभुवन पौडेलझैँ सेवाकै कारण मृत्युवरण गरेका वा सूचना सेवामा महत्वपूर्ण योगदान पुऱ्याएका पत्रकारहरूको निधन भएमा पनि राजकीय सम्मान दिइन्छ । उनिहरूको पद भन्दा जोखिमपूर्ण सेवा र कामको महत्व हेरिन्छ ।
जहाज दुर्घटनामा राष्ट्रिय शोक घोषणा गरिनु एउटा पक्ष हो, तर आफ्नो लक्ष्यमा अविचलित महान् कर्मवीर पत्रकारको निधनमा राजकीय सम्मानसहित समवेदना व्यक्त गर्ने कुरा अर्को महत्वपूर्ण पक्ष हो । जसले देशको लागि सामिजिक सेवाको कुनै पनि क्षेत्रमा विशेष योगदान पुऱ्याएको हुन्छ, त्यो ब्यक्ति राष्ट्रको निधि मानिन्छ । पत्रकार पौडेल पनि पत्रकारिता क्षेत्रका अविचलित कर्मयोद्धा हुन् । कर्मपथमै उनले आफ्नो पार्थिव शरीर त्याग्नुपऱ्यो । उनलाई राज्यले राजकीय सम्मान दिँदा पत्रकारको मात्र नभएर देशकै शीर उचै हुन्थ्यो र राजकीय सम्मानको पुरानो परम्पराले नयाँ आयाममा प्रवेश गर्थ्यो । माघ १ गते जहाज दुर्घटनामा परि दिवंगत हुनुभएका श्रद्धेय पत्रकार त्रिभुवन पौडेललगायत सम्पूर्णमा हार्दिक श्रद्धान्जली !
(लेखक नेपाल पत्रकार महासंघ बेल्जियमका उपाध्यक्ष हुन् ।)
प्रतिक्रिया