दुईआँखे दैत्य !

दुईआँखे दैत्य !


✍ बलराम सिलवाल

भनेर भनिसाध्य छैन, कहेर कहिसाध्य छैन यो दुईआँखे दैत्यको चर्तिकला । ज्ञान त महत्तम हो, विज्ञानको भूमिका सन्देहास्पद छ । विज्ञानले दुईआँखे दैत्य बनायो । यसको चर्तिकला देखेर शुरुमा मनुवा फुर्क्यो, अहिले पछुताउँदो छ । यसको मुहुनीमा लट्ठिएको मान्छे विवेकशून्य/विद्याहीन हुँदो छ । म्युजिकल्ली, ट्वीटर, इन्स्टाग्राम टिकटिकादिले सगुण मिल्काउँदो दुर्गुण भित्र्याउँदो । यसको चक्रव्युहमा फसेको मनुष्य अवसाउँछ । मस्तिष्कभित्र गुदी भर्न पुस्तक पढ्नुपर्छ; अनुभव सँगाल्नुपर्छ । यसले गोलीगाँठो भएकोले गोडा र खुर भएकोले खुट्टा भन्नुपर्छ भन्ने भिन्नता सिकाउन्न । यसले बटौलीको समरमा नि अङ्ग्रेजले भिरबाहेक केही नदेखेर नथिङ बट वाल (Nothing but wall) भनेकोले बुटवल नामाङ्कित भएको तथ्यलाई खुलस्त पार्दैन ।

घरपरिवारका सदस्यहरू रोजिन्दा यही दुईआँखे दैत्यसित मितेरी लाउँछन् । माया-ममता/स्नेह शून्य । यसले लगनशीलता, मेहनत र धीरता खियाउँछ । यो दैत्यले परिवार टुक्र्याउँदो छ । पोइ जोइल, जोइ पोइल गएसि परिवार रहन्छ र ? यसले स्वसंस्कृति त्याग्दो र परसंस्कृति स्विकार्दो छ । फिलिपिन्सले आमा, दिदीबहिनी बेचेर अकुत सम्पत्ति कमायो । आखिर स्वसंस्कृति, नैतिकता र इज्जत गुमाएर आर्जेको त्यो धनको के काम ? यसले भैरव अर्यालको किताबी किरोसित साइनो गाँस्दिए परिणामदायी हुन्थ्यो कि ?! पहिले एकआँखे राक्षसले केही हदसम्म संसार बिथोलेको थियो । अहिले त दुईआँखे दैत्यले धर्म, संस्कृति, परम्परा र सिर्जनात्मकता उपर धावा बोल्दो छ । यसको करामतले पूरै विश्व ध्वस्त हुन लाग्या छ । जडता, अमानवीयता र बुद्धिहीनताको साम्राज्य छ ।

साठीको दशकसम्म पत्रपत्रिकाको महिमा महत्तम् थियो । बडा-बडा पत्रिका/मोटा-मोटा पुस्तकहरू छापिन्थे । प्रकाशनगृहहरूले राज्यभरि शाखाहरू खोले किन्तु अहिले तिनीहरूको अवस्था चलचित्रालयहरूको भन्दा’नि गएगुज्रेको छ । पहिले १०/२० पातोहरूमा छापिने खबरपातोहरू अहिले मुश्किलले ४/५ पातोमा छापिँदा छन् । साहित्यिक पत्रिकाहरूको हालत त झन् नाजुक छ । यी त कालीदासको कपुरी क झैँ खिएर डायनोसौर हुने भएका छन् ।

दुईआँखे दैत्यको त्रुटिहरू मात्र निफनेर कहाँ हुन्छ र ? यसको सबलताहरू नि उधिन्नुपऱ्यो नि । यसको योगदान सञ्चारसेवामा अतुलनीय छ । वर्ष दिनमा नि खैखबर पाउन नसक्ने विगतको दाँजोमा अहिले युरोप/अष्ट्रेलिया/अमेरिकामा आप्रवासी भएर बसेका हाम्रा इष्टमित्रहरूलाई मिनेटभित्रमा मेसेन्जर/स्नैपचैटमार्फत मज्जासित बात मार्न सकिन्छ ।

विचार/दर्शन/सिद्धान्तको क्षयीकरण भन्नु पूर्णताको संहार हो । अमानवले नि मानव हुनुको नाटक रच्दो छ । पूर्ण मानव हुन त उसभित्र क्षमा, दया, माया, विनम्रता जस्ता मानवीय गुणहरू हुनुपऱ्यो नि । केही तथाकथित मनुवाहरू इतिहास, धर्म, विचार, नैतिकता बेचेर राष्ट्रनिर्माता/नेपाल-माताको अपमान गर्दा छन् । यस्तो भएसि पृथकता/विखण्डनता/साम्प्रदायिकता नउम्रेर अरू के उम्रेला र ? जति बखाने नि कुरोको चुरो उही हो । दुईआँखे दैत्यलाई ब्वायकट नगरेसम्म यसको धङधङी छुट्ने होइन ।

दुईआँखे दैत्यको अवसानको कामनासहित बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।