आजको पञ्चाङ्ग एवम् राशिफल (२४ माघ २०७९ मंगलबार, ७ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ माघ २०७९ मंगलबार, ७ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ २४ गते मंगलबार तद्अनुसार सन् २०२३ फरवरी ७ तारिख फाल्गुन कृष्ण पक्षको द्वितीया तिथि मघा नक्षत्र शोभन योग तैतिल करण आनन्दादिमा काल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा र सूर्यास्त साँझ १७ः४८ बजे हुनेछ ।

आजको राशिफल

मेष – प्रेमभाव, शुभता र मान बढ्ने दिन भए पनि आज अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । कुनै विशेष अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । सुख वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन व्यस्तताका साथै धन मान वृद्धि हुनेछ । आरोग्यतामा भने विशेष ख्याल राख्नुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित होला । सुख बढ्नेछ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – पराक्रम तथा कार्यक्षमता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ भने इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । धन आर्जन गर्ने मौका मिल्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन त्यत्ति शुभदायी नहोला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । विवाद र झैझगडा पर्न सक्ने योग रहेकोले सावधान रहनु होला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । स्वास्थ्य कमजोर रहला । यात्रामा सफलता प्राप्त होला ।

सिंह – आरोग्यता वृद्धि र व्यवसायमा लाभ हुने योग भए पनि आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्न सक्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् । सानातिना काममा समय बित्ने दिन रहेको छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसराग वृद्धि हुनेछ ।

कन्या – दिन राम्रो छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।

तुला – आयबल वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना भने गोप्य राख्नुहोला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने समय छ ।

वृश्चिक – कर्मबल बढ्ने योग भए पनि सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्यप्रति विशेष ध्यान पुर्याउनुहोला । आँटेको काम समयमा पूरा नहुन सक्छ । कल्याणकारी कार्यमा भने आकर्षण बढ्नेछ ।

धनु – शुभता बढ्ने र उन्नति पदोन्नति होला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साझेदारीको काम पनि बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – दिन राम्रै छ । आरोग्यता बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा चाहिँ विवादमा परिनेछ, सावधान रहनुहोला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आज प्रयासरत काम बन्ने देखिए पनि नगरेको गल्तीको लागि अपजश ब्यहोर्नुपर्ला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । तथापि, देखापरेको समस्याको समाधान मिल्नेछ । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – आरोग्य वृद्धि हुने देखिए पनि आजको दिन त्यत्ति उत्साहजनक नरहला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । सुखको वस्तु बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।