टर्कीमा तापक्रम माइनस १० डिग्री सेल्सियस, भूकम्पपीडितको उद्धारमा कठिनाई

टर्कीमा तापक्रम माइनस १० डिग्री सेल्सियस, भूकम्पपीडितको उद्धारमा कठिनाई


मृत्यु हुनेको सङ्ख्या करिव पच्चीस सय

टर्की र सिरियामा सोमबार करिब एक शताब्दीयताकै शक्तिशाली भूकम्प गएपछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या दुई देश गरी करिव पच्चीस सय पुगेको छ । टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा परेर भएको मानवीय एवम् भौतिक क्षतिको थप विवरण सार्वजनिक हुने क्रममा रहेको जनाएका छन् ।

दश घण्टा भित्र तीनवटा शक्तिशाली भूकम्प गएपछि दुई हजार ८३४ भवनमा क्षति पुगेको त्यहाँको विपद् व्यवस्थापन तथा इएमआरले जनाएको छ । त्यस्तै विपद् व्यवस्थापन प्राधिकरणले खोजी तथा उद्धार कार्य जारी रहेको पनि उल्लेख गरेको छ ।

स्थानीय समय अनुसार बिहान ४ः१७ मा तुर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियन्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प र दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । टर्किस रेड क्रिसेन्ट र एएफएडीबाट उद्धार टोलीहरू भूकम्पग्रस्त क्षेत्रमा पठाइएको थियो । प्राधिकरणले नौ हजार ८९६ खोज एवं उद्धार कर्मचारी र २१६ सवारी साधन विपद् प्रभावित क्षेत्रहरूमा पठाइएको बताएको छ । टर्की सेनाले पनि इस्तानबुल, अङ्कारा र इज्मिर प्रान्तबाट १८ वटा विमानहरू सहित कर्मचारीहरू पठाएको सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैबीच टर्कीको रक्षा मन्त्रालयले खोज र उद्धार कार्यलाई सक्षम र व्यवस्थित बनाउन विभिन्न स्थानमा हवाई करिडोर स्थापना गरेको छ । भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले हिमपहिरोका कारण खोज तथा उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ । मौसम सेवाले बिहीबारसम्म दक्षिणपूर्वी टर्कीमा वर्षा र हिमपातको पूर्वानुमान समेत गरेको छ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पपछि करिब ४५ देशबाट तुर्किएलाई सहयोगको प्रस्ताव आएको बताएका छन्।