प्रचण्डलाई पत्र, काङ्ग्रेस नेतृत्वलाई बोधार्थ

प्रचण्डलाई पत्र, काङ्ग्रेस नेतृत्वलाई बोधार्थ


शान्ति सम्झौताका सारथी
प्रधानमन्त्री,
तथा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का
अध्यक्ष पुष्पकमल दाहालज्यू

पत्र लेख्न बस्दा वृहत शान्ति सम्झौतावरिपरिका कष्टकर, संशययुक्त, अन्यौल, अनिश्चित दिनहरू सम्झिरहेको छु । यी दिनलाई एक पत्रकारको नाताले मैले आवरणबाट अनुभूत गरेको थिएँ । गरेको छु । तपाईंंले अन्तर्यबाट अनुभव गर्नुभएको छ । तपाईंं अनुभव हो, म अनुभूति । तपाईं ठोस हो म तरल । तपाईं यथार्थ हो म कल्पना ।

सशस्त्र द्वन्द्वको औचित्य, आवश्यकता, तरिका वा स्वरूपका बारेमा मेरा विचार तपाईंअनुकूल नहुन सक्छन् । यसमा मेरा विचार र दृष्टिकोण तपाईंकै जत्तिकै सत्य र ठोस छन्, हाँलाकि तपाईंका भन्दा विपरीत छन् तर शान्ति स्थापना गर्न तपाईंले गर्नुभएको साहस वा परिस्थितिसँगको अनुकुलनतालाई म चाल्र्स डार्विनको ‘सर्भाइवल अफ द फिटेस्ट’को लवजले व्याख्या गर्न चाहन्छु ।

शान्ति सम्झौताले नै अहिलेको राजनीतिक परिस्थिति बनेकोमा दुईमत नहोला । शान्ति सम्झौताका नायक गिरिजाप्रसाद कोइरालालाई गति दिन तपाईं बाहेक अर्को सारथी थिएन । ठूलै चुनौती र हाँकबीच तपाईंले शान्तिलाई नेपाली राजनीतिमा अवतरण गराउन आफ्नो पक्षबाट गर्नुभएको योगदानको प्रसंशा गर्न हिच्किच्याउन पर्ने छैन । यद्यपि शान्ति सम्झौता गर्नुपर्ने गरी सशस्त्र द्वन्द्व गर्नुपर्ने अवस्था थियो, थिएन भन्ने वहसका लागि म अहिले समय बर्वाद गर्दिन ।

तपाईंका केही गुण र दोषलाई एउटा पत्रकारको नाताले मैले पनि महसूस गरेको छुु । यद्यपि मेरा महसूस शतप्रतिशत सत्य नहुन सक्छन् तर तपाईंका केही स्वभाव मलाई अति राजनीतिक लाग्छन् । कतिपय नेतामा कर्मचारीय स्वभाव देख्दछु । तपाईं स्पष्ट बोल्नुहुन्छ । यो मलाई मनपर्ने तपाईंको एक बानी हो । एउटा नेताले रकमी होइन स्पष्ट बोल्ने आँट गर्नुपर्छ । त्यो तपाईंमा देख्छु । स्पष्ट बोल्दा तपाईंलाई कतिपय ठाउँमा परेका समस्या, तपाईंले गुमाउन परेका अवसर तथा कमाउनु परेका वैमनश्यताको पनि म आँकलन गर्न सक्छु ।

तपाईंमा निर्णय लिनुपर्दा उतारचढाव देखिन्छ तर निर्णय गरिसकेपछि त्यसमा अडिनुपर्छ भन्ने प्रयोजित कठोरता छैन । ‘गल्ती भएछ’ भनेर खुला तरिकाले भन्नसक्ने क्षमता तपाईंमा छ । एउटा गल्ती टाल्न १० गल्ती गर्ने वा १० टालाले एक गल्ती टाल्ने सुतुरमुर्गे चरित्र तपाईंमा छैन । एउटा राजनेतामा हुनुपर्ने गुण यही हो ।

तपाईं समकालीन अन्य केही नेताजस्तो कुटिल हुनुहुन्न । जिब्रो चपाएर बोल्ने बानी तपाईंको छैन । तपाईं कठोर बोल्नुहुन्छ, अपाच्य बोल्नुहुन्न । जनताको स्मरणशक्तिको सम्मान गर्नुहुन्छ । अस्ति के बोलेको थिएँ । आज के बोल्दैछु भनेर हेक्का गर्ने गर्नुहुन्छ । तपाईंले लगातार शान्ति सम्झौताका लागि नेपाली काङ्ग्रेस र गिरिजाप्रसाद कोइरालाको नायकीय भूमिका लागि जस्ताको त्यस्तै बताउँदै आउनुभएको छ । कोही नेता यस्ता पनि छन् जो पुष्पकमल र गिरिजाभन्दा मैले शान्ति सम्झौतामा बढी योगदान दिएको छु भन्दछन् । यस्तो सुनेर ढुङ्गा पनि लाजले हाँस्लान् सायद ।

