आर्टिफिसियल इन्टेलिजेन्सका कारण हिजोआज मानिसलाई धेरै कुरा सहज भएको छ । तर च्याट जीपीटीबाट भने बौद्धिक क्षेत्रका मानिसले खतरा महसूस गर्न थालेका छन् । मान्छेको मूल्याङ्कन के आधारमा गर्ने ? भन्ने बारेमा नै यसले प्रश्न खडा गरिदिएको छ ।
बबिता बस्नेत
सम्पादकले लेख्दै आएको सम्पादकीय आर्टिफिसियल इन्टेलिजेन्सले लेख्न थाल्यो भने सम्पादकको काम के होला ? कविले लेख्ने कविता, कथाकारले लेख्ने जस्तै कथा, लेखकले लेख्दै आएका लेखहरू मेसिनले लेख्न थालेपछि कुनचाहिँ मानिसको सिर्जना हो कुन होइन कसरी थाहा पाउने ? कथा, कविता, सिनेमाका संवाद, विज्ञापनका स्क्रिप्ट, विज्ञले तयार गर्ने प्रस्तुति, विद्यार्थीले गर्ने होमवर्क जस्ता मानव मष्तिष्कले गर्ने काम च्याट जीपीटी नामको आर्टिफिसियल इन्टेलिजेन्सले गर्न थालेपछि विश्वमा हलचल मच्चिएको छ ।
असाधारण प्रतिभाले गर्दै आएका सिर्जनात्मक कामहरू च्याट जीपीटीले एकैछिनमा लेखिदिन थाल्यो । नामै नसुनेका मानिसहरू धमाधम कथा, कविताका सङ्ग्रहहरू निकाल्न थाले । अमेरिकामा विद्यार्थीहरूले आफै होमवर्क गर्नका लागि स्कुलहरूमा च्याट जीपीटी बन्देज गरियो । युकेको शिक्षा विभागले च्याट जीपीटीले शिक्षा क्षेत्रमा ल्याउन सक्ने चुनौतीलाई सामना गर्न काम सुरु गऱ्यो । विभिन्न विश्वविद्यालयहरूमा विद्यार्थीको छनौट उनीहरूले लेख्ने गरेको निबन्धमा आधारित हुन्छ, ती निबन्धहरू उनीहरू आफैले लेखेका हुन् कि होइनन् कसरी थाहा पाउने ? प्राध्यापकहरू अन्योलमा छन् । अहिले विश्वमै त्यस्तो बौद्धिक क्षेत्र छैन जहाँ च्याट जीपीटीको बारेमा कुराकानी नहोस् ।
विश्वव्यापी चर्चामा रहेको ‘च्याट जीपीटी’लाई मैले ‘तिमी नेपाली भाषा बुझ्छौ ?’ भनेर सोधेँ । जवाफमा उसले ‘म विश्वका धेरै भाषा बुझ्छु र लेख्न सक्छु, कतिपय शब्दहरू भने अलि तलमाथि हुनसक्छ’ भन्ने जवाफ दियो । ‘त्यसोभए बबिता बस्नेतका बारेमा केही लेखिदेउ न त’ भनेँ । उसले ‘नेपालमा बबिता बस्नेत धेरैको नाम हुन्छन्, तिमीले उ के काम गर्छ भन्ने कुरा पनि लेखिदियौ भने मलाई सजिलो हुन्छ’ भन्यो । ‘पत्रकार’ टाइप गरेपछि केही बेरमा गज्जबको प्रोफाइल अगाडि राखिदियो । आफ्नो प्रोफाइल पढेर दङ्ग परेँ । त्यसपछि केही इमेलहरू ड्राफ्ट गर्न लाएँ । शीर्षक दिएर कविता लेख्न लाएँ, गीत र निबन्ध लेख्न लगाएँ । अङ्ग्रेजीमा छिटो र राम्रो लेख्यो, नेपालीमा अलि ढिलो र भाषा त्यति नमिलेको तर राम्रै लेख्यो । ओहो… के हो यो… जे लेख भन्यो त्यही लेख्छ त… भनेर विश्वमा धेरै मानिसहरू जस्तै म पनि छक्कै परेँ । यो करिव एक महिनाअगाडिको कुरा हो ।
