पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको निधन


पाकिस्तानका पूर्वसैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । उनी ७९ वर्षका थिए ।

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको आइतबार संयुक्त अर्ब इमिरेट्स (युएई)को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो ।

सेनाका वरिष्ठ प्रमुखहरूले जनरल मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको सेनाको सञ्चारशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “अल्लाहले दिवंगत आत्मालाई आशीर्वाद दिऊन् र शोक सन्तप्त परिवारलाई शक्ति प्रदान गरून्”, विज्ञप्तिमा भनिएको छ ।

उनको परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पूर्वसैनिक जनरल तथा पाकिस्तानी पूर्वराष्ट्रपतिको ’एमाइलोइडोसिस’का कारण निधन भएको उल्लेख गरेका छन् । मुशर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पाकिस्तानी सञ्चारमाध्यमबाट प्रशारित समाचारमा जनाइएको छ ।

मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो नीजी वकिलमार्फत् पाकिस्तानी सरकारलाई निवेदन दिएका थिए । ’द एक्सप्रेस ट्रिब्यून’ पत्रिकाका अनुसार पूर्व राष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहन्थे ।

मुशर्रफ सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि पाकिस्तानका दशौं राष्ट्रपति भएका थिए ।

मुशर्रफले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चिफ अफ स्टाफ कमिटी (सीजेसीएससी)को १०औँ अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौँ शीर्ष जनरलको रूपमा काम गरेका थिए ।