यति हुँदाहुँदै पनि तपाईंका कतिपय निर्णय कालान्तारमा तपाईंकै लागि उपयुक्त भएनन् । यस्तो लाग्छ, तपाईंमा निर्णय क्षमता अपरिपक्क छ । अथवा, नेपालको सन्दर्भमा ठूला निर्णय गर्दा आउन सक्ने दबाब थाम्न सक्ने क्षमता वा कौशलको कमी छ तपाईंमा ।

आज, पत्र लेख्दैगर्दा शान्ति सम्झौताका एक सारथी तपाईंलाई विगत सम्झाउने प्रयास गर्दिनँ तर विगतलाई हेरेर निर्णय गर्नुभयो भने त्यस्ता निर्णय तपाईं र देशका लागि दूरगामी सुखद् हुनेछन् । तपाईंले राष्ट्रपतिमा गिरिजाप्रसादलाई समर्थन गर्न नसकेको घटनालाई पटक-पटक आफ्नो भूल वा कमजोरी थियो भनेर स्वीकार गर्नुभएको छ । सत्य बोल्ने साहस गर्नुभएको छ । म तपाईंको यही साहस, क्षमता र स्पष्टताको पक्षपाती हुँ । यस सन्दर्भमा म तपाईंंको समर्थक मात्र होइन प्रशंसक पनि हुँ ।

शान्ति सम्झौताका सारथी हुनुभएकाले यसलाई निष्कर्षमा पुऱ्याउने जिम्मेवारी तपाईंमा छ । यो इतिहास र वर्तमानले तपाईंलाई दिएको गहन दायित्व हो । यस सन्दर्भमा कसैले पनि मेरो र पुष्पकमलको दायित्व बराबर छ भन्न सुहाउँदैन । गिरिजाप्रसाद कोइरालाले यो जिम्मेवारी तपाईंलाई छाडेर जानुभएको छ । यस सन्दर्भमा, शान्तिप्रक्रियालाई पूर्णता दिने दायित्वमा तपाईं नेकपा माओवादी केन्द्रको अध्यक्षमात्र होइन सम्पूर्ण नेपालको भरोसा हुनुहुन्छ । तपाईंले यस्तो जिम्मेवारी पूरा गर्नुपर्छ । अशान्ति थियो र त शान्ति प्रक्रिया आवश्यक भयो । यदि यसो हो भने अशान्ति तपाईंकै नेतृत्वमा भएको थियो र तपाईंकै नेतृत्वमा शान्ति स्थापना हुनुपर्थ्यो । त्यो भयो । अब शान्ति प्रक्रियालाई पूर्णता दिन इतिहासले दिएको जिम्मेवारी तपाईंले नै पूरा गर्नुपर्छ । यो तपाईंको चुनौती र अवसर हो ।

आज देशमा शान्ति प्रक्रिया, सङ्घीयता र प्राप्त समग्र उपलब्धिलाई खिसीट्युरी गर्ने संयोजित, प्रायोजित भीड बढ्दै छ । विभिन्न नाममा शान्तिप्रक्रियालाई औचित्यहीन देखाउन खोजिँदै छ । यस्तो अवस्थामा सिंहदरबारले मात्र होइन देशले नै तपाईंको नेतृत्वको अपेक्षा गरेको छ ।