गत २०२२ को नोभेम्बर ३० तारिखदेखि प्रयोगमा ल्याइएको च्याट जीपीटी यस्तो आर्टिफिसियल इटेलिजेन्स (कृतिम बौद्धिकता) हो जसले विभिन्न विषयमा सूचना तथा जानकारी मात्र दिँदैन आफूलाई चाहिएको विषय टक्क लेखि पनि दिन्छ । सुरु भएको पाँच दिनमा दश लाखले डाउनलोड गरेको च्याट जीपीटीले अहिले विश्व हल्लाइदिएको छ । विभिन्न विषयमा लेख, रचना, सम्पादकीय लेख्नेदेखि बच्चाहरूको होमवर्कसम्म गरिदिने भएपछि स्कुल तथा कलेजमा विद्यार्थीहरूलाई यसको प्रयोगमा बन्देज लगाउन थालिएको छ । साहित्य, ब्यापारिक तथा बजार योजना, ब्याकरण मिलाउने, गल्ती सच्याउने सबै यसैले गरिदिएपछि मानिसले के काम गर्ने ? दिमाग केमा प्रयोग गर्ने ? यस्ता बहसहरू हुन थालेका छन् । गुगलमा हामीले कुनै जानकारीका लागि सम्बन्धित विषय टाइप गरेपछि तथ्याङ्क, पृष्ठभूमि लगायतका कुराहरू भेट्न सक्छौँ । च्याट जीपीटीले के खोजेको हो त्यो विषयमा लेखि नै दिन्छ । र, एउटाले खोज्दा लेखेको कुरा अर्कोले खोज्दा दोहोरिँदैन भन्ने छ । एउटै ब्यक्तिले एउटै विषयमा फरक-फरक समयमा लेख्न लाउँदा फरक सामाग्री लेखिदिन्छ । ओपन एआई नामको रिसर्च कम्पनीले च्याट जीपीटीको सुरुवात गरेको हो । च्याट जीपीटी आर्टिफिसियल इन्टेलिजेन्सको अहिलेसम्मको उपल्लो रूप हो । जसले बौद्धिक मानिसले गर्ने कामहरू गरिरहेको छ ।
विभिन्न विषयमा लेख, रचना, सम्पादकीय लेख्नेदेखि बच्चाहरूको होमवर्कसम्म गरिदिने भएपछि स्कुल तथा कलेजमा विद्यार्थीहरूलाई यसको प्रयोगमा बन्देज लगाउन थालिएको छ । साहित्य, ब्यापारिक तथा बजार योजना, ब्याकरण मिलाउने, गल्ती सच्याउने सबै यसैले गरिदिएपछि मानिसले के काम गर्ने ? दिमाग केमा प्रयोग गर्ने ? यस्ता बहसहरू हुन थालेका छन् ।
आर्टिफिसियल इन्टेलिजेन्स के हो ?
आर्टिफिसियल इन्टेलिजेन्सको आविष्कार मेसिनले मानिसले जस्तै काम गरोस् भन्ने उद्देश्यले गरिएको हो । मान्छेको बुद्धिले गर्ने काम मेसिनले गरोस् भनेर यसको परिकल्पना अमेरिकन कम्प्युटर वैज्ञानिक जोन मेक्क्यार्थीले गरेका थिए । यो मुलतः मानिसको बुद्धिलाई मेसिनमा हाल्ने प्रविधि हो । कोभिडका बेला हामीले देख्यौँ चीनका अस्पतालहरूमा औषधि तथा खानेकुराहरू ओल्लो कोठाबाट पल्लो कोठामा लाने काम रोबोटहरूले गरिरहेका थिए । चीनमा मात्र होइन धेरै मुलुकका अस्पतालहरूमा रोबोटहरू कामदारका रूपमा काम गरिरहेका छन् । सोफिया नाम गरेकी रोबोट विश्वचर्चित छन् । उनलाई हेर्न र उनीसँग बोल्नका लागि मानिसहरूको भीड लाग्ने गर्छ । हिजोआज मानिस एक्लै बस्नु पर्दैन, तपाईंलाई कम्प्युटरमा आर्टिफिसियल इन्टेलिजेन्ससँग तास खेल्न मन छ भने तास खेलिदिन्छ, चेस खेल्न मन भए चेस खेलिदिन्छ । मानिसले मानिसलाई साथी बनाउन विश्वासमा सङ्कट उत्पन्न भइरहेको बेला आर्टिफिसियल इन्टेलिजेन्स मानिसको साथी बनिरहेको छ । कृत्रिम बौद्धिकता भएको मेसिनले हामीलाई नजिकको रेष्टुरेन्ट खोजिदिन्छ, आफूले चाहेको गीत सुनाइदिन्छ, आज केही खोजेको छ भने भोलि पनि त्यस्तै कुराहरू अगाडि राखिदिन्छ ।
