विमानस्थल सञ्चालनका लागि भारतीय पक्षसँग कूटनीतिक पहल सुरु भएको पर्यटनमन्त्रीको प्रष्टोक्ति

विमानस्थल सञ्चालनका लागि भारतीय पक्षसँग कूटनीतिक पहल सुरु भएको पर्यटनमन्त्रीको प्रष्टोक्ति


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि प्रयास जारी रहेको बताएका छन् ।

शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा उनले विमानस्थल सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको जिकिर गरे । हिजोका दिन के भयो आफूलाई धेरै जानकारी नभएको तर आफूले जिम्मेवारी सम्हालेपछि भारतीय पक्षसँग विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल सुरु भएको र समस्या छिट्टै समाधान हुने उनको भनाइ छ ।

मुलुकको पर्यटन विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको उनले बताए । पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकाले यो क्षेत्रको विकासका लागि सबैको सहकार्य जरुरी रहेको मन्त्री किरातीको धारणा छ । लुम्बिनी प्रदेशमा पर्यटक आकर्षित गर्न लुम्बिनीसहित बर्दियाको राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी, कपिलवस्तु, रामग्राम, रोल्पा, रुकुम जोडेर पर्यटन प्याकेज बनाउन उनले सुझाव दिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले समन्वयकारी भूमिका निर्वाह गरिदिए लगानीकर्तालाई काम गर्न सहज हुने बताए । उनले उद्योगी व्यवसायीले जोखिम मोलेर पर्यटन क्षेत्रमा गरेको लगानीको संरक्षणका लागि सरकारले पर्यटनमैत्री नीति बनाउनुपर्नेमा जोड दिए ।

लुम्बिनी महत्वपूर्णस्थल भएको बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नियमितता र बेलहिया स्थलमार्गबाट भित्रिने पर्यटकको सहजताका लागि सरकारी सहयोग जरुरी रहेको उनको भनाइ छ । कार्यक्रममा नेपाल एशोसियशन अफ ट्राभल्स एण्ड टुर एजेण्ट ( नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिइन् ।