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, जनता समाजवादीलगायतको गठबन्धन विभिन्न असहमतिबीच एउटा सहमति थियो । खासगरी संविधान रक्षा र संसद्को गरिमा बचाउने कार्यका लागि । गठबन्धनले अपेक्षाकृत नभए पनि आवश्यक सफलता पाएकै थियो । नेपाली काङ्ग्रेसको एक पार्ट (पार्टीले होइन) का कारण तपाईंले जुन निर्णय लिन बाध्य हुनुभयो यसलाई स्वभाविक भन्नुपर्छ । साहसका साथ काङ्गे्रसबाहेक अन्य शक्तिलाई विश्वासमा लिएर सरकार गठन गर्नुभयो, यो जायज कदम थियो । करिब ८०–९० प्रतिशत काङ्गे्रसीजन तपाईंलाई नै पहिलो खेपको प्रधानमन्त्री बनाउन चाहन्थे । राष्ट्रपतिमा काङ्ग्रेसले दाबी गर्नुपर्छ भन्दै थिए तर काङ्ग्रेस नेतृत्वले यहाँ परिस्थितिको राम्रो आँकलन गरेन । साथै, राजनीतिक इमानदारी पनि देखाएन । मानौँ उनीहरू दाहाल र नेपालहरूले आत्मसमर्पण गर्नुपर्छ र सबै काङ्ग्रेसलाई दिनुपर्छ भन्ने काँचो मानसिकतामा थिए । त्यस्तो अवस्थामा आफ्ना प्रतिकुलतालाई अनुकुलतामा बदल्नु तपाईंको राजनीतिक कौशललाई आलोचना गर्नु आवश्यक छैन । प्रतिकूलतालाई अनुकूलतामा बदल्ने कला पनि हो राजनीति । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत धेरैले तपाईंको कदमलाई बाध्यकारी अप्रिय घटना भनेकै हुन् । काङ्ग्रेसबाट दाहाललाई धोका भएको हो भनेकै हुन् । यसको मतलव परिस्थितिअनुसार तपाईंले लिनुभएको निर्णयमा काङ्ग्रेसको ठुलो पङ्क्तिले सद्भाव राख्दथ्यो र यसैको परिणाम तपाईंको सरकारलाई विश्वासको मत दिएको हो काङ्ग्रेसले । आजका मितिसम्म तपाईंको निर्णयमा काङ्ग्रेसले खोट देखाउने हैसियत राख्दैन ।

राष्ट्रपति निर्वाचनको समय सामुन्ने देश छ । यसमा मूलतः तपाईं निर्णायक हुनुुहन्छ । शान्ति सम्झौताको एउटा पक्ष काङ्ग्रेसलाई पूरै भित्तामा पुऱ्याएर इतिहासले तपाईंलाई सुम्पिएकोे शान्ति सम्झौतालाई पूर्णता दिने कार्यमा तपाईं सफल हुनुहुने छैन । सरकार र संसद्को बाँडफाँड भएको छ । यसलाई शक्ति बाँडफाँड भने पनि हुन्छ । सहकार्य र सहमति भने पनि हुन्छ । राष्ट्रपतिमा शक्ति सन्तुलनका लागि काङ्ग्रेसलाई उपेक्षा गर्नु तपाईं र देशका लागि पनि हानीकारक हुनसक्छ । गिरिजाप्रसादको घटनाले पनि यो पुष्टि गरेको छ ।

शान्ति सम्झौतालाई निष्कर्षमा पुऱ्याउन नेपाली काङ्ग्रेसमा गिरिजाप्रसाद कोइरालापछि सबैभन्दा बढी योगदान दिनुभएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको चर्चामा हुनुहुन्छ । यो स्वभाविक पनि हो । उहाँको योगदान, समर्पण र सादगी जीवनले राष्ट्रपति पदको गरिमा बचाउने छ । रामचन्द्र पौडेलको योगदान र विश्वासको राजनीति गर्ने स्वभावलाई मैलेभन्दा तपाईं बढी जान्नुहुन्छ । उहाँ र तपाईंका केही स्वाभाव मिल्छन् उहाँ पनि स्पष्ट बोल्नुहुन्छ । यही कारण कतिपय ठाउँमा उहाँ पनि विवादमा पर्नुभएको छ तर बोलेको कुरामा अडिग रहने र लागेका कामलाई फत्ये गर्ने उहाँको स्वभावलाई तपाईंले बढी चिन्नुहुन्छ ।

मुलुकमा बिग्रँदा बिग्रँदै पनि सहमतिको वातावरण बन्न लागेको छ । सरकार, संसद् र राष्ट्रप्रमुखको नेतृत्वमा भिन्न दलहरूको प्रतिनिधित्वले समकालीन राजनीतिलाई हानी गर्नेछैन । काङ्ग्रेसलाई सँगै लिएर हिँड्नुपर्ने दायित्व पनि तपाईंमा आएको छ । काङ्ग्रेस नेतृत्वले गल्ती गरेकै हो तर काङ्ग्रेसले होइन । तपाईंले काङ्ग्रेस नेतृत्व र काङ्ग्रेस भिन्न पदार्थ हुने भन्ने राजनीतिक विज्ञान बुझिदिनुहोस् । गिरिजाबाबु प्रकरणको जस्तो पश्चाताप गर्नु नपरोस् । जसले जे भने पनि शान्ति प्रक्रियालाई पूर्णता दिने ऐतिहासिक जिम्मेवारी पाउनुभएका तपाईंसँग देशले संवाद, सहमति र सहकार्यको कौशल अपेक्षा गरेको छ ।

  • त्रिभुवनचन्द्र वाग्ले