‘आर्टिफिसियल इन्टेलिजेन्स’ कम्युटर साइन्सको उन्नत रूप हो जसले मेसिनमा सुन्ने, बोल्ने र सोच्ने शक्तिको विकास गरेको छ । हिजोआज कम्प्युटरमा कुनै कुरा खोज्दा, इमेलमा पासवर्ड परिवर्तन गर्दा तिमी रोबोट हौ कि मान्छे हौ ? भनेर सोधिन्छ । साँच्चिकै मान्छेले म मान्छे हुँ भनेर मात्र पुग्दैन । मेसिनले लेखेका बाङ्गाटिङ्गा अक्षर चिनेर आफू मान्छे हुनुको प्रमाण पेश गर्नुपर्छ । यो सबै आर्टिफिसियल इन्टेलिजेन्सका कारणले भएको हो । अहिले झैँ प्रविधिको विकास नहुँदै यसको परिकल्पना गरिएको थियो । सन् १९७९ मा जोन मेक्क्यार्थीले मानिसका गुणहरू हुने मेसिनबारे लेख लेखेका रहेछन् । लेखमा मेसिनलाई विश्वास गर्न सकिन्छ भनिएको प्रति आपत्ति जनाएर मेसिनलाई कसरी विश्वास गर्ने ? यस्ता कुरा पनि लेख्ने ? भनेर आलोचकहरूले लेखमार्फत विरोध गरेका थिए भनी दस्ताबेजहरूमा भेट्न सकिन्छ । समयक्रममा अहिले स्वास्थ्य क्षेत्रमा ब्यापक रूपमा कृतिम बौद्धिकता राखिएका मेसिनले काम गर्न थालेका छन् । ड्राइभरबिना नै गाडी चल्ने प्रविधिको विकास भइरहेको छ ।
‘आर्टिफिसियल इन्टेलिजेन्स’ यस्तो प्रविधि हो जसले मान्छे जस्तै गर्न सक्छ । मानिसले जस्तो उस्तै कुरा सोच्न सक्दैन किनभने हरेक मानिसका सोचहरू फरक हुन्छन्, प्रवृत्तिहरू फरक हुन्छन् । भावनाहरूलाई जस्ताको तस्तै ब्यक्त गर्न सक्दैन, तर मानिसको आम प्रवृत्तिलाई भने यसले टिप्न सक्छ । कृत्रिम बौद्धिकतालाई सोच्ने बनावटी शक्ति पनि भन्न मिल्छ । आर्टिफिसियल इन्टेलिजेन्सका कारण हिजोआज मानिसलाई धेरै कुरा सहज भएको छ । तर च्याट जीपीटीबाट भने बौद्धिक क्षेत्रका मानिसले खतरा महसूस गर्न थालेका छन् । मान्छेको मूल्याङ्कन के आधारमा गर्ने ? भन्ने बारेमा नै यसले प्रश्न खडा गरिदिएको छ ।
यसले दिएका सबै जानकारीहरू सही हुन्छन् भन्ने चाहिँ छैन । कतिले यसलाई ‘गलत सूचना प्रवाहका लागि सही माध्यम झैँ बनेको’ भनी टिप्पणी पनि गरेका छन् । कतिले यसले मानिसमा अविश्वासको वातावरण सिर्जना गर्ने निश्चित झैँ भएको ठानेका छन् भने कतिले चाहिँ अब मानिसहरू बेरोजगार हुन्छन् भनेका छन् । यसको प्रयोगका लागि अहिले पैसा तिर्नु नपरेपनि भविष्यमा पैसा तिर्नुपर्ने हुनसक्ने आँकलन गरिएको छ । सन् २०२१ सम्मको तथ्याङ्कको आधारमा सामाग्रीहरू दिने गरिएको भनिएको च्याट जीपीटीको प्रयोग सुरुवाती दिनमै जसरी भइरहेको छ यसले मानव सिर्जनालाई कहाँ र कुन परिस्थितिमा पुऱ्याउने हो यसै भन्न सक्ने अवस्था छैन ।
प्रतिक्